निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, २६ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले संरा अमेरिकाले नेपालका सेना, प्रहरी र गुप्तचर विभाग आफ्नो नियन्त्रणमा राख्न खोजेको र नेपालमा अमेरिकी सैनिक आधार स्थापना गर्न चाहेको बताउनुभएको छ ।
भक्तपुरको तचपालमा सोमबार आयोजित चुनावी सभामा बोल्दै उहाँले एमसीसी सम्झौता पारित गरेर देशमा अमेरिकी साम्राज्यवादको प्रभाव बलियो बनाउने देशद्रोही र प्रतिगामी शक्तिविरुद्ध देशभक्त र प्रगतिशील नेपाली जनता एकजुट हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले एमसीसी सम्झौता गर्नुको लक्ष्य नेपालको जलविद्युत भारत, बङ्गलादेश, बर्मा, थाइल्यान्ड, मलेसिया हुँदै सिङ्गापुर पु¥याउनुभएको चर्चा गर्दै संरा अमेरिकाले चीनमाथि घेराबन्दी गर्न नेपाली भूमि प्रयोग गर्न खोजेको बताउनुभयो ।
नेमकिपाको एकै जना कार्यकर्ता भए पनि देश र जनताको पक्षमा लडिरहने भएकोले शासक दल नेमकिपासँग डराएको भन्दै उहाँले आकाशमा ताराको सङ्ख्या धेरै भए पनि रातमा प्रकाशको लागि चन्द्रमा नै आवश्यक परेजस्तै शासक दल ठूलो भए पनि देशको हित गर्न नसकेको तर नेमकिपाले देशको पक्षमा लडिरहेको बताउनुभयो ।
सभामा अध्यक्ष बिजुक्छेँले देशलाई आफ्नै खुट्टामा उभ्याउनुको सट्टा कृषिमा परनिर्भर बनाउने र ७० लाख युवाहरूलाई विदेश पठाउने सबै सरकारमा गएका दलहरू अयोग्य भएको बताउनुभयो ।
स्थानीय तहमा सङ्घीय सरकारले कर्मचारी पठाउनु उपयुक्त नभएको प्रस्ट पार्दै उहाँले भक्तपुर नगरलाई पानीमा पनि आत्मनिर्भर बनाउन पुराना इनार र पानीको स्रोतको संरक्षण गर्नुपर्ने बताउनुभयो ।
अनुकूलतामा मात्र नभई जस्तोसुकै प्रतिकूलतामा पनि काम गर्न तत्पर हुनुपर्ने चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले पानीको स्रोत वरपर वन फडानी गर्नु जनतालाई खानेपानीबाट वञ्चित गर्ने चालबाजी भएको धारणा राख्नुभयो ।
उहाँले स्थानीय तहको चुनावलाई एमसीसी समर्थक दलाल र देशद्रोहीहरूलाई उदाङ्ग्याउन देशभर नेमकिपाका कार्यकर्ताहरू परिचालित भएको भन्दै नेमकिपाले देश र जनताप्रतिको आफ्नो दायित्व पूरा गरिरहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नपाको प्रमुख पदको लागि नेमकिपाका उम्मेदवार सुनिल प्रजापतिले भक्तपुर नपाले गरेका हरेक गतिविधि मासिक, पाक्षिक, अनलाइनलगायतका सञ्चारमाध्यमबाट जनतालाई लगातार जानकारी गराउँदै आएको बताउनुभयो ।
विपक्षीहरू भक्तपुर नपाको हिसाब पारदर्शी नभएको भन्ने आरोपको खण्डन गर्दै उहाँले शासक दलका प्रतिनिधि निर्वाचित भएका स्थानीय पालिकाले भक्तपुर नपाले जतिको पारदर्शी देखाउन चुनौती दिनुभयो ।
उहाँले ‘नेमकिपा भएसम्म भक्तपुरको विकास नहुने’ भन्ने माओवादी केन्द्रका एक जना केन्द्रीय सदस्यको झूटा आरोपको खण्डन गर्दै माओवादी पटकपटक सरकारमा गएर पनि एउटा विद्यालय पनि स्थापना गर्न नसकेको बताउनुभयो ।
“बरु माओवादीका सरकारले माथिल्लो कर्णाली परियोजनाजस्ता देश हितविपरीतका सम्झौता ग¥यो । देशको अर्थतन्त्र ध्वस्त बनायो ।”, प्रजापतिले भन्नुभयो ।
राजनीतिक दल भनेको मानिसको भीड नभई विचार र सिद्धान्तको शक्ति भएको प्रस्ट पार्दै उहाँले समाजवादी विचार र झन्डा नै नेमकिपाको शक्ति भएको बताउनुभयो ।
सङ्घीय र प्रदेश संसद्मा नेमकिपाका सांसद सङ्ख्यात्मकरूपमा कम भए पनि अरू दलका सांसदको तुलनामा सशक्त भूमिका खेलिरहेको बताउँदै प्रमुख पदका उम्मेदवार प्रजापतिले शासक दलका सांसदहरू नेताको कोटाको नोटले किनबेच हुने गरेको प्रस्ट पार्नुभयो ।
संविधानमा उल्लेख भएका स्थानीय तहका अधिकारसमेत शासक दलहरूले सिंहदरबारमा फर्काउन खोजेको प्रस्ट पार्दै उहाँले सङ्घीयताको वास्तविक कार्यान्वयन भक्तपुरमा भइरहेको बताउनुभयो ।
भक्तपुर नपाको उपप्रमुख पदका उम्मेदवार रजनी जोशीले जनताको साथ सहयोगमा भक्तपुरका जनप्रतिनिधिले नेमकिपाको घोषणापत्रको अक्षरशः कार्यान्वयन गरेकोले आज देशमा भक्तपुर नपा नमुना र उदाहरणीय नगर भएको बताउनुभयो ।
उहाँले बितेका पाँच वर्ष भक्तपुरमा शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, वातावरण संरक्षण र सरसफाइमा गरेका उपलब्धिको चर्चा गर्दै अधुरो रहेका काम आगामी पाँच वर्षमा गर्ने वचनबद्धता व्यक्त गर्नुभयो ।
उहाँले कोभिड महामारीको प्रतिकूल परिस्थितिमा पनि जनताको साथ सहयोगमा भक्तपुरमा उदाहरणीय काम सम्पन्न भएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं ९ का वडा अध्यक्ष पदका उम्मेदवार रवीन्द्र ज्याख्वले भक्तपुरमा भएको विकास निर्माण कार्यबारे शासक दलहरूले झूटा र भ्रमपूर्ण प्रचार गरेकोमा खेद व्यक्त गर्नुभयो ।
उहाँले जनतासमक्ष चुनावमा गरेको प्रतिबद्धता एक एक बुँदा गर्दै पूरा गरेको चर्चा गर्दै कोभिड महामारीको कठिन समयमा पनि छोटो समयमा अक्सिजन प्लान्ट बनाउन जनताको सहयोगबाट सम्भव भएको बताउनुभयो ।
नेमकिपा वडा नं ९ समन्वय समितिका अध्यक्ष कृष्णभक्त लवजूको सभापतित्वमा भएको सभामा साविक वडा नं ३ का पूर्वअध्यक्ष विष्णुबहादुर मानन्धरले आतिथ्य गर्नुभएको थियो ।
सभामा नेमकिपा निर्वाचन परिचालन समिति सूर्यमढी, व्यासी सांस्कृतिक समूह र भक्तपुर साकोसका कलाकारहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
Leave a Reply