भर्खरै :

मेलम्चीको पानी अबको २–३ दिनभित्रै वितरण हुनेछ : केयूकेएलका प्रमुख शाक्य

भक्तपुर, ९ जेठ । अबको २–३ दिनभित्रै मेलम्चीको पानी भक्तपुरमा वितरण हुने भएको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख मिलनकुमार शाक्यले सोमबार भेट गर्दै मेलम्चीको पानी अबको २–३ दिनभित्रै वितरण गरिने गराउनुभयो ।
भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुरमा पानीको सहज वितरणलाई प्राथमिकतामा राख्दै आएको बताउँदै खानेपानीको समस्या समाधान छिट्टै गर्नु आवश्यक भएको बताउनुभयो । उहाँले खानेपानी हाल भक्तपुरको महत्वपूर्ण समस्याको रूपमा रहेको बताउँदै जनतालाई छिटोभन्दा छिटो सहज तरिकाले मेलम्चीको पानी वितरणमा जोड दिनुपर्छ भन्नुभयो ।
भेटमा केयूकेएलका प्रमुख मिलनकुमार शाक्यले जनप्रतिनिधिहरूले खानेपानी व्यवस्थापनमा चासो लिएकोमा धन्यवाद दिँदै अबको २–३ दिनभित्रै कटुञ्जे पानी ट्याङ्कीबाट मेलम्चीको पानी भक्तपुरमा वितरण हुने तयारी भइरहेको बताउनुभयो । उहाँले पानीको स्रोत बढाउने प्रत्यत्न पनि भइरहेको र सुन्दरीजलमा थप १० करोड लिटर थप्ने योजना अघि बढाइरहेको बताउनुभयो ।
उहाँले महादेव खोलामा बाँध बाँधेर भक्तपुरमा पानी वितरण गर्ने योजनालाई अघि बढाउने पहल भइरहेको बताउँदै प्रमुख शाक्यले भक्तपुरवासीलाई सहज पानी उपलब्ध गराउन केयूकेएलले निरन्तर प्रयास जारी राखेको बताउनुभयो ।
भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, केयूकेएल भक्तपुरका प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठ, ई. चेतबहादुर ऐरलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *