भर्खरै :

चाँगुनारायणमा नेमकिपाको चुनावी सभा

भक्तपुर, २३ वैशाख । स्थानीय तहको निर्वाचन २०७९ को प्रचारप्रसारको सिलसिलामा नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगर निर्वाचन परिचालन समितिको आयोजनामा वडा नं ४ चाँगुमा चुनावी जनसभा शुक्रबार सम्पन्न भयो ।
सभामा नेमकिपाका केन्द्रीय सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले निर्वाचन राजनीतिक दलहरूबीचको घोषणा पत्रको लडाइँ, विचारको लडाइँ र वर्गीय सङ्घर्ष भएको बताउँदै गठबन्धनको नाममा जनतालाई ठग्ने काम भइरहेको बताउनुभयो ।
शासक दलहरूले देशको प्राकृतिक स्रोतसाधनमात्र नभई देशै बेच्न लागिपरेको उल्लेख गर्दै जनतालाई दास र कमारा बनाउन लागिपरेका देशद्रोही शासक पार्टीहरूलाई निर्वाचनमा परास्त गर्नुपर्ने बताउनुभयो ।
नेपालका ८० लाख युवाहरू वैदेशिक रोजगारको नाममा ४०–४५ डिग्री तापक्रममा काम गर्न बाध्य भइरहेको चर्चा गर्दै पाँच पटकसम्म प्रम भएका शेरबहादुर देउवा र कम्युनिस्ट नामधारी शासक दलहरूले देशको उद्योगधन्धा ध्वस्त पारेको बताउनुभयो ।
शासक दलहरूकै अकर्मण्यताले देशमा महँगी र भ्रष्टाचार बढेको बताउँदै सांसद सुवालले शासक दलका नेता कार्यकर्ताले विश्व सम्पदा सूचीमा सूचिकृत चाँगुनारायण मन्दिरको थुम्को भासिने गरी अवैधरूपमा बालुवा उत्खनन गरिरहेको बताउनुभयो ।
सभामा चाँगुनारायण नगरपालिकामा नेमकिपाका प्रमुख पदका उम्मेदवार केशवप्रसाद तिमिल्सिनाले देशघाती एमसीसी सम्झौताविरुद्ध नेमकिपाले सम्झौताहीन सङ्घर्ष गरेको बताउँदै चाँगुनारायणमा नेमकिपा विजयी भएपछि सदाचारयुक्त र भ्रष्टाचारमुक्त नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
चानपा वडा नं ४ मा वडाअध्यक्ष पदका उम्मेदवार उत्तमनारायण भडेलले वडाको विकास र जनताको समस्या समाधानका लागि नेमकिपाले धेरै अघिदेखि काम गर्दै आएको उल्लेख गर्दै नेमकिपाका उम्मेदवार जितेपछि जनताका अरू समस्या पनि क्रमशः समाधान हुँदै जाने बताउनुभयो ।
नेमकिपा चानपा वडा नं ४ एकाइ समितिका अध्यक्ष श्रीभक्त भडेलको सभापतित्वमा भएको कार्यक्रममा चक्रधरानन्द राजोपाध्याय र रामेश्वर रानामगरले पनि बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *