भर्खरै :

भक्तपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूद्वारा शपथ तथा पदभार ग्रहण

भक्तपुर, ६ जेठ । भक्तपुर नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यहरूले जेठ ६ गते एक कार्यक्रमबीच शपथग्रहण गर्दै पदभार ग्रहण गर्नुभएको छ ।
भक्तपुर नगरपालिकाको नयाँ भवन ब्यासीको प्राङ्गणमा सम्पन्न शपथग्रहण कार्यक्रममा भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भक्तपुर नपाको नगर प्रमुखमा सुनिल प्रजापतिलाई आज पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो ।
त्यस्तै नगर प्रमुख प्रजापतिले नवनिर्वाचित उपप्रमुख रजनी जोशी तथा भक्तपुर नगरपालिकाका १० वटै वडाका जनप्रतिनिधिहरूलाई शपथग्रहण गराउनुभयो ।
शपथग्रहण गरेका वडाध्यक्षहरूमा भक्तपुर नपा वडा नं. १ का श्यामकृष्ण खत्री, वडा नं. २ का हरिप्रसाद बासुकला, ३ वडाका राजकृष्ण गोरा, वडा नं. ४ का उपेन्द्र सुवाल, वडा नं. ५ का योगेन्द्रमान बिजुक्छेँ, वडा नं. ६ का हरिराम सुवाल, वडा नं. ७ का उकेश कवां, ८ वडाका कृष्णप्रसाद कोजु, ९ वडाका रवीन्द्र ज्याख्व र १० नं. वडाका लक्ष्मीप्रसाद ह्यौंमिखा हुनुहुन्छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले नवनिर्वाचित सम्पूर्ण जनप्रतिनिधिलाई बधाईज्ञापन गर्दै स्थानीय तह निर्वाचन २०७९ मा नेमकिपालाई अत्यधिक बहुमतका साथ विजयी गराउन सहयोग गर्नुहुने मतदातालगायतलाई पार्टीको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।
भक्तपुर नपाका जनप्रतिनिधिले पार्टीको घोषणापत्रअनुरूप नगर र नगरवासीहरूको हितमा काम गर्न सफल हुने विश्वास व्यक्त गर्दै सांसद सुवालले जनप्रतिनिधिहरूले जनताको सेवामा एम्बुलेन्स र दमकलसरह खट्नुपर्नेमा जोड दिनुभयो ।
निर्वाचनमा सिद्धान्तहीन गठबन्धनको कुनै औचित्य नरहेको प्रस्ट पार्दै सांसद सुवालले देको मिवा इतापाको आयोजना छिटो सम्पन्न गर्नुपर्ने बताउनुभयो ।
सरकारले देशको अर्थतन्त्रलाई बलियो बनाउने काम गर्नुपर्छ भन्दै उहाँले जनप्रतिनिधिहरूले कुरा भन्दा काममा ध्यान दिनुपर्ने र जनताको भावनाअनुसार काम गर्न आग्रह गर्नुभयो ।
भक्तपुर नपाका नवनिर्वाचित प्रमुख सुनिल प्रजापतिले निर्वाचनमा अत्यधिक मत दिएर सहयोग गर्नुभएका सम्पूर्ण मतदाताहरूमा धन्यवादज्ञापन गर्दै जनप्रतिनिधिहरू सबैको साझा व्यक्तित्व भएको हुँदा कुनै आग्रह र पूर्वाग्रह नराखी कानुनअनुसार छिटो छरिटोरूपमा काम सम्पन्न गर्ने विश्वास दिलाउनुभयो ।
पहिलो कार्यकालमा कानुनी र प्राविधिक कारणले पूरा हुन नसकेका कामहरू यस कार्यकालमा पूरा गर्ने वचनबद्धता व्यक्त गर्दै प्रमुख प्रजापतिले पार्टीले निर्वाचनको समयमा घोषणा गरेको निर्वाचन घोषणापत्रअनुरूप काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा बाग्मती प्रदेशका प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसार्इँले स्थानीय तहको निर्वाचनमा भक्तपुर नपाले हासिल गरेको सफलताबाट सिङ्गो देश जितेको अनुभव भएको बताउँदै भक्तपुर नपाका जनप्रतिनिधिहरूले हिजोका दिनमा झैँ अविचलितरूपमा जनताको सेवा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पुनःनिर्वाचित जनप्रतिनिधिलाई आगामी कार्यकाल सफलताको शुभकामना दिँदै मतगणनाको कार्य अरू जिल्लाको तुलनामा भक्तपुरमा छिटो सम्पन्न भएको बताउनुभयो ।
समारोहमा भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले निर्वाचन प्रक्रिया सुधार गर्नुपर्ने, निर्वाचन भएकै ठाउँमा मतगणनाको व्यवस्था गर्नुपर्ने र मतदान केन्द्रहरूको सुधार आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले धन्यवादज्ञापन गर्नुभएको थियो ।
समारोहमा भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई प्रमाणपत्र र प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले फूलमाला र खादाले स्वागत गर्नुभएको थियो ।
जनप्रतिनिधि बहालीपश्चात् भक्तपुर नपाको पहिलो बोर्ड बैठक
भक्तपुर नपाका जननिर्वाचित प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशी तथा वडाध्यक्षहरूको सपथग्रहणपश्चात् आ–आफ्नो पदभार सम्हाल्नुभयो ।
शपथग्रहणपश्चात् आजै नवनिर्वाचित प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नपाको पहिलो कार्यपालिका बैठक बस्यो ।
बैठकले देशमा प्रजातन्त्र पुनःस्थापनाको लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरूमा शहादत्त प्राप्त गरेका ज्ञात अज्ञात सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । जनअधिकार प्राप्तिका लागि विभिन्न समयमा भएका आन्दोलनहरूमा घाइते भएका वीर योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै बैठकले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ‘मादल’ चिह्नमा छाप लगाई नेमकिपाका सम्पूर्ण उम्मेदवारहरूलाई मतदान गरी अत्यधिक बहुमतले विजयी गराएकोमा सम्पूर्ण मतदाता एवम् नगरवासीहरूप्रति आभार व्यक्त गरेको छ । साथै स्थानीय तह निर्वाचन २०७९ को निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुर, मतदान अधिकृतलगायत निर्वाचनमा खटिएका सम्पूर्ण कर्मचारीहरू, प्रशासन, सुरक्षाकर्मीहरू स्वयम्सेवकहरूप्रति पनि धन्यवाद ज्ञापन गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *