भर्खरै :

अवसरवादी र संशोधनवादीहरू सिद्धान्तको ख्याल गर्दैनन्

संसद् विघटन गरेको आधारमा देशको ठूलो दलको सरकार ढालेर गठबन्धन सरकार बनाउनु प्रजातान्त्रिक पद्धति होइन । गठबन्धन सरकारमा रहेका दलहरूले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर प्रजातान्त्रिक मूल्य र मान्यतालाई उडाउने काम गरे । यो सिद्धान्तहीन गठबन्धन अर्को प्रजातान्त्रिक पद्धतिको मूल्य र मान्यताविपरीत छ । सत्तारूढ दलहरूको गठबन्धन भएपछि प्रमुख प्रतिपक्ष दल या ठूलो दल एमालेले पनि राप्रपासँग गठबन्धन गरेर अर्को गल्ती ग¥यो । यसरी यो निर्वाचनमा सत्तारूढ र प्रमुख प्रतिपक्ष दलबीच गठबन्धनको प्रतिस्पर्धा रह्यो । अन्य दलले एक्लाएक्लै निर्वाचनको मैदानमा उत्रे पनि ठूला दलहरू गठबन्धनमा लागे । राजनीतिक विश्लेषकहरूले त यो स्थानीय तहको निर्वाचन गठबन्धन गठबन्धनबीचको निर्वाचन भनी टिप्पणी गरे ।
निर्वाचनमा दलहरूबीच प्रतिस्पर्धा हुन्छ, हुनुपर्छ । दल–दलबीचको प्रतिस्पर्धाले पो कुन दलको पकड कहाँ छ, कति छ भन्ने थाहा हुन्छ । कुन दलले कति सीट जिते भन्ने कुरा गठबन्धनले बताउँदैन । गठबन्धनको मतबाट जितेपछि कुनै दलको सीट सङ्ख्या यकिन भए पनि त्यो आफ्नो एक्लो दलको जनप्रतिनिधि मानिँदैन । राजनीतिक विश्लेषक लोकराज बरालले पनि यो चुनाव गठबन्धनहरूबीचको प्रतिस्पर्धाजस्तो भएको टिप्पणी गरे । स्पष्टतः यो चुनावमा नेकाको नेतृत्वमा र एमालेको नेतृत्वमा गठबन्धन भयो । गठबन्धनबाट जितेको सीट आफ्नो एक्लो दलको सीट भन्न मिल्दैन । गठबन्धन भएपछि बढी सीट जित्नु स्वाभाविक हो । तर, गठबन्धन भएअनुसार सबैले सबैलाई इमानदारीपूर्वक मत नहालेको कारण देखाएर गठबन्धनभित्रकै दलका नेताहरूले असन्तोष पोखे । गठबन्धनभित्रकै दलहरूले पूर्ण सहयोग नगरेको दुःखेसो पोखे । तर, गठबन्धन नभएको भए माओवादी केन्द्र र एकीकृत समाजवादीले अहिले जति सीट जितेको हो त्यो भन्दा धेरै न्यून हुन्थ्यो ।
सिद्धान्त र विचारको राजनीति गर्नुपर्ने दलले सिद्धान्त र विचार छोडेर या थन्काएर सिद्धान्तहीन राजनीति गर्न थालेर देशमा कसरी प्रजातान्त्रिक पद्धतिको विकास हुन्छ ? दलगत र व्यक्तिगत फाइदा भएपछि सिद्धान्त र विचार छाड्ने दलका नेताहरू कसरी प्रजातान्त्रिक र कम्युनिस्ट हुन्छन् ? देशमा यस्तै यस्तै अवसरवादी र संशोधनवादी नेताहरूको कारण देश विकास नभएको हो, राजनीतिप्रति वितृष्णा फैलिएको हो । यसमा ठूला दल र सत्तासीन दलका नेताहरू नै जिम्मेवार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *