भर्खरै :

घोडाबास र डाँडापराजुलमा चुनावी सभा

दैलेख, २५ वैशाख । नेपाल मजदुर किसान पार्टी दैलेख चुनाव प्रचार समितिको आयोजनामा शनिबार घोडाबास र डाँडापराजुलमा चुनावी सभाहरू सम्पन्न भए ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले एमाले र काङ्ग्रेस दुवैको ‘जात’ र ‘गोत्र’ एउटै भएको बताउनुभयो ।
“एमाले, माओवादी नामले कम्युनिस्ट भए पनि साँचो अर्थमा ती पार्टीहरू भाइकाङ्ग्रेस नै भएको महाकाली सन्धि र एमसीसी सन्धि संसद्बाट अनुमोदन गरेबाट प्रस्ट भएको छ”, उहाँले भन्नुभयो ।
केन्द्रीय सदस्य शाहीले भन्नुभयो, “जनतालाई चाहिएका विद्यालयहरू छैनन् । तर, करोडौँका भ्यु टावरहरू बनिरहेका छन् । सामान्य रोग लागे पनि शासक पार्टीका नेताहरू उपचार गर्न विदेश जान्छन् । जनता सिटामोलसमेत नपाई मर्न विवश छन् ।”
सार्वभौमसत्ता र सम्प्रभुता रक्षा एवं भ्रष्टाचारविहीन नगर÷गाउँपालिका बनाउन नेमकिपाका उम्मेदवारहरूलाई जिताउन उहाँले आग्रह गर्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य नर्मा गुरूङले जनता भनेको न्यायाधीशजस्तै हुनुपर्ने धारणा राख्दै आउँदो निर्वाचनमा देशघाती पार्टीहरूलाई पराजित गर्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले चुनावलाई हारजितभन्दा पनि जनतालाई राजनीतिकरूपमा सचेत बनाउने अभियानको रूपमा नेमकिपाले लिँदै आएको बताउनुभयो ।
ठूला पार्टीहरूको लागि विकासको नाममा आफ्ना पार्टीका ठेकेदार÷व्यापारीहरूलाई पोस्ने काम गरिरहेको धारणा राख्दै उहाँले पुँजीवादी पार्टीहरूले ठेकेदार÷व्यापारीहरूबाट कमिसन लिइरहेका छन् भन्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङले भ्रष्टाचारमा डुबेको गुराँस गाउँपालिकाले युवा–विद्यार्थीको भावनालाई सम्बोधन गर्न नसकेको चर्चा गर्दै एमसीसीका मतियारहरूलाई जनतामाझ उदाङ्ग्याउनुपर्छ भन्नुभयो ।
नेमकिपा गुराँस गाउँपालिकाका अध्यक्ष हस्तबहादुर घले गुरूङको सभापतित्वमा भएको कार्यक्रममा गुराँस गाउँपालिकाका अध्यक्षका उम्मेदवार उदयजङ्ग शाही, सीता शाही, गगन बीसी, पार्वती राणा ओलीलगायतले बोल्नुभएको थियो ।
त्यसैगरी डुङ्गेश्वर गाउँपालिकाको डाँडापराजुलमा पनि चुनावी सभा भयो ।
सभामा पार्टीका केन्द्रीय सदस्य जग्यबहादुर शाही, नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवाल, नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङले नेमकिपाका उम्मदेवारहरूलाई विजयी गराउन आग्रह गर्नुभयो ।
विन्दुलाल रेग्मीको सभापतित्वमा भएको उक्त सभामा दुर्ग अर्याल, गङ्गाप्रसाद न्यौपाने, खेमराज दाहाललगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *