निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
ललितपुर, २२ वैशाख । नेपाल मजदुर किसान पार्टी ललितपुर चुनाव परिचालन समितिको आयोजनामा मङ्गलबार ललितपुरको मङ्गलबजारमा चुनावी सभा भयो ।
चुनावी सभामा नेमकिपाका केन्द्रीय सदस्य तथ बाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले अमेरिकी साम्राज्यवादको दबाबमा संसद्बाट एमसीसी पारित गरिएपछि देशको स्वतन्त्रता र सार्वभौमिकता जोगाउने सङ्घर्षमा जनता दुई खेमामा विभाजित भएको, एमसीसीका समर्थक प्रतिगामी दलहरू र एमसीसीविरोधी देशभक्त एवम् प्रगतिशील पक्षहरू रहेको बताउनुभयो ।
उहाँले नेमकिपाले एमसीसी सम्झौताको विपक्षमा मत दिएको थियो भने नेका, माओवादी, एकीकृत समाजवादी (माधव नेपाल), जसपाले पक्षमा मत दिएको बताउनुभयो ।
उहाँले चुनावको बेला शासक दलहरूले घोषणापत्रमार्फत व्यक्त गरेका प्रतिबद्धता पूरा नगरेको चर्चा गर्नुभयो ।
सांसद गोसाईले भन्नुभयो, “ सत्तासीन राजनैतिक दलका नेताले गल्ती गरे पनि शासक दलका कार्यकर्ताहरू पटक्कै विरोध गर्दैनन् ।”
सांसद गोसाईले निर्वाचन एक वर्गीय र राजनैतिक सङ्घर्ष हो, यसले जनतालाई राजनैतिक र वर्गीयरूपले सचेत गर्ने कार्य गर्छ भन्नुभयो ।
कार्यक्रममा नेमकिपा ललितपुर जिल्ला समितिका अध्यक्ष राजवीर डंगोलले शासक दलहरूले देश र जनताको पक्षमा कार्य गरेका छैनन् भन्नुभयो । उहाँले नेमकिपाले देश र जनताको पक्षमा निःस्वार्थरूपमा कार्य गर्दै आएको छ भन्नुभयो ।
सभामा नेमकिपाबाट ललितपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार अशोक महर्जनले नेमकिपाको उम्मेदवारी ललितपुरको कला संस्कृति बचाउन, सम्पदा बचाउन, जनपक्षीय कार्य गर्न हो भन्नुभयो ।
उहाँले शासक दलले देशमा जनहितविपरीत कार्य गरिरहेको उल्लेख गर्दै नेमकिपा जितेको ठाउँमा शिक्षा, स्वास्थ्य, आवास, सरसफाइ, वातावरण संरक्षणमा उल्लेखनीय प्रगति गरेको चर्चा गर्नुभयो ।
कार्यक्रममा नेमकिपाको तर्फबाट उपप्रमुख पदका उम्मेदवार ममिता श्रेष्ठ महर्जनले नेमकिपाका उम्मेदवार विजय भएपछि युवाहरूलाई सीपमूलक तालिम दिएर स्वदेशमा रोजगारी सृजना गर्न घरेलु तथा साना उद्योगहरूलाई जोड दिने, अन्धविश्वासविरुद्ध जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घका सुलोचना छ्वाजुले नेमकिपाले बारम्बार सदन र सडकमा मतसीमा (थ्रेसहोल्ड) खारेजीको लागि आवाज उठाउँदै आएको चर्चा गर्दै मतसीमाको व्यवस्था प्रजातन्त्रविरोधी कदम हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाले जात–जाति, भाषा–भाषी, धर्म र क्षेत्रको आधारमा राजनैतिक दललाई स्वीकृति दिन नहुने धारणा निरन्तर राख्दै आएको छ ।”
कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. १२ का वडाध्यक्ष उम्मेदवार वीरेन्द्र ताम्राकार, वडा नं. २१ का वडाध्यक्ष उम्मेदवार नरेश महर्जनलगायतले नेमकिपा देश र जनताको पक्षमा निरन्तर कार्य गर्दै आएको पार्टी भएको बताउनुभयो ।
Leave a Reply