भर्खरै :

भनपाले आर्थिक पारदर्शितालाई उच्च महत्व दिँदै आएको छ : प्रमुख प्रजापति

भक्तपुर, १० जेठ । नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति भनपा ५ खँला एकाइ समितिको आयोजनामा मङ्गलबार स्थानीय निर्वाचन २०७९ मा नेमकिपाका उम्मेदवारहरूलाई विजयी गराउन सहयोग गर्नुहुने सम्पूर्ण मतदाता तथा शुभचिन्तकहरूमा धन्यवादज्ञापन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका नवनिर्वाचित प्रमुख सुनिल प्रजापतिले नेमकिपाका जनप्रतिनिधिहरूले जनतालाई दिएको वचनअनुसार इमानदारिताका साथ काम गर्ने बताउनुभयो । खानेपानी र किसानको समस्यामा केन्द्रित रहेर काम सुरु भएको जानकारी गराउँदै उहाँले ख्वप विश्वविद्यालय सञ्चालन गर्न भनपाले निरन्तर प्रयास गरिरहने विश्वास दिलाउनुभयो ।
भनपाले आर्थिक पारदर्शितालाई उच्च महत्व दिएको उल्लेख गर्दै उहाँले नगरपालिकाका हरेक गतिविधिबारे विभिन्न माध्यमबाट जनतालाई जानकारी दिँदै देश र जनताको स्वार्थ नै नेमकिपाको स्वार्थ भएको बताउनुभयो ।
भनपाले जनताको सहयोगमा जनताकै निम्ति काम गर्ने कार्यशैली अपनाएको प्रस्ट पार्दै उहाँले ठेकेदार रकमिसनखोरहरू पोस्ने विकास मोडेलको नेमकिपा विरोधी रहेको बताउनुभयो ।
नेमकिपाको विकास माडेल, आत्मनिर्भरता र स्वाधीनताको मोडेल हो, उहाँले भन्नुभयो ।
कार्यक्रममा नवनिर्वाचित उपप्रमुख रजनी जोशीले शिक्षा, स्वास्थ्य, सरसफाइ र सम्पदा संरक्षणमा विगत ५ वर्षमा गरेको महत्वपूर्ण कार्यको स्मरण गर्दै ख्वप मोडेल देशका अन्य पालिकाहरूको निम्ति प्रेरणाको स्रोत बनेको बताउनुभयो ।
भनपा ५ वडाका नवनिर्वाचित वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले मतदाताहरूलाई धन्यवाद व्यक्त गर्दै जिम्मेवारीअनुसार इमानदारीपूर्वक जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा पूर्ववडाध्यक्ष हिमालयश्वरलाल मूल, सत्यनारायण दिदिया र प्रेमगोपाल कर्माचार्यले पनि बोल्नुभएको थियो । कार्यक्रममा स्थानीय बलराम न्हिसुतु र केपी छुस्याकीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *