निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
काठमाडौं, २३ वैशाख । निर्वाचन राजनीतिक दलहरूबीचको घोषणापत्रको लडाइँ र विचारको लडाइँ हो र नेमकिपाले हरेक निर्वाचनलाई वर्गीय सङ्घर्षको रूपमा लिँदै त्यसलाई जनताको चेतनास्तर उठाउने मौकाको रूपमा उपयोग गर्दै आएको छ ।
उपरोक्त भनाइ नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले नेमकिपा काठमाडौं जिल्ला समितिद्वारा शुक्रबार वसन्तपुरमा आयोजित चुनावी जनसभा तथा उम्मेदवार परिचयात्मक कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
सांसद सुवालले निर्वाचन जनताको चेतनास्तर नाप्ने ब्यारोमिटर भएको प्रस्ट पार्नुभयो ।
नेपालको राजनीतिमा नेपाल र नेपाली जनताभन्दा विदेशी एकाधिकार पुँजीका निम्ति काम गर्नेहरू बढेको चर्चा गर्दै उहाँले भन्नुभयो, “नेपाली काङ्ग्रेस भारतीय एकाधिकार पुँजीपरस्त शक्तिको रूपमा रहँदै आएको छ । अहिले आएर आफूलाई कम्युनिस्ट दाबी गर्ने र हँसिया हथौडा बोक्नेहरू पनि नेपाली काङ्ग्रेसभन्दा कम देखिएका छैनन् । वर्तमान सत्ता गठबन्धन देशको आवश्यकता नभई भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको आवश्यकताअनुसार बनेको हो ।”
उहाँले शासकहरूको गलत आर्थिक नीति र भ्रष्टाचारका कारण छिमेकी मित्रराष्ट्र श्रीलङ्कामा आर्थिकरूपमा टाट पल्टिएको बताउँदै नेपालका शासकहरूको यस्तै नीति र निर्णय रहे नेपाल पनि त्यस दिशामा जानेछ भन्नुभयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले नेमकिपा एक देशभक्त र नेपाली जनताको हितमा प्रतिबद्ध पार्टी हो भनी पटक–पटक इतिहासले पुष्टि गरेको बताउँदै नेमकिपाका देशभक्त र भ्रष्टाचारविरोधी उम्मेदवारहरूलाई विजयी गराउन काठमाडौंका मतदाताहरूलाई आग्रह गर्नुभयो ।
उहाँले देशद्रोही र प्रतिगामीहरूलाई निर्वाचनमा परास्त गरेर दण्ड दिनुपर्ने र त्यसो नभएमा देश पुनः भ्रष्टाचारको दलदलमा फस्नेछ भन्नुभयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले शासक दलहरूका जनविरोधी क्रियाकलापहरूले देशलाई तहसनहस पारिसकेको अवस्थामा अबको विकल्प नेमकिपामात्र हो भन्नुभयो ।
उहाँले देशको सार्वभौमिकतामाथि चोट पु¥याउने गरी सम्झौता गर्ने दलहरूलाई पराजित गरेर नेपाली जनताले आफ्नो देशभक्ति प्रदर्शन गर्नुपर्ने बताउनुभयो ।
बाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले नेमकिपा नेपालको राजनीतिको मात्र नभई स्थानीय तह सञ्चालनको पनि प्रकाशस्तम्भ भएको बताउनुभयो । काठमाडौं आर्थिक रूपमा सम्पन्न महानगर भएर पनि शासक दलहरूको अकर्मण्यताका कारण फोहोरको डुंगुरमा रहन बाध्य भएको छ भन्नुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला निर्वाचन परिचालन समितिका संयोजक नारायण महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य राजवीर डंगोललगायतले बोल्नुभएको थियो ।
Leave a Reply