भर्खरै :

निर्वाचन दलहरूबीचको घोषणापत्रको लडाइँ

भक्तपुर, २३ वैशाख । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले निर्वाचन व्यक्ति व्यक्तिबीचको प्रतिस्पर्धा नभई राजनीतिक दलहरूबीचको घोषणा पत्रको लडाइँ, विचारको लडाइँ र वर्गीय सङ्घर्ष भएको बताउनुभएको छ ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर नगरपालिका वडा नं. ३ निर्वाचन परिचालन समितिको आयोजनामा शुक्रबार देगमना टोलमा भएको चुनावी जनसभामा बोल्दै सांसद सुवालले निर्वाचन जनताको चेतनास्तर नाप्ने ब्यारोमिटर भएको प्रस्ट पार्नुभयो ।
नेपालको राजनीतिमा हिजो नेपाली काङ्ग्रेस भारतीय एकाधिकार पुँजीपरस्त शक्तिको रूपमा बदनाम रहेको तर अहिले आफूलाई कम्युनिस्ट दाबी गर्ने र हँसिया हथौडा बोक्नेहरू पनि त्यही लाइनमा अगाडि बढेको बताउँदै वर्तमान गठबन्धन देशको आवश्यकता नभई भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको आवश्यकताअनुसार बनेको हो भन्नुभयो ।
उहाँले देशका नदीनाला भारतलाई बेच्ने, भएका सरकारी उद्योग र कलकारखाना निजीकरणको नाममा विदेशी पुँजीको हातमा सुम्पनेहरूको गठबन्धनले नेपाली जनता ठगीमा पर्दै आएको स्पष्ट पार्नुभयो ।
उहाँले शासकहरूको गलत आर्थिक नीति र भ्रष्टाचारका कारण छिमेकी मित्रराष्ट्र श्रीलङ्कामा आर्थिक सङ्कट निम्तिएको बताउँदै नेपालका शासकहरूको गैरजिम्मेवार नीति र निर्णयका कारण नेपाल पनि त्यस दिशामा नजाला भन्न सकिंदैन भन्नुभयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाको प्रमुख पदका उम्मेदवार सुनिल प्रजापतिले रातो लुगा लगाउँदैमा कोही क्रान्तिकारी र गेरु वस्त्र लगाउँदैमा कोही भिक्षु नहुने बताउँदै कम्युनिस्ट नाम गरेका भाइ काङ्ग्रेसहरूबाट नेपाली जनता सचेत बन्नुपर्ने बताउनुभयो ।
आदर्शबिनाको राजनीति पक्षपातमात्र हुने बताउँदै उहाँले नेमकिपाको घोषणापत्रअनुसार कार्य गर्दा भक्तपुर नगरपालिकाले नगरवासी जनताबीच कुनै राजनीतिक पूर्वाग्रह वा पक्षपात नगरेको स्पष्ट पार्नुभयो ।
सङ्घीय व्यवस्था नै समाजवाद वा कुनै आदर्श व्यवस्था नभएकोले सङ्घीयताले नै देशको विकास गर्ने र जनताको हित गर्ने कुरा सही होइन भन्दै नेमकिपाजस्तो देश र जनताप्रति प्रतिबद्ध राजनीतिक दलको विजयले मात्र जनताको समस्या समाधान हुने बताउनुभयो ।
इमानदारीपूर्वक जनताको सेवा गर्ने जीवन नै गौरवपूर्ण हुने बताउँदै उहाँले शासक दलहरूले चुनावमा लगानी जस्तै पैसा खर्च गरी पाँच वर्षसम्म अनियमितता र भ्रष्टाचार गरेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखा परीक्षकका प्रतिवेदनहरूले उदाङ्गो पारेको बताउनुभयो ।
उपप्रमुख पदका उम्मेदवार रजनी जोशीले भक्तपुर नगरपालिकाले जनताको सुझाव र मागअनुसारको विकास निर्माणको कार्य अगाडि बढाएको र सम्पदा संरक्षणमा उल्लेख्य सफलता हासिल गरेको बताउनुभयो ।
उहाँले भनपामा कुनै किसिमको अनियमितता र भ्रष्टाचार नभएको बताउँदै जनप्रतिनिधिहरूको ध्यान सदैव सदाचारको नमुना बनाउने रहेको बताउनुभयो ।
भनपा वडा नं. ३ का वडाध्यक्ष पदका उम्मेदवार राजकृष्ण गोराले नगर र वडामा विगत ५ वर्षको अवधिमा भनपाले सम्पन्न गरेका उल्लेख्य कार्यहरूबारे जनतामाझ चर्चा गर्नुभयो ।
आयोजक समितिका संयोजक रामसुन्दर खाताखोको सभापतित्वमा सम्पन्न कार्यक्रममा नीरज लवजू तथा वडा सदस्य उम्मेदवारहरू सुनिता प्रजापति, कृष्णगोपाल चौगुठी, राजकुमार शिल्पकारलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा श्रमिक कला सदनका र बाराही अजिमा भजन खलःका कलाकारहरूले प्रगतिशील गीत प्रस्तुत गरेका थिए भने स्थानीय मधुसुदन अवालले प्रमुख पदका उम्मेदवार सुनिल प्रजापतिलाई नेपालभाषा प्रचलित लिपि विकास तालिका हस्तान्तरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *