भर्खरै :

साहुको निधनमा आइतबार बोडेमा श्रद्धाञ्जली सभा

भक्तपुर, ८ जेठ  । नेपाल मजदुर किसान पार्टीका अग्रज किसान कार्यकर्ता दिलकुमार साहुको निधनमा आइतबार बोडेमा श्रद्धाञ्जली सभा भयो ।
सभामा नेपाल क्रान्तिकारी किसान सङ्घका भक्तपुर जिल्ला अध्यक्ष गोविन्द दुवालले संसारमा जहाँ पनि किसानहरूको मिहेनतले सबैको जीवन चल्ने भए पनि पुँजीवादी व्यवस्थामा किसानहरू अन्याय, अत्याचार र शोषणको शिकार हुने बताउनुभयो ।
कामदार वर्गले शासकीय सत्ता कब्जा नगरेसम्म शोषण विद्यमान रहनेछ, उहाँले भन्नुभयो ।
जिल्ला अध्यक्ष दुवालले सुस्ता अतिक्रमणको आन्दोलन, बाली काट्ने र भर्पाई आन्दोलनमा दिवङ्गत साहुको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।
अग्रज किसान कार्यकर्ताहरूको योगदान, त्याग र तपस्याको कारण भक्तपुरमा अधिकांश किसानहरूले मोहियानी हकको अधिकार पाएको उहाँले बताउनुभयो ।
सभामा नेमकिपाबाट निर्वाचित मथिनपा ८ का वडाध्यक्ष रमेश थापाश्रेष्ठले निरङ्कुश पञ्चायती व्यवस्थामा किसान अगुवाहरूको सक्रियताको कारण राजनैतिक चेतना प्रसार भएको र जनआन्दोलन सफल भएको इतिहास साक्षी रहेको बताउनुभयो ।
नयाँ पुस्ता सामाजिक र आर्थिक परिवर्तनको लागि सक्रिय भएमात्र समाज अगाडि बढ्ने धारणा उहाँले राख्नुभयो ।
दिवङ्गत साहुलगायतले पार्टीलाई जीवन्त बनाउन मुठीदान गरेर साङ्गठनिक गतिविधि अगाडि बढाएको उहाँले स्मरण गर्नुभयो ।
नेक्राकिसङ्घ, बोडे एकाइ समितिका अध्यक्ष रूद्रकुमार साहुखलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा केदार खड्का, सूर्यराम श्रेष्ठ र अम्बर दलीले दिवङ्गत साहुको योगदानबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *