भर्खरै :

गोदावरी नगरपालिकाको ठेचोमा चुनावी सभा

ललितपुर, २५ वैशाख । नेमकिपा ललितपुर जिल्ला चुनाव परिचालन समितिको आयोजनामा आइतबार गोदावरी नगरपालिकाका ठेचोमा चुनावी सभा भयो ।
सभामा पार्टीका केन्द्रीय सदस्य सृजना सैंजूले संरा अमेरिकाले एमसीसीमार्फत नेपाललाई स्प्रिङबोर्ड बनाएर एसियामा युद्ध थोपर्न चाहेको स्पष्ट पार्दै एमसीसी विरूद्धको सङ्घर्ष अझ बलियो गरी अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “देशको करकारखाना सबै कवाडीको मूल्यमा भारतीय व्यापारीलाई बिक्री गरी देश परनिर्भरतातर्फ धेकेल्ने नेपाली काङ्ग्रेस हो भने त्योसँगै भाइकाङ्ग्रेसको रूपमा लाग्ने एमाले र माओवादी हुन् । ती पार्टीहरू नेपाललाई श्रीलङ्कालाई जस्तै आर्थिक सङ्कटमा धकेल्न खोज्दै छन् ।”
गोदावरी नगरपालिकामा नेमकिपाका उम्मेदवारहरू विजय भएमा शिक्षा, स्वास्थ्य सबै कामदार जनताको पहुँचमा भक्तपुरमा जस्तो पु¥याउन सकिने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “राजनीतिलाई दुर्गन्धित पार्ने शासक दलहरूलाई पराजित गर्नु आवश्यक छ ।”
नेमकिपा ललितपुरका अध्यक्ष राजवीर डंगोलले स्थानीय तहको निर्वाचन एक वर्ग सङ्घर्ष र घोषणापत्रको लडाइँ भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “निर्वाचन जित्नकै लागि पुँजीवादी र कम्युनिस्ट भनाउँदा पार्टीहरूबीच गठबन्धन गर्नु ठगबन्धनमात्र हो ।”
नेमकिपा ललितपुरका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवार अशोक महर्जनले भ्रष्टाचारमुक्त नगर एवं शिक्षा–स्वास्थ्यमा नगरवासीको पहुँच पु¥याउन नेमकिपाका उम्मेदवारहरूलाई जिताउन आग्रह गर्नुभयो ।
नेमकिपाको तर्फबाट गोदावरी नगरपालिकाका उम्मेदवार विष्णुभक्त महर्जनले आफूहरू जितेमा नगरलाई सफा, स्वस्थ राख्नुको साथै खानेपानीको समस्या समाधानमा ध्यान दिने, शिक्षा र स्वास्थ्य सर्वसुलभ गर्नुका साथै पारदर्शी नगर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त सभामा नेक्रामहिला सङ्घका केन्द्रीय सदस्य सुलोचना छ्वाजू, उपप्रमुख पदका उम्मेदवार सूर्यलक्ष्मी देसार, वडाध्यक्षका उम्मेदवार किरण महर्जन, विनोद देसार, नरेश महर्जनलगायतले नेमकिपाका उम्मेदवारहरूलाई मतदान गर्न अनुरोध गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *