यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
(यो आलेख माक्र्सले पुँजीवादी समाजका घिनलाग्दा पक्षहरू उदाङ्गो पार्न लेख्नुभएको थियो । पुँजीवादी समाजकै एक प्रतिनिधि, फ्रान्सेली कानुनवेत्ता र अर्थशास्त्री, पेरिस प्रहरी अभिलेखालयका अधिकारी ज्याक्स प्यूशेले दिएका दस्तावेजी प्रमाणहरूबाट पुँजीवादी समाजको नैतिकता र संस्कृति नङ्ग्याउन उहाँले यो रचना तयार गर्नुभएको थियो । सन् १८३८ मा प्रकाशित प्यूशेको आत्मसंस्मरणका अंशहरू साभार गरेर माक्र्स आफैले उल्था गर्नुभएको थियो । सन् १८४५ का पछिल्ला ६ महिनामा तयार पारिएको यो आलेख सन् १८४६ मा प्रकाशित भएको थियो ।
रचनाको आरम्भमा माक्र्सले आफ्नो टिप्पणीसहितको भूमिका लेख्नुभएको छ र कताकति काँटछाँट गर्नुभएको छ । उहाँले कतै आफ्ना धारणाहरू बीचमा दिनुभएको छ भने कतै केही अनुच्छेदहरू हटाउनुभएको छ । अनुच्छेदहरू हटाएको ठाउँमा उहाँले तिनको सार वा निचोड केही वाक्यमा समेट्नुभएको छ । प्यूशेका केही विचारलाई माक्र्सले आफ्नै शैलीमा लेख्नुभएको छ र तिनका चोटिला पक्षहरूमा जोड दिनुभएको छ । उहाँले लेखको भूमिकामा दिनुभएका जानकारीहरू आत्मसंस्मरणको भूमिकाबाट लिइएका हुन् । माक्र्सले रेखाङ्कित गर्नुभएका वाक्यहरूलाई यहाँ तेर्सो अक्षरमा दिइएको छ । उद्धृत अंशहरू उद्धरण चिन्हभित्र दिइएको छ । स्रोत ः माक्र्स–एङ्गेल्स, संकलित रचना, भाग ४ । : अनुवादक )
समाजको आलोचनामा कम्तीमा फ्रान्समा प्रगति भएको छ । विशेष वर्गहरूबीचको सम्बन्धमा मात्र नभई आधुनिक सम्बन्धका सबै दायरा र स्वरूपमा आधुनिक जीवनका अन्तरविरोध र अस्वाभाविकताहरू उदाङ्गो पारेर फ्रान्सेली आलोचनाले गुन लगाएको छ । यसले जीवनको सौम्यता, दृष्टिकोणको भव्यता, परिष्कृत संवेदना र भावनाको मौलिकता छर्लङ्ग पार्ने काम गरेको छ । अन्य देशहरूमा यस्तो आलोचना गर्ने प्रयास व्यर्थ हुने गरेको छ । जस्तो, जीवनका अन्तरसम्बन्धहरूबारे ओवेन र फ्यूरियेका आलोचनाहरू दाँज्दा फ्रान्सेलीहरू नै माथि देखिन्छन् । सामाजिक परिस्थितिको आलोचना खोज्न फ्रान्सका ‘समाजवादी’ लेखकहरू मात्र हेरेर पुग्दैन, बरू सबै विधाका साहित्य र खासगरी उपन्यास र संस्मरण लेखकहरूलाई पढ्नुपर्ने हुन्छ । प्यूशेले लेखेको ‘प्रहरीको अभिलेखालयबाट केही संस्मरणहरू’ बाट आत्महत्याबारे केही अंशहरू साभार गरेर म यो फ्रान्सेली आलोचनाको एउटा उदाहरण दिनेछु । समाजसेवी पुँजीवादीहरू भन्छन्– सर्वहारा वर्गलाई अलिकति रोटी र अलिकति शिक्षा दिए पुग्छ, समाजको वर्तमान अवस्थाले कामदारहरू टाक्सिएका मात्र हुन्, नत्र वर्तमान व्यवस्था सम्भव सबै व्यवस्थामध्ये उत्तम व्यवस्था हो । यो आलेखले ती समाजसेवीहरूको विचार कति पानीमा छ भनेर पनि देखाउनेछ ।
ज्याक्स प्यूशेजस्ता पुराना धेरै फ्रान्सेली पेशेवर अधिकारीहरू अहिले लगभग हराए भन्दा हुन्छ । उनीहरूले सन् १७८९ यताका अनेक उथलपुथलहरू भोगेका थिए । अनेक निराशा, उत्साह, संविधानहरू, शासकहरू, पराजय र विजय, निजी जीवन को भाषामा भन्नुपर्दा विद्यमान सम्पत्ति, परिवार र अन्य निजी सम्बन्धबारे आलोचनाहरू उनीहरूलाई आफ्नो राजनीतिक अनुभवको अनिवार्य परिणाम लाग्छ ।
ज्याक्स प्यूशे (जन्म सन् १७६०) ले साहित्यबाट सुरू गरेर औषधिको अध्ययन गरे, त्यहाँबाट उनी कानुनतिर लागे, कानुनबाट प्रशासनमा आए र प्रहरी बने । फ्रान्सेली क्रान्ति सुरू हुनुभन्दा ठीक पहिले उनी (काल्पनिक समाजवादी) अबे मोरेलीसँग मिलेर ‘वाणिज्य शब्दकोश’ बनाउने काममा जुटेका थिए । त्यो शब्दकोशको खाका मात्र बन्न सक्यो । त्यसबेला प्यूशे विशेषतः राजनीतिक अर्थशास्त्रको अध्ययन र प्रशासनको काममा व्यस्त थिए । अलि समय प्यूशे फ्रान्सेली क्रान्तिमा सहभागी भए । छिट्टै उनी राजावादी पार्टीमा लागे । केही समय उनले ‘फ्रान्सेली गजेट’ को सम्पादन गरे र पछि उनले माले दु पाँका कुख्यात राजावादी मेरकुरको ठाउँ लिए । तैपनि क्रान्तिताका उनले चलाखीपूर्वक नागबेली बाटो समाते । कहिले उनी सरकारी कोप झेल्थे, कहिले प्रशासन र प्रहरीमा काम गर्थे । सन् १८०० मा उनले छपाएको ‘आर्थिक भूगोल’ को पाँचौँ खण्डले प्रथम कन्सुल बोनापार्टको ध्यान तान्यो । बोनापार्टले उनलाई अर्थ मन्त्रालयमा नियुक्त गरे । पछि उनले अर्को मन्त्रालयमातहत पर्ने प्रशासनको उच्च पद पाए । सन् १८१४ मा (बुर्बोँ राजवंशको) पुनःस्थापनापछि उनलाई सेन्सर विभागमा नियुक्त गरियो । १०० दिने अवधिमा (एल्बा टापुबाट फर्केपछिको नेपोलियनको दोस्रो शासनकाल १०० दिन टिकेको थियो) उनले अवकाश लिए । नेपोलियनको पतनपछि उनलाई पेरिस प्रहरी विभागमा अभिलेखालय हेर्ने जिम्मा दिइयो । सन् १८२७ सम्म उनले त्यही काम गरे । प्यूशे संविधानसभा (९ जुलाई १७८९ पछि), कन्भेनसन (२१ सेप्टेम्बर १७९२ पछि), ट्रयुबिनेट (९–१० नोभेम्बर १७९९ मा प्रतिक्रान्तिबाट नेपोलियन शासक बने, ट्रयुबिनेट उनको सत्ता टिकाउने एउटा न्यायिक निकाय थियो, यो निकाय १८०७ सम्म सक्रिय रह्यो) र (बुर्बोँ राजवंशको) पुनःस्थापनापछि गठित प्रतिनिधि सभाका वक्ताहरूबाट अप्रभावित थिएनन् । तिनीहरूको विचारले एक मानव र लेखकको रूपमा उनको मनमा गहिरो छाप पा¥यो । ‘आर्थिक भूगोल’ बाहेक उनको चर्चित र खासगरी आर्थिक रचना ‘फ्रान्सको तथ्याङ्कशास्त्र’ (सन् १८०७) हो । पेरिस प्रहरी अभिलेखालयबाट जम्मा गरेका सामग्रीहरू तथा प्रहरी र प्रशासनमा लामो समय काम गरेर सङ्गालेका आफ्नै अनुभवहरूको आधारमा प्यूशेले आत्मसंस्मरण लेखे । बुढो भएपछि लेखिएको संस्मरणलाई उनले आफू मरेपछि मात्र छाप्न भने । उनी आफूलाई कुनै पनि हालतमा ‘हतार गर्ने’ समाजवादी र कम्युनिटीहरूमा नगनियोस् भन्ने चाहन्थे । (बाबेफ नेतृत्वको समानतावादीहरूको दललाई यहाँ समाजवादी र कम्युनिटी भनिएको हो ।) ती समाजवादी र कम्युनिटीहरूमा संसारी चालचलनबारे हाम्रा लेखक, अधिकारीहरू र पेशेवरहरूमा पाइने गजबको परिपक्वता र विस्तृत ज्ञानको अभाव भएको बुझिन्छ ।
अब हामी आत्महत्याबारे पेरिस प्रहरी विभागको अभिलेखालय रेखदेख गर्ने व्यक्तिका कुरा सुनौँ ¤
“हामीबीच बर्सेनि आत्महत्या गर्नेहरूको सङ्ख्या पहिलेजस्तो थियो, त्यस्तै छ, सामान्य र दोहोरिरहने खालको । यसलाई हाम्रो समाजको गलत व्यवस्थापनको लक्षणको रूपमा हेर्नुपर्छ । उद्योगहरू राम्ररी चल्दा होस् वा सङ्कटको बेला, खानाको छेलोखेलो हुँदा होस् वा बर्खामा अड्कोपड्को पर्दा, यो समस्याले सधैँ टाउको उठाउँछ र महामारीको रूप लिन्छ । अनि वेश्यावृत्ति र चोरीचकारी उसैगरी बढ्छ । गरिबी आत्महत्याको ठूलो कारण हो, तैपनि सबै वर्गमा आत्महत्या पाइन्छ । लोसे धनीहरूका साथै कलाकार र राजनेताहरू पनि आत्महत्या गर्छन् । यस्तो गर्न उक्साउने विभिन्न कारणहरूले सदाचारको उपदेश छाँट्नेहरूको निरस र निर्मम निन्दालाई खिसी गरेझैँ लाग्छ ।”
“विज्ञान हाल उदासिन र अप्रभावी हुने श्वासप्रश्वाससम्बन्धी रोगहरू, मित्रताको दुरूपयोग, प्रेममा धोका, महत्वाकाङ्क्षा पूरा नहुनु, पारिवारिक पीडाहरू, कुण्ठित शत्रुता, एकोहोरो जीवनप्रतिको असन्तुष्टि, दमित उत्साह नै आफै सल्किने खालका आत्महत्याका कारणहरू हुन् । जीवनप्रतिको माया, व्यक्तित्वको यो उर्लिँदो शक्तिले पनि प्रायः घिनलाग्दो जिन्दगी टुङ्ग्याउन घच्घच्याउँछ ।”
“खुबै सजिएर सार्वजनिक स्थलहरूमा देखापर्ने मादाम दि स्टाइलले आत्महत्यालाई प्रकृतिभन्दा विपरीत देखाउन खोजेकी छिन् । आत्महत्यालाई साहस मान्न नसकिने उनको बुझाइ छ । उनी निराशासामु घुँडा टेक्नुभन्दा जुध्नु बहादुरी हुने दाबी गर्छिन् । दिनदशामा डुबेका व्यक्तिलाई यस्ता तर्कले कत्ति पनि छुन सक्दैन । तिनीहरू धार्मिक भए तिनले अझ गतिलो संसारको बाटो हेर्छन् । यसको उल्टो तिनीहरूले केहीमाथि पनि विश्वास गर्दैनन् भने तिनले शून्यताको शान्ति खोज्छन् । तिनको दृष्टिमा दार्शनिक उपदेशको कुनै महत्व हुन्न र त्यस्तो उपदेश तिनको दुःखमा गतिलो मलम बन्न सक्दैन । बारम्बार भइरहने आत्महत्याजस्तो कार्यलाई प्रकृतिभन्दा विपरीत भन्नु नपच्ने कुरा हो । आत्महत्या कुनै पनि हालतमा प्रकृतिविपरीत हुन सक्दैन किनभने यो दिनदिनै भइरहेको छ । प्रकृतिविपरीत घटना हुँदै हुन्न । उल्टो, हाम्रो समाजको प्रकृतिले नै यति धेरै आत्महत्या जन्माएको हो । तातार जातिले आफूलाई मार्दैनन् । त्यसैले सबै समाजको परिणाम एउटै हुन्न । हामीले आफूलाई यही कुरा भन्नुपर्छ । अनि मात्र हाम्रो समाजमा सुधार ल्याउन र यसलाई उन्नत चरणमा उकास्न हामी काम गर्नसक्छौँ । जहाँसम्म साहसको कुरा छ, सबैखाले उत्तेजनाको जोशमा रणभूमिमा दिनदहाडै मृत्यु अस्वीकार गर्नुलाई साहस मान्ने हो भने अँध्यारो एकान्तमा बसेर मृत्यु वरण गर्ने व्यक्तिमा साहसको अभाव हुन्छ भनी कसैगरी पुष्टि गर्न सकिन्न । मृतकलाई अपमान गरेर यस्तो विवादास्पद प्रश्न पन्छाउन मिल्दैन ।
“आत्महत्याको विरोधमा भनिने सबै कुरा घुम्दैफिर्दै एउटै विचारको भूमरीमा फँस्छन् । मानिसहरू आत्महत्याविरूद्ध परमादेश जारी गर्छन्, तर आत्महत्या भइरहनु आफैमा यस्ता नबुझिने परमादेशविरूद्ध खुला चुनौती हो । समाजमाथिको हाम्रो हकबारे व्याख्या नगरी वा त्यो हक लागू नगरी तिनीहरू हामीलाई समाजप्रतिको हाम्रो कर्तव्यबारे अर्ती दिन्छन् । केही सीप नचलेपछि तिनीहरू दुःखपीरसामु झुक्नुभन्दा त्यसलाई मनमनै दबाउनुको ठूलो फाइदाबारे हजारौँपल्ट फलाक्छन् । एक यस्तो फाइदा जसले अवसरको ढोका खोल्नुको साटो निराशा दिन्छ । सारमा, तिनीहरूले आत्महत्यालाई हुतिहारा कर्म अथवा कानुन, समाज र प्रतिष्ठाविरूद्धको अपराधसरह बनाइदिन्छन् ।”
“यतिबिघ्न घिनाइँदा पनि किन मान्छेहरूले आफूलाई मार्छन् ? किनभने निराश मान्छेहरूको रगत यी सबै बाँझा शब्दहरू बुन्ने चिसा मानिसहरूको रगतजस्तै उही चालले धमनीमा बग्दैन । मान्छे मान्छेकै लागि एक रहस्य देखापर्छ, मान्छेलाई दोष दिन सकिन्छ, तर उसलाई चिनिन्न । हामी देख्छौँ, कसरी हलुका ढङ्गले शासन व्यवस्थाहरूले राष्ट्रको रगत र जीवन खेर फाल्छन् । युरोप अहिले यिनै शासन व्यवस्थाको चङ्गुलमा बाँचिरहेको छ । हामी देख्छौँ, कसरी सभ्य न्यायालय आफ्ना असुरक्षित निर्णयहरू थोपर्न जेलखाना, दण्डका सामान र मृत्युका औजारहरूले घेरिएर बस्छ । हामी देख्छौँ, अनगिन्ती मानिसहरू सबैतिर गरिबीको काखमा बेवारिसे छोडिएका छन् र यी समाजबाट बहिष्कृतहरूलाई मर्ममा चोट पर्ने गरी क्रुर निन्दा गरिन्छ । यस्ता निन्दाहरू आफैलाई बचाउने खालका हुन्छन् । सायद तिनीहरूलाई फोहरमैलो थातथलोबाट माथि उठाउने झन्झटबाट जोगिन यस्तो गरिन्छ । जब हामी यी सबै देख्छौँ, हाम्रा संस्कारहरू, हाम्रा पूर्वाग्रहहरू, हाम्रा कानुनहरू र हाम्रा नैतिकताहरूले हाम्रो अस्तित्व नै पाइतलामुनि कुल्चिरहेको बेला कुन मुखले हामीले आत्मगौरव गर्ने, हामी बुझ्न सक्दैनौँ ।”
“सजाय चर्काएर र दोषीको नाम बिटुलिने हल्ला गरेर आत्महत्या रोकथाम गर्न सकिने सोचिएको थियो । मरिसकेको मान्छेको नाम बिटुलो बनाउने हल्ला गरेर के काम ? रोइलो गर्न उनीहरू जीवित रहने होइन । अभागीहरू यसबाट कत्ति पनि चिन्तित हुँदैनन् । आत्महत्याले कसैलाई आरोप लगाउँछ भने बाँचेका मान्छेलाई लगाउँछ, किनभने बाँचेका यत्तिका मान्छेहरूमध्ये कसैले पनि मेरो लागि ऊ बाँचिरहनुपर्छ भनी ठोकुवा गर्न सक्दैन । के यी क्रुर र केटाकेटी उपायहरू निराश सुस्केराहरूमाथि विजयी भए ? मरेपछि आफ्नो लासमाथि संसारले गर्ने भनेको तिरस्कारको मर्न चाहने व्यक्तिलाई के मतलब ? ती तिरस्कारहरूमा उसले त झन् बाँच्नुको लाछीपन मात्र देख्छ । कस्तो समाज हो यो, जहाँ लाखौँलाख मानिसहरूबीच व्यक्तिले चरम एक्लोपन महसुस गर्छ, जहाँ कसैलाई सुइँको नदिई व्यक्ति आफैलाई मार्ने अदम्य कामनाबाट वशिभूत हुन्छ ? यो समाज समाजै होइन, रूसोले भनेझैँ यो त ‘जङ्गली जन्तुहरू बस्ने मरूथल’ हो । प्रहरी प्रशासनमा म बसेको पदमा बस्नेले आत्महत्या हेर्ने जिम्मेवारी लिनुपथ्र्यो । मैले आत्महत्या गर्न उक्साउने कारणहरू थाहा पाउन पाए ती कारणहरूलाई जरैबाट उखेल्न हुन्थ्यो भन्ने सोचेँ । यस विषयमा मैले गहिरो अध्ययन गरेँ ।” मैले समाजको वर्तमान ढाँचामा पूर्ण सुधार गर्ने कुनै पनि प्रयास व्यर्थ जानेछ भन्ने पाएँ ।
“निराशाले गम्भीर, अति उत्साही र संवेदनशील व्यक्तिको मर्ममा गहिरो चोट पर्छ, जसले गर्दा तिनीहरू मर्न खोज्छन् । निराशाका विभिन्न कारणहरूपछाडि मैले रूखा अभिभावक वा अग्रजले आफूमाथि निर्भर व्यक्तिहरूमाथि थोपर्ने दुव्र्यवहार, अन्याय, गुप्त सजायहरू रहेको पत्ता लगाएँ । क्रान्तिले सबै निरङ्कुशताको जरा उखेलेको छैन, अधिकारको दुरूपयोग गर्ने आक्षेप लाग्ने यी स्वेच्छाचारीहरूमध्ये केही दुष्ट परिवारभित्र बाँकी छन् । स्वेच्छाचारीहरूले क्रान्तिमा सङ्कट ल्याएझैँ परिवारमा यी दुष्टहरूले सङ्कट ल्याउँछन् ।”
“सानै उमेरदेखि वा जरैदेखि हामी–हामीमा स्वार्थ र स्वाभावको साइनो जोड्नुपर्छ, व्यक्ति–व्यक्तिबीच चोखो नाता जोड्नुपर्छ । आत्महत्या विश्वव्यापी सामाजिक सङ्घर्षका हजारौँ लक्षणमध्ये एउटा लक्षण मात्र हो । सधैँ नयाँ ताजा काममा फक्रिँदै आएको यो सङ्घर्षबाट धेरै योद्धाहरू पछि हटेका पनि छन् । पीडितमा दरिँदादरिँदा दिक्क भएर वा जल्लादहरूको लर्कोमा आफूलाई ससम्मान उभ्याइने हो कि भनेर तिनीहरूले विद्रोह गर्छन्, सङ्घर्षबाट पछि हट्छन् । उदाहरण चाहिए आधिकारिक दस्तावेजबाट म तिनको नाम लिनेछु ।”
“१८१६ को जुलाई महिनामा एक दर्जीकी छोरीको एउटा कसाइसँग स्वयम्वर भयो । कसाइ चरित्रवान र जवान थियो, मितव्ययी र परिश्रमी थियो । ऊ आफ्नी सुन्दर बेहुलीप्रति समर्पित थियो । बेहुली पनि ऊदेखि हुरूक्कै थिई । केटी लुगा सिउने काम गर्थी । उसलाई चिन्ने सबैले उसलाई सम्मान गर्थे । सासुससुराले पनि उसलाई असाध्यै माया गरे । उसलाई बुहारी बनाउन तिनीहरूले छिटोछिटो बिहेको तारतम्य मिलाए । तिनीहरूले भोज दिए । भोजमा बेहुली रानी बनी र उसको उपासना भयो ।”
“बिहेको दिन आयो । दुवै परिवारले बिहेको तयारी गरे र लेनदेन सक्कियो । रजिस्टार कार्यालय जाने दिनभन्दा ठीक अघिल्लो साँझ केटी र उसका आमाबाबु केटाको घरमा खाना खान जाने भए । एउटा सानो घटनाले त्यसो हुन दिएन । एकजना धनी ग्राहकको कामले गर्दा दर्जी दम्पतीले उछार पाएनन् । उनीहरूले कसाइकहाँ जान नसकेकोमा क्षमा मागेर चिठी पठाए । तर कसाइकी आमा आफै केटी लिन आई । आमाबाबुले छोरीलाई जाने अनुमति दिए ।”
“दुई प्रमुख पाहुना नआए पनि मिठो भोजन भयो । सुनाउन मिल्ने धेरै पारिवारिक चुटकिलाहरू सुनाइयो । तिनीहरूले रक्सी खाए, गीत गाए, भविष्यको बारेमा कुराकानी गरे । असल बिहेको आनन्दबारे चाख दिएर छलफल भयो । राति अबेरसम्म उनीहरू खाना खाने कुर्सीमै बसिरहे । केटाकेटीले एकअर्कालाई बुझ्नुपर्ने ठानेर केटाका आमाबाबु स्वाभाविकरूपमा निदाइदिए । प्रेम र आत्मीयता मनमा घुसेपछि केटाकेटीले एकअर्काका हातहरू खोज्न थाले । बिहे भइसकेको ठानिएको थियो र केटाकेटीबीच लामो समयदेखि आउजाउ चलेको थियो । दुवैले कसैलाई गाली गर्ने ठाउँ दिएका थिएनन् । केटाका आमाबाबुको भावना, पलको आवेग, परस्पर चाहना, अभिभावकले खुकुलो छोडिदिनु, भोजको बेला उत्पन्न हुने अदम्य उमङ्ग, यी सबै मिल्यो । समयले जुराएको मौका र बुद्धि नै रमरम पार्ने वाइनमा मुस्कान थपिएपछि सबथोकले त्यही परिणाम ल्यायो, जुन यस्तो बेला अपेक्षा गरिन्छ । प्रेमीहरू फेरि अँध्यारोमा भेटिए, बत्ती निभिसकेपछि । सबैले नदेखेझैँ गरे, शङ्का नगरेझैँ गरे । तिनको खुसीले साथी मात्र पायो, शत्रु कमाएन ।”
“छोरी भोलिपल्ट मात्र घर फर्की । उसले आफूलाई थोरै मात्र दोषी मानेको प्रमाण ऊ एक्लै घर फर्किनुले दिन्छ । ऊ सरासर आफ्नो कोठामा पसी र आफ्नो सरजाम मिलाई । तर यत्तिकैमा उसका आमाबाबुले ऊ आएको सुइँको पाए । अनि मुर्मुरिँदै तिनीहरूले उसलाई लज्जास्पद शब्दहरूले गाली गर्न थाले, उसको अपमान गरे । छरछिमेकीले सबथोक देखे, ठूलै काण्ड मच्चियो । आफ्नो गोप्यता रिस उठ्नेगरी खुल्दा त्यो नानीको नम्रतामा कस्तो चोट लाग्यो होला, कल्पना गरौँ । के गरौँ, कसो गरौँ भएर केटीले आमाबाबुले नै आफ्नो बदनाम गरेको बताई । उसले आफूले गलत गरेको, भूल गरेको, आज्ञा नमानेको स्वीकार गरी, तर सबथोक फेरि ठाउँमा ल्याउन सकिन्छ पनि भनी । आमाबाबुलाई सम्झाउने उसको सबै प्रयास व्यर्थ भयो । केटीका सबै तर्क र रूवाबासीले दर्जी दम्पतीलाई जित्न सकेनन् ।”
एकदम काँतर र निरूपाय मान्छेहरू आफ्नो निरङ्कुश अभिभावकीय अधिकार प्रयोग गर्न पाएपछि झन् जिद्दी पल्टिन्छन् । पुँजीवादी समाजमा ती अभिभावकहरू सम्पूर्ण दासत्व र परनिर्भरतासामू चाहेर वा नचाहेर आफूलाई गिराइरहेका हुन्छन् । अधिकारको दुरूपयोग सधैँझैँ त्यही दासताको भद्दा क्षतिपूर्ति हुने गर्छ ।
“चियोचर्चो गर्ने आइमाई र लोग्ने मान्छेहरू झगडा भए ठाउँ आए र हल्लाखल्लामा सरिक भए । यो अप्ठ्यारो दृश्यले गर्दा त्यो नानी लाजको मर्नु भई र आफ्नै ज्यान लिने टुङ्गोमा पुगी । आवेगमा तथानाम भनिरहेका छिमेकीहरूको हुल ठेल्दै ऊ हतारहतार सिँढीबाट ओर्ली । उसको आँखा पागलपनले धमिलियो । ऊ हुत्तिँदै सेइन नदीतिर गई र नदीमा हामफाली । माझीहरूले उसलाई पानीबाहिर निकाले । बेहुलीको लुगामा सजिएकी ऊ मरिसकेकी थिई । भन्नु नपर्ला, अघिसम्म केटीलाई जथाभावी सरापेर कुर्लिने छिमेकीहरूले अब उसका आमाबाबुलाई धारे हात लगाउन थाले किनकि यो अनिष्टले तिनको रित्तो आत्मा थरर्र कामेको थियो । मर्ने नानीले घाँटीमा लगाएको सुनको सिक्री लिन केही दिनपछि आमाबाबु प्रहरीकहाँ आए । त्यो सिक्री केटीलाई भावी ससुराले दिएका थिए । त्यससँगै उनीहरूले चाँदीको घडी र अन्य ससाना गरगहनाहरू पनि मागे । ती सबै प्रहरीकहाँ सुरक्षित थिए । तिनको मूर्खता र पाशविकता देखेर मैले तिनलाई हकार्नु हकारेँ । निम्न व्यापारी वर्गमा अहङ्कारग्रस्त पूर्वाग्रह र अनौठो धार्मिकता हुन्छ । भगवानसामू उत्तर दिनुपर्ला भन्दा ती बौलाहाहरूलाई मेरो भनाईले रत्ति पनि छोएन ।”
“लोभले तिनलाई मकहाँ ल्याएको थियो । तिनीहरू छोरीको चिनो लिन आएका थिएनन् । मैले तिनीहरूलाई तिनकै लोभले सजाय दिन्छु भन्ने सोचेँ । तिनले आफ्नी छोरीका गरगहनामा दाबी गरे । मैले दिन अस्वीकार गरेँ । चलनचल्ती अनुसार ती गहनामा दाबी गर्न अफिसमा प्रमाणपत्र बुझाउनुपथ्र्यो । त्यो प्रमाणपत्र मसँग थियो । म यो पदमा बसुञ्जेल तिनको दाबी व्यर्थ थियो र तिनको गालीगलौज सुनेको नसुनै गर्न मलाई रमाइलो लाग्यो ।”
“त्यही वर्ष मेरो अफिसमा मार्टिनिक घर भएको एउटा धनाढ्य परिवारको जवान र आकर्षक युवक आयो । उसले कड्केर आफ्नी भाउजुको लास त्यसको दाबेदार उसकै दाजु वा भाउजुको लोग्नेलाई दिन नहुने बतायो । उनले पानीमा डुबेर आत्महत्या गरेकी थिइन् । यस्तो आत्महत्या सामान्य थियो । उनको लास ग्रेभ दि आर्गेन्तीवीनजिकै लास खोज्ने अधिकारीहरूले फेला पारेका थिए । सबैलाई थाहा छ, महिलामा एकप्रकारको शालीनता हुन्छ । त्यही शालीनताका कारण डुब्ने महिलाले आफ्नो फरियाको एउटा फेरो सावधानीपूर्वक आफ्नो खुट्टामा बाँधेकी थिइन् । यो सामान्य सावधानीले उनले आत्महत्या गरेको कुरा सजिलै प्रमाणित हुन्थ्यो । लास फेला परेपछि त्यसलाई चिहानमा लगियो । उनको सौन्दर्य, उनको बैँस, उनको महँगो पहिरनले यो अनिष्टको कारणबारे अनेक शङ्का उपशङ्का उत्पन्न ग¥यो । उनको सनाखत गर्ने पहिलो व्यक्ति उनकै लोग्ने थियो । लास देखेर ऊ अत्यन्त निराश भयो । उसले यस्तो अनिष्ट होला भनेर चिताएकै थिएन । उसले कम्तीमा मलाई यसै भन्यो । मैले त्यो युवकलाई त्यसअघि देखेको थिइन । मैले उसलाई सबैभन्दा पहिले पत्नीको लास पतिलाई सुम्पिनुपर्ने बताएँ । लोग्नेले आफ्नी अभागी पत्नीका खातिर पहिले नै आकर्षक मार्बलको शिलापत्र बनाएको थियो । युवक चिच्यायो, ‘त्यो राक्षसले उहाँलाई मारेपछि पनि !’ रिसले ऊ कोठामा ओहोरदोहोर गर्दै थियो ।”
अनुवाद : आर. सुरेश
Leave a Reply