भर्खरै :

कम्युनिस्टहरूको राजनीतिक उद्देश्य समाजवाद स्थापना

कम्युनिस्टहरूको राजनीतिक उद्देश्य समाजवादको स्थापना गर्नु हो । यो बहुमत जनताको चाहना हो । शोषण र दमनबाट मुक्त भएर समानरूपले जीवन यापनको चाहना पूरा गर्ने समाज नै समाजवाद हो । समाजवादी समाजमा मात्रै व्यापक जनताले सन्तोषको सास फेर्न पाउँछन् । समाजवादी समाज समाजवादी विचारबाट सुसज्जित जनताबाट स्थापित हुन्छ । समाजवादी विचार बहुमत जनताको जीवन सुनिश्चित गर्ने बाटो हो । कुनै पनि देशका कम्युनिस्टहरू समाजवादी गणतन्त्र स्थापना गर्न लाग्छन्, लागिपरेका हुन्छन् । यो बाटोमा कुनै कम्युनिस्ट पार्टी लाग्दैन भने त्यो दल नाउँमात्रको कम्युनिस्ट हुन्छ । एमाले र माओवादी केन्द्र कम्युनिस्ट पार्टी भनिए पनि साँच्चै समाजवादी विचारअनुसार अघि बढेका छैनन् । समाजवादी विचार छोड्नु या मतलब नराख्नु समाजवादी आन्दोलनलाई कमजोर पार्नु हो या पुँजीवादी व्यवस्थालाई मलजल गरेर अझ बलियो बनाउनु हो ।
हरेक कम्युनिस्ट पार्टीले समाजवादी सिद्धान्तलाई जोड दिएको हुन्छ । जनतालाई समाजवादी सिद्धान्तबाट सुसूचित पार्न जहिल्यै अघि बढिरहेको हुन्छ । नेमकिपाले स्थापनाकालदेखि समाजवादी सिद्धान्तअनुसार राजनीति गरिरहेको हो र जनता सुसूचित र सङ्गठित नभइकन आमूल परिवर्तन सम्भव नहुने हुँदा समाजवादी प्रचार अभियानमा लागिरहेको हो । नेमकिपाले समाजवादी व्यवस्था स्थापना गर्न मजदुर वर्गीय दृष्टिकोणलाई अगाडि बढाइरहेको हो । श्रमिक वर्गमा वर्गीय चेतनाविना समाजवादी बन्दोबस्त सम्भव छैन ।
नेपालको हालको राजनीतिक बन्दोबस्त पुँजीवादी व्यवस्था हो । यो पुँजीवादी व्यवस्थामै अल्झेर या यो सरकारमै रहेर देशमा समाजवाद स्थापना हुँदैन । कुनै दलले चाहना राखे पनि त्यो पूरा हुनेछैन । सरकारमा कम्युनिस्ट भनिने दलले पटक–पटक सरकारमा गए पनि किम्युनिस्ट सिद्धान्त र आचरणअनुसार कुनै काम गर्न सकेका छैनन् । तर, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी दलहरू यो व्यवस्थाभित्रै रहेर समाजवाद ल्याउने या आमूल परिवर्तन गर्ने उद्घोष गर्छन् । पुँजीवादी सरकारको नेतृत्व गरेर सानातिना विकास गर्नु या सुधार्नु समाजवाद होइन । त्यो काम त पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने नेकाले पनि गर्नसक्छ । पुँजीवादी व्यवस्थाभित्रै रहेर रजाइँ गरिरहने हो भने कम्युनिस्ट भनिने ती दलले मार्गनिर्देशक सिद्धान्त किन माक्र्सवाद र लेनिनवाद राख्ने ? सिद्धान्त र विचार कम्युनिस्ट पार्टीको बोकेर काम सबै नेकाले जस्तै पुँजीपति वर्गको पक्षपोषण गर्ने दल कसरी सच्चा कम्युनिस्ट पार्टी हुन्छ ? नेमकिपाले एमालेलाई त्यसै भाइकाङ्ग्रेस भनेको होइन । एमालेभन्दा फरक पहिचान दिन चाहेका माओवादी केन्द्र र एकीकृत समाजवादी दलको स्थिति पनि उस्तै छ । ती दलका नेताहरू एमाले कुनै हालतमा कम्युनिस्ट पार्टी होइन, कम्युनिस्टविरोधी पार्टी हो, कम्युनिस्ट आन्दोलनविरोधी पार्टी हो भन्छन् तर उनीहरू पनि कम्युनिस्टको सिद्धान्त र विचारलाई आत्मसात गरेर अघि बढिरहेका छैनन् । यो अहिलेको यथार्थ हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *