भर्खरै :

पाठ्यपुस्तक नपाउँदा विद्यार्थी मर्कामा

खेतीपाती सुरू हुन्छ, किसानले मल समयमा पाउँदैन । सुख्खा याम सुरू हुन्छ, खानेपानीको हाहाकार हुन्छ । जब ज्वरो, झाडापखालाको बिरामी सङ्ख्या बढ्छ तब सोको औषधि अभाव हुन्छ । त्यसरी नै प्रत्येक वर्ष स्कूल खोलेको महिना दिनसम्म विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्दैन । अहिले विद्यालयमा पठनपाठन सुरू भइसकेको छ तर विद्यार्थीले पुस्तक पाएका छैनन् । जनक शिक्षा सामग्रीले स्थानीय तह निर्वाचनको मतपत्र छपाइमा व्यस्त भएको कारण देखाई पाठ्यपुस्तक छाप्न ढिलो भएको स्पष्टीकरण दिएको छ । प्रत्येक वर्ष पुस्तक छापेर विद्यालय–विद्यालयमा पु¥याउनुपर्छ भन्ने कुरा सरकारलाई थाहा छ । तर, पनि समयमा पाठ्यपुस्तक पुग्दैन । पाठ्यपुस्तक छपाइ ढिलो हुनुको कारण निर्वाचनको मतपत्र छपाइ भनेर जनक शिक्षक सामग्री पन्छिन पाउँदैन । मतपत्र छाप्नुपर्छ भने त्यस अगाडि नै सोचेर पाठ्यपुस्तक छाप्नुपर्छ ।
पाठ्यपुस्तक नपाएर विद्यार्थीहरू मर्कामा परेका छन् । हप्ताको दुई दिन बिदा दिएकै वर्ष पाठ्यपुस्तक ढिलो भएपछि विद्यार्थीको शैक्षिक स्तर कसरी बढ्छ ? विद्यार्थीको हातमा कहिलेसम्म पाठ्यपुस्तक पाउने हो ? कुनै यकिन छैन । अहिले छापिरहेको पाठ्यपुस्तक दुई हप्तापछि पनि विद्यार्थीको हातमा पर्नेछैन । पुरानो पुस्तक भए पनि सबै विद्यार्थीको हातमा पुग्दैन । समस्या त नयाँ पाठ्यपुस्तकको हो । दुई–तीन हप्तासम्म पाठ पढाउन नपाएपछि विद्यार्थीलाई मात्र होइन शिक्षकलाई पनि समस्या हुन्छ । शिक्षकले समयमा कोर्स पूरा गर्नसक्दैन । विद्यार्थीले समयमै पढ्न नपाउँदा र कोर्स पूरा नहुँदा विद्यार्थीको पढाइमा समस्या हुन्छ । यसबारे शिक्षा मन्त्रालयले ध्यान दिनुपर्ने हो, शिक्षामन्त्रीले सोच्नुपर्ने हो ।
समयमा काम होस्, जनताका आधारभूत आवश्यकता पूरा होस्, खानेपानी समस्या नहोस्, मल समयमा पुगोस्, बाटोघाटो बनोस्, औषधि पर्याप्त होस् भन्ने उद्देश्य नै विभिन्न मन्त्रालय र मन्त्रीको बन्दोबस्त गरिएको हो । जनताका लागि चाहिने सामान समयमा पाउँदैन भने मन्त्रालय र मन्त्रीको व्यवस्था के देखाउनको लागि ¤ समयमै पाठ्यपुस्तकको बन्दोबस्त गर्न शिक्षामन्त्रीले विचार पु¥याउनुपर्दैन ? वर्षौँदेखि चलिरहेको नर्सिङ कक्षा बन्द गर्न जानेको शिक्षामन्त्रीलाई समयमा पाठ्यपुस्तक छाप्ने बुद्धि किन आएन ? पुस्तक छाप्न भ्याइएन भने सबै पुस्तक जनक शिक्षा सामग्री केन्द्रले नै छाप्नुपर्छ भन्ने होइन । कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छाप्न जिम्मा पाएको केन्द्रले समयको अभाव भएको हो भने निजी मुद्रकलाई छपाउन दिए पनि हुने हो । यसतर्फ शिक्षामन्त्रीको ध्यान खोइ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *