भर्खरै :

बाइडेनको सरोगेसी युद्ध

संरा अमेरिकाका रक्षामन्त्री ल्योड अस्टिनले युक्रेनको राजधानी किभ पुगेर रुससँगको लडाइँमा युक्रेनीलाई संरा अमेरिकाले गरेको समर्थनको लक्ष्य रुसको सैनिक शक्ति फेरि पनि कुनै अर्को देशमाथि कारबाही गर्न नसक्ने गरी हानि पु¥याउनुभएको बताएका छन् । उनको यस्तो भनाइले केही साता वा महिनामा टुङ्गिने ठानिएको लडाइँलाई थप समस्याग्रस्त र निकै खतरनाक द्वन्द्वमा बदलेको छ । यस्तो परिस्थितिले यो लडाइँलाई औपचारिकरूपमा रुसविरुद्ध संरा अमेरिकाको ‘अर्काको बच्चा आफ्नो पेटमा बोकेको (सरोगेसी) लडाइँ’ बनाएको छ ।
संरा अमेरिकाका ‘मण्डली’ विशेषतः नाटोका सदस्यहरू यो परिवर्तित रणनीतिको पछि लाग्ने देखिएको छ । मण्डलीमा संरा अमेरिकाको प्रभावको आधारमा उनीहरू संरा अमेरिकाको पछि लाग्ने देखिए पनि यसरी कति लामो समय चल्ने हो, भन्न गा¥हो छ । उनीहरूमध्ये पनि केही जस्तै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ अझै लडाइँ अन्त्य गर्न वार्ताको बाटोमा जानुपर्नेमा जोड दिइरहेका छन् ।
सतहमुनि ‘गर्जन’ सुनिए पनि यो खास परिवर्तनको हानि भने अझै पनि भोग्न बाँकी नै छ ।
संरा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनीहरूलाई कुरुक्षेत्रमा बलिवेदीमा चढाउनका साथै आर्थिक युद्धबाट रुसलाई झुकाउने अथवा उनले ‘सत्ताच्युत गर्न चाहेका’ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पराजित गर्न चाहेका छन् । युक्रेनलाई सहायता गर्न संरा अमेरिकी संसदले ४० अर्ब अमेरिकी डलर विनियोजन गरिसकेको छ । त्यो पैसाको मुख्य हिस्सा सैनिक हातहतियार खरिद गर्न खर्च गरिएको छ । यो खतरनाक कामको लागि यसअघि नै अरबौँ डलर खर्च गरिसकेको छ । रुसमाथिको नाकाबन्दी र युरोपमा रुसी ग्यास र तेल खरिद रोक्दा युरोपको ऊर्जा सुरक्षाले निकै गम्भीर सङ्कट सामना गरिरहेको छ ।

युद्धविमान खसाल्न सक्ने संरा अमेरिका निर्मित अत्याधुनिक राडार गन युक्रेनमा


संरा अमेरिकामा इन्धनको मूल्य निश्चित सीमामा सीमित राख्न बाइडेनले अमेरिकी रणनीतिक सञ्चयको व्यवस्थापन गरिसकेका छन् । तथापि, तेलको मूल्य आकाशिने क्रम भने अझै रोकिएको छैन । ऊर्जाको मूल्यमा निर्भर रहने खाद्य सामग्री र रासायनिक मलको मूल्य निकै बढेको छ । व्यापार डामाडोल भइरहेको छ । अमेरिकी व्यापारिक केन्द्र वाल स्ट्रिटले सन् २००८ को आर्थिक मन्दीयता नदेखिएको ‘बजार सङ्कट’ अनुभव गरिरहेको छ ।
अमेरिकामा बाइडेनप्रतिको जनविश्वास पनि क्रमशः ओरालो लागेको छ । राष्ट्रपति बनेयता उनले राम्रो काम गरिरहेका छन् भनी विश्वास गर्ने मानिसको सङ्ख्या घटिरहेको छ । तर, उनलाई यसको कुनै पर्वाह नहुन सक्छ । किनभने, सम्भवतः उनी अर्को कार्यकालको लागि चुनाव लड्ने छैनन् । उनको राष्ट्रपतिकालको हानि सबैले भोगिरहेका छन् । सबभन्दा बढी दुःख त बाइडेनकै उमेरका अमेरिकीहरूले भोगिरहेका छन् । तर, युक्रेनप्रतिको उनको आसक्तिले बाइडेनलाई यस्ता सबै दुःख नदेख्ने बनाइदिएको छ ।
पक्कै पनि उनले आर्थिक मन्दीको दोष पुटिनको टाउकोमा थोपर्नेछन् । तर, दीर्घकालमा उनको यस्तो दोषारोपणमा विश्वास गर्ने मानिसको सङ्ख्या कम हुँदै जानेछ । बाइडेन राष्ट्रपति हुन् र उनको काम भनेको भएका समस्याको समाधान गर्नु हो । संरा अमेरिकाका बाटाघाटा भत्किरहेको, विद्यालय रुग्न बनिरहेको र जनता दक्षिणपन्थी र वामपन्थी भनी आपसमा लडिरहेको बेला अमेरिकाको अर्बौँ डलर पूर्वी युरोपमा उडिरहेको अमेरिकी जनता हेरिरहेका छन् । युक्रेनी जनताले अहिले युक्रेनको अवस्थाप्रति चासो राखे पनि अवस्था यसरी नै बिग्रे समयान्तरमा त्यस्तो चासो राख्ने छैनन् ।
अमेरिकाको केन्द्रीय बैङ्कले बढ्दो मुद्रास्फीतिलाई ध्यानमा राखी व्याजदर बढाइसकेको छ । यो वर्ष अझै पनि ब्याजदर बढ्ने सङ्केत पनि गरिसकेको छ । तर, घटनाक्रम कसरी विकास हुँदै जानेछ भन्ने कुराको अनुमान वास्तविकताले आनका तान बदल्न सक्छ । सोचेभन्दा अवस्था निकै फरक पनि आउन सक्छ । बढ्दो ब्याजदरले पक्कै पनि लगानी कम हुनेछ र बेरोजगारी बढाउनेछ ।
यसको दीर्घकालीन असर सञ्चित मुद्राको रूपमा अमेरिकी डलरको भूमिकामा पर्नेछ । रुसको डलर सञ्चयमा रोक्का गरेर रुसविरुद्ध जथाभावी कदम चाल्दा डलरमा आधारित प्रणालीमा हानि पु¥याएको छ । संरा अमेरिकाले रुसलाई यस्तो गर्न सक्छ भने संसारको अरू कुनै पनि देशलाई पनि गर्न सक्छ । अनि रुस र अन्य देशहरूले चालेका कदमले उनीहरूलाई आर्थिकरूपमा काम गर्न थप तयार बनाउँदै जानेछ । रुसको ग्यास र तेलको खरिदले वैकल्पिक वित्तीय ढाँचा बन्दै जानेछ जसले डलरलाई ओझेल पार्नेछ ।
सारमा भन्दा यदि संरा अमेरिका र पश्चिमा देशहरूले आफ्नो नीतिमा परिवर्तन नगरे निम्तिने ठुलो आर्थिक धक्का वा दुरावस्थाको आज हामी बल्ल प्रारम्भिक चरणमा छाँै । के युरोपेली जनता आफू कामबाट निकालिएको अवस्थामा आफ्नो छिमेकी देशमाथि आणविक हतियार प्रयोग गर्दा लडाइँको पक्षमा उभिएलान् ? ऊर्जा सङ्कटको कारण चौतर्फी अँध्यारो भएको बेला के उनीहरू युद्धको समर्थन गर्लान् ? मानौँ, शासकहरूले यो आँधीहुरी सम्हाल्न सफल भए पनि के नागरिक आफ्नो कथित अमेरिकी जीवन शैली कायम राख्न सक्लान् ? नाकाबन्दी र युद्धको प्रभाव जनताको जीवनमा क्रमशः पर्न थालेपछि धेरै हिसाबले गर्मी बढ्न थाल्नेछ । त्यस्तो बेला जनता कुनै पनि हालतमा स्वीकार्न नसकिने अवस्थामा परिवर्तनको माग गर्दै सडकमा ओर्लिन सक्छन् ।
(विलियम जोन्स संरा अमेरिकी राष्ट्रपति कार्यालयका लागि पूर्वसंवाददाता र चोङयाङ वित्तीय अध्ययन प्रतिष्ठानका गैरआवासीय प्राध्यापक हुनुहुन्छ ।)
स्रोतः सीजीटीएन
नेपाली अनुवादः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *