निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
निर्वाचन स्वच्छ, स्वस्थ, स्वतन्त्र एवं भयरहित वातावरणमा हुनुपर्छ । यो सूत्र विश्वव्यापी रूपमा प्रचलित छ । यो सूत्रको उल्लङ्घन पनि झन्डैझन्डै त्यही रूपमा छ । त्यो परम आकर्षक एवं लोभलाग्दो नाराका लागि व्यवहारमा केही उपचार देखापर्दैन । एउटामात्र उपाय हो आचारसंहिता । यो संहिता सा¥है भलादमी छ । निर्वाचन आयोगका निम्ति प्रतिरक्षा गर्ने अभेद्य अस्त्र भएको छ यो आचारसंहिता । आचारसंहिताको परम उल्लङ्घन गर्नेहरूले आचारसंहिताको दुहाइ दिन्छन् । आचार, विचार व्यवहार भनेको शब्दले भनेर मात्र पर्याप्त हुँदैन गरेरै देखाउनुपर्छ । तर गरेर देखाउन निकै कठिन छ । हाकाहाकी आचारसंहिता उल्लङ्घन गर्नेहरू नै आचारसंहिताको पक्षमा बढी बोल्छन् । मान्छेमा एउटा कमजोरी छ मान्छे भन्ने प्राणीको उत्पत्तिदेखि नै । त्यो हो आफूले नदेखेपछि अरूले पनि देख्दैन भन्ने । यो भ्रमको आवरणभित्र धेरैले आचारसंहिता पालना गर्दैैनन् । तर, यो भ्रम यति पातलो छ जो देखिनु पर्दैनथ्यो त्यो स्पष्ट देखिन्छ । शक्तिमा भएको बेला आचारसंहिता नाघ्नेहरू प्रायः हुँदैनन् वा अपवादमात्र हुन्छन् । सेनाको हेलिकोप्टरमा आउँछन् तर आचारसंहिताको पालना गर्ने र गरेको दुहाइ दिन्छन् । हाम्रा नेताहरूमा जनतालाई ढाँट्नु हुँदैन, ढाँटेको कुरा कहिल्यै मिल्दैन भन्ने लोकोक्ति कसरी सम्झाउने ? ढाँटेको कुरा मिल्थ्यो भने यो संसारको स्वरूपै कस्तो हुन्थ्यो होला । यस्तो ढाँट्ने कुरा राजनीतिबाट व्यापक भयो । झन् निर्वाचनको बेला त सर्वाधिक ढाँटको प्रयोग हुनलाग्यो । यो सबभन्दा दुःखको कुरा ।
ढाकेन आचारसंहिताको टालोले
आचारसंहिता देखाउने दाँतमात्र भयो चपाउने दाँत हुन सकेन । निर्वाचन आयोगले निर्वाचनको क्रममा हुने विशाल धनराशीको खर्चलाई त्यो आचारसंहिताले रोक्न सकेन । अचारसंहिताको टालोले छोप्न नसकेको थुप्रो थुप्रो धनको लेनदेन हुनलाग्यो । शशांक कोइरालाले गएको प्रतिनिधिसभामा निर्वाचन लड्दा ६ करोड रूपियाँ खर्च भएको कुरा उनी आफैले सार्वजनिक गरे । अबको निर्वाचनमा सात करोड रूपियाँ खर्च लाग्छ भने । तर, उनलाई आचारसंहिता लागू भएको छैन । यसर्थ, यो आचारसंहिता भन्ने कुरा बलियोलाई नलाग्ने निर्धोलाई मात्र लाग्ने विषय हो ? भन्ने प्रश्न उठिरहेको छ नेपालको बृहद् राजनीतिक वृत्तमा । निर्वाचन अब कसरी चोखो रहला ? जब राजनीति नै चोखो रहँदैन भने के चोखो रहला ? इमानदारी भन्ने कुरा सा¥है ठूलो हुँदोरहेछ । इमानदारी जीवनका यावत पाटामा स्पष्ट एवं बलियो हुनुपर्ने । तर, हामीकहाँ इमानदारी हुर्कनै पाएन । बेइमानी यत्रतत्र सर्वत्र । सर्वत्र बेइमानी भएको कुन मुलुक उभो लागेको छ र ? यो वस्तुतथ्य कम्तीमा सबैले बुझ्नुपर्ने । सबैले बुझेनन् लौ ? तर, राजनीतिक पार्टीहरूले त बुझ्नैपर्ने । त्यही भएन । पाइलैपिच्छे बेइमानी । संसारमा कुन मुलुक सप्रिएको छ र ? बेइमानीबाट । तसर्थ, राजनीतिक दलहरूमा बेइमानी भएन भने अरू सङ्गठनहरूमा त्यसको व्यापक प्रभाव पर्छ । त्यसको प्रभाव अर्कोमा पर्छ । अनि अर्कोमा पर्छ । समाज विकासको प्रक्रिया नै होइन र यो ? लौन हो देशलाई बेइमानीबाट जोगाऊँ !
उपायको रूपमा आचारसंहिता
राम्रो प्रतिफल पाउन सम्पूर्ण परिसर राम्रो हुुनपर्छ । विधान एवं विधिले मात्र सबै परिधि राम्रो हुन्छ भन्ने ग्यारेन्टी हुँदैन । यो विषय बुझ्न सहज छैन भने बुझाउन झन् सजिलो छैन । इमानदार समाजमा सजिलो छ तर, समाज नै इमानदार छैन भने के गर्ने ? कसलाई भन्ने ? कहाँ को कोसँग सहयोग माग्ने ? निर्वाचन आयोगलाई थाहा छ निर्वाचनमा कुन कुन बिन्दुमा फट्याइँ हुन्छ र यो पनि थाहा हुन्छ को कोबाट बेइमानी हुन्छ । बेइमानीको एकमात्र अचुक उपचार हो इमानदारी । यो शब्द यति दुर्लभ छ भेटिँदैन वा बल्ल बल्ल भेटिन्छ । तर, मानव समाजमा त्यो टिक्न उस्तै कठिन छ । बेइमान हुन कठिन छैन । तर, इमानदार हुन कठिनमात्र छैन निकै नै कठिन छ । समाज आज सुविधाका साधनमा लुब्ध हुँदै जाँदै छ । दुःख र कष्टले अरू दुःख तथा कष्ट खोज्दैन तर सुख र सुविधाले अरू सुख सुविधा खोज्छ । त्यसपछि अरू अनि अरू । यो अरू भनेको आकाङ्क्षाको कुनै अन्त्य नै छैन । संसारमा अरू नभए थप्ने नभए अर्कै हुन्थ्यो होला । सायद, नयाँ नयाँ अनुसन्धान खोज पनि हुन्थ्यो यो पक्ष पनि उपेक्षा गर्न मिल्दैन । नयाँको आकाङ्क्षा नै वस्तुतः प्रगति हो । यसर्थ नयाँ एउटा प्रगति हो र हो एउटा दुर्गतिको खाल्डो पनि । मानव समाज अनौठो अन्तरविरोधको सङ्गम हो । यो सङ्गम आकर्षक छ र अनौठो पनि छ । अनेक अप्ठेरा भोगेपछि एउटा उपायको रूपमा आचारसंहिता पत्ता लाग्यो ।
यो शब्द देखाउनकै लागि मात्र हो ?
आचारसंहिता भद्रतासँग गाँसिएको हुन्छ । हाम्रो मुलुकको राजनीति जब भद्रताभन्दा धेरै पर छ भने त्यो पृष्ठभूमिमा आचारसंहिता अनाचारसंहिता भएर स्थापित हुन्छ । त्यसबेला कसको पो के लाग्छ र ? स्थानीय तहको सर्वाधिक महत्वपूर्ण निर्वाचनको सन्दर्भमा आचारसंहिता सबभन्दा बलियो भएर आउनुपर्ने हो । तर त्यसको उल्टो सबभन्दा कमजोर भएर प्रस्तुत भइरहेको छ । जुन कुनै पनि पार्टीका सभा जुलुसमा सबभन्दा अग्रपङ्क्तिमा तिनै केटाकेटी पर्छन् जो आचारसंहिताको एक नम्बरको ठाडो उल्लङ्घन हो । यस्तो नकाम जति ठूलो दल हो त्यसैकोमा बढी देखापर्छ । सञ्चार माध्यमहरूमा कुन दलको कुन ¥यालीमा सभामा केटाकेटीको सङ्ख्या कति थियो भनेर किटानी सङ्ख्यामा नै विवरण दिएका हुन्छन् । जब यस्तो स्थिति छ भुइँ तहमा नै भनेर अरू के होला ? व्याख्या गर्नु जरूरी नहोला । निर्वाचन आयोग आचारसंहिता वास्तवमा नै प्रयोग गर्ने आँट गर्दैन । नमुनाको रूपमा दुई–चार ठाउँमा कारबाही गरेमा यो रोकिन सक्छ । तर, आयोग यो उपाय वा नियन्त्रणको प्रयोग गर्न उत्साहित छैन । तसर्थ, यो विधि हात्तीको चपाउने होइन देखाउने दाँतजस्तो भएको छ । यसले गर्दा आचारसंहिता दाँत र नङ्ग्रा नभएको बाघ जस्तोमात्र भएछ । आचारसंहिता शब्दले जो तर्सन्छ उसको लागि मात्र प्रयोजनीय भएको छ । जसले आचारसंहिता उल्लङ्घन गरिरहेका छन् उनीहरूका लागि यो श्रृङ्गार पटारको वस्तुयन्त्र भएको छ । यस रूपमा आचारसंहिताको प्रयोजन, प्रयोजनहीन भएको छ । यस रूपमा आचारसंहिता राख्नुको औचित्यउपर नै प्रश्न आएको छ ।
Leave a Reply