भर्खरै :

भलिबल खेल’ नेपालको राष्ट्रिय खेल घोषणा दिवसको अवसरमा प्रवचन

भक्तपुर, ८ जेठ । “खराब व्यवस्थामा असल शासनको अपेक्षा गर्नु गलत हुन्छ । पुँजीवादी व्यवस्थामा पक्षपात, भेदभाव र भ्रष्टाचारले जरा गाडेको हुन्छ । गरिब जनताका छोराछोरीहरू अवसरबाट वञ्चित हुन्छन् । खेल क्षेत्रको विकासको लागि इमानदारीताको आवश्यकता हुन्छ । तर, पुँजीवादी राज्य व्यवस्थामा त्यसको खडेरी हुन्छ । पुँजीपति र सामन्तहरूले खेलकुद र खेलाडीहरूलाई उपयोगमात्र गर्ने भएकाले राष्ट्रिय गौरव हासिल गर्न खेलकुद क्षेत्र चुकेको हो ।” उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले भलिबल खेल नेपालको राष्ट्रिय खेल घोषणा दिवसको अवसरमा जिल्ला भलिबल सङ्घ भक्तपुरद्वारा आयोजित प्रवचन कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
उहाँले समाजवादी व्यवस्था भएको देशमा खेलकुदलाई मौलिक हकमा नै राखेको हुन्छ भन्नुभयो । क्युवा, प्रजग कोरिया, चीनलगायतका देशहरूले खेलकुदमात्र नभई शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि विशेष ध्यान दिइरहेको उल्लेख गर्दै उहाँले खेल क्षेत्र माथि नउठेसम्म समाज स्वस्थ नहुने बताउनुभयो ।
नेपाल भलिबल सङ्घका उपाध्यक्ष निरोज मास्केले सरकारले भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरे पनि यसको भौतिक पूर्वाधार बनाउन बजेटको बन्दोबस्त नगरेको र दीर्घकालीन योजना नबनाएको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय रेफ्री कमिसनका अध्यक्ष एवं नेपाल भलिबल सङ्घका केन्द्रीय सदस्य गौतमप्रसाद लासिवाले भलिबल खेलको इतिहास र नियमहरू अध्ययन गर्नुपर्ने, भलिबल खेलको विकासको लागि राज्यले उचित प्रशिक्षणको व्यवस्था गर्नुपर्ने, खेललाई शिक्षा र रोजगारीसँग जोड्नुपर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय अवसरहरू सृजना गर्नुपर्ने, सरकार र खेलकुद परिषद्ले गर्दै आएको भेदभाव र पक्षपातको अन्त्य गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ७ का नवनिर्वाचित वडाध्यक्ष उकेश कवांले राष्ट्रिय खेलकुद परिषद्को पक्षपात र भ्रष्टाचारले सोचेअनुरूप भलिबल खेलको विकास नभएको बताउनुभयो ।
भक्तपुर जिल्ला खेलकुद समितिका अध्यक्ष दीपक थापाले भलिबल खेल विकासको लागि आपूmले सबैसँग मिलेर काम गर्ने बताउनुभयो ।
भक्तपुर जिल्ला भलिबल सङ्घका अध्यक्ष विनोदचरण रायको सभापतित्वमा सम्पन्न उक्त प्रवचन कार्यक्रममा सङ्घका सल्लाहकार रवीन्द्र खर्बुजा, वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवाल र वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले खेलकुद विकासका लागि गरेका प्रतिबद्धताहरू पूरा गर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला भलिबल सङ्घका अध्यक्ष विनोदचरण राय, सल्लाहकार रवीन्द्र खर्बुजा र पूर्वभलिबल खेलाडी रत्नसुन्दर श्यामाले नवनिर्वाचित वडाध्यक्ष र वडा सदस्यहरूलाई शुभकामना दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *