भर्खरै :

मध्यपुरमा शपथग्रहण र प्रमाणपत्र वितरण

मध्यपुर, ९ जेठ । बोडेको कृषि विकास तालिम केन्द्रमा वैशाख ३० गते भएको निर्वाचनमा निर्वाचित मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यहरूलाई आज एक समारोहबीच शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम भयो ।
जिल्ला निर्वाचन प्रमुख गोपाल बास्कोटाले मेयर सुरेन्द्र श्रेष्ठलाई शपथग्रहण गराउनुभयो । त्यसपछि नगरप्रमुख सुरेन्द्र श्रेष्ठले उपमेयर विजयकृष्ण श्रेष्ठलगायत वडाका सम्पूर्ण विजयी वडा अध्यक्ष तथा सदस्यहरूलाई टीका, फूलमाला र खादा ओढाई शपथग्रहण गराउनुभयो । वडा नं ८ का निर्वाचित वडा अध्यक्ष रमेश थापाले नेपालभाषामा शपथग्रहण गर्नुभएको थियो ।
कार्यक्रममा विजयी नगर प्रमुख सुरेन्द्र श्रेष्ठले ज्ञात अज्ञात सहिदहरूलाई श्रद्धाञ्जली दिँदै विगतमा गर्न नसकेको बाँकी काम गर्ने र शिक्षा र स्वास्थ्यमा जोड दिने बताउनुभयो । उहाँले मध्यपुर नगर ऐतिहासिक र सांस्कृतिक नगर भएकोले पर्यटकलाई आकर्षित गर्न कला संस्कृतिको उत्थानको निम्ति लागिपर्ने औँल्याउनुभयो ।
निर्वाचन प्रमुख गोपाल बास्कोटाले मध्यपुर नगरले छुट्टै पहिचान हुुने गरी काम गर्नुपर्ने र फोहरमैलाको व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्मा र निर्वाचन अधिकृत मैँया कँडेलले पनि मन्तव्य दिनुभएको थियो ।
सो कार्यक्रममा नपाका प्रशासकीय प्रमुख चुडामणि पन्थीले स्वागत मन्तव्य दिनुभयो । कार्यक्रम निर्वाचन अधिकृतको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published.