भर्खरै :

तथ्याङ्क विश्लेषण तालिम सुरू

भक्तपुर, १३ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वागीश्वरी कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा भएको तथ्याङ्क विश्लेषण (अ टे«निङ अन डाटा एनालाइसिस युजिङ एसपीएसएस) सम्बन्धी तीनदिने तालिमको शुक्रबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले शिक्षा क्षेत्रमा भक्तपुर नपाले गरेको लगानी र योगदानबाट देशभरिकै विद्यार्थीहरूले शिक्षित र दीक्षित हुने अवसर पाएको बताउनुभयो ।
तालिमबाट प्राप्त ज्ञानले विद्यार्थीहरूको सिकाइमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उहाँले आफूले हासिल गरेको ज्ञान अरुलाई सिकाउन सकेमात्र ज्ञानको सार्थक हुने बताउनुभयो ।
भनपामा नेमकिपाका जनप्रतिनिधिहरू पुनः निर्वाचित हुनु भनेको भनपाका जनप्रतिनिधिहरूले गरेको कामप्रति जनताको विश्वासको प्रमाण हो भन्दै प्रमुख प्रजापतिले भनपाले हासिल गरेको सफलता र प्रगति देशकै लागि गौरव गर्नलायक भएको धारणा राख्नुभयो ।
सामुदायिक संस्थाहरूलाई उत्कृष्ट संस्थाको रूपमा विकास गर्न त्यस क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिँदै उहाँले देशलाई आत्मनिर्भर बनाउन राज्यले आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो ।
दलगत स्वार्थले देश कहिल्यै अगाडि नबढ्ने तर्क राख्दै प्रमुख प्रजापतिले सरकारले देशमै रासायनिक मल कारखाना खोल्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले विभिन्न अध्ययन अनुसन्धानबाट प्राप्त तथ्य तथ्याङ्क समाजको हितको निम्ति उपयोग गर्न पाए समाजको प्रगतिमा विशेष टेवा पुग्ने धारणा राख्नुभयो ।
“भनपाको घरदैलो नर्सिङ सेवाले भक्तपुर नगरका जनताको स्वास्थ्य क्षेत्रको वास्तविक अवस्थाको चित्रण भएको छ”, उहाँले भन्नुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रम वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छा, पूर्वशिक्षक ज्ञानसागर प्रजापति, विश्वविद्यालय अनुदान आयोगका तर्फबाट धनकृष्ण प्रजापति र वागीश्वरीका अनुसन्धान विभाग प्रमुख मोहनकृष्ण श्रेष्ठले तालिमको महत्व र औचित्यमाथि प्रस्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *