भर्खरै :

सुर्खेतमा नेमकिपाको चुनावी ¥याली तथा सभा

वीरेन्द्रनगर, २३ वैशाख । नेपाल मजदुर किसान पार्टी चुनाव प्रचार समिति सुर्खेतको आयोजनामा आज स्थानीय पिपल चौतारीमा चुनावी सभा भयो ।
उक्त सभामा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईंले नेमकिपाले क्रान्तिकारी संसद्वादको भावनाअनुसार पुँजीवादी चुनावलाई उपयोग गरिरहेको र पुँजीवादी चुनावबाट समाजवादमा पुग्न नसकिने कुरामा नेमकिपा स्पष्ट रहेको बताउनुभयो ।
उहाँले नेपाली काङ्ग्रेसको नेतृत्वमा रहेको वर्तमान गठबन्धन सरकारले अमेरिकी साम्राज्यवादसामु घुँडा टेकेको चर्चा गर्दै एमसीसी सम्झौता पास गर्नकै निम्ति वर्तमान सरकार बनेको बताउनुभयो ।
आफ्नो अमूल्य मत देशभक्तहरूको पक्षमा राख्न आह्वान गर्दै उहाँले वर्तमान गठबन्धन असैद्धान्तिक र देशघाती रहेको बताउनुभयो ।
‘सुर्खेत कर्णाली प्रदशेको राजधानी भएर पनि अन्धकारमा रहेको छ’, उहाँले भन्नुभयो ।
कर्णालीमा कम्युनिस्ट आन्दोलनको बिजारोपण नेमकिपाले गरेको स्मरण गर्दै उहाँले देशमा आमुल परिवर्तन ल्याउन नेमकिपा निरन्तर लागिरहेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले नेमकिपाले आगामी स्थानीय निर्वाचनलाई एमसीसीका मतियार र विरोधीहरू एवं देशभक्त र देशघातीहरूबीचको सङ्घर्षको रूपमा अगाडि बढाइरहेको बताउनुभयो ।
समृद्धि र विकासको नाममा शासक पार्टीहरूले नेपाललाई मगन्ते देश बनाइरहेको बताउँदै उहाँले गत पाँच वर्षमा नेपालको वैदेशिक ऋण १५० प्रतिशतले बढेको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।
नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराको सभापतित्वमा भएको सो सभामा प्रेम थापा, शेरबहादुर शाही, धनेन्द्र विक, प्रमुखका उम्मेदवार गोविन्दनाथ योगी, उपप्रमुखका उम्मेदवार विजुकला राणा, तुल्सी खड्का, भीमबहादुर सिजापति र टेकबहादुर घर्तीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *