भर्खरै :

वैदेशिक ऋण र सहायताले देश कहिल्यै आत्मनिर्भर नहुने

भक्तपुर, १४ जेठ । भक्तपुर युवा टीमको आयोजनामा स्थानीय तहको निर्वाचनमा भनपामा निर्वाचित नेमकिपाका उम्मेदवारहरूलाई बधाई तथा शुभकामना कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले हालै सम्पन्न निर्वाचनलाई नेमकिपाले देशभक्त र देशघातीबीचको लडाइँको रूपमा लिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “एमसीसीको समर्थन गर्नेहरू देशघाती र एमसीसीको विरोध गर्नेहरू देशभक्त पार्टी भएको हुँदा भर्खरै सम्पन्न चुनावमा नेमकिपाप्रति जनताको ध्यान आकर्षित भएको हो । जनताले सही राजनीतिक दलको रूपमा नेमकिपालाई चुनेका छन् ।”
वैदेशिक ऋणले देश आत्मनिर्भर नहुने चर्चा गर्दै उहाँले नेपाली जनता आफ्नो खुट्टामा आफै उभिनुपर्नेमा जोड दिनुभयो ।
भनपाका प्रमुख सुनिल प्रजापतिले समाजमा एक–अर्कामा झगडा गराउने मानिसहरू पनि रहेको चर्चा गर्दै व्यक्तिगत र दाजु–भाइको झगडालाई पार्टी र पार्टीको सिद्धान्तसँग जोड्न नमिल्ने प्रस्ट पार्नुभयो ।
उहाँले कला, संस्कृति र सम्पदा संरक्षणमा भनपा देशकै उत्कृष्ट नगरपालिका भएको उल्लेख गर्दै २०७२ सालको भूकम्पपछि वैदेशिक सहयोगविना १ सय २४ वटा सम्पदा जीर्णोद्धार गर्ने कार्य देशकै लागि नमुना भएको विचार व्यक्त गर्नुभयो ।
निःस्वार्थ र इमानदारीपूर्वक देश र जनताको सेवा गर्ने नेमकिपाले जनताले दिएको मत खेर जान नदिने बताउनुभयो ।
भनपाका उपप्रमुख रजनी जोशीले चुनावको बेला प्रस्तुत गरेको प्रतिबद्धतापत्रअनुसार काम गर्न जनप्रतिनिधिहरू सदा तयार रहेको र त्यसलाई पूरा गर्न भक्तपुर युवा टीमले नयाँ युवा तयार गर्नुपर्ने बताउनुभयो ।
उहाँले ख्वप अस्पताललाई सय शय्या बनाउनेतर्फ भनपा प्रयासरत रहेको विचार व्यक्त गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं भनपा वडा नं. ७ का वडा अध्यक्ष उकेश कवांले मतदाताहरूलाई धन्यवाद दिँदै नेमकिपा वैचारिक र सैद्धान्तिकरूपमा अन्य पार्टीभन्दा अगाडि रहेको र जनतालाई सचेत पार्ने उद्देश्यले निर्वाचनलाई उपयोग गरेको बताउनुभयो ।
उहाँले जनताको सेवा गर्न आफू जिम्मेवारीपूर्वक अघि बढ्ने प्रस्ट पार्नुभयो ।
भक्तपुर युवा टीमका अध्यक्ष केशव त्वानाबासुको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थापक अध्यक्ष एवं सल्लाहकार विश्वराम कवां, बलराम गोसाई र रामेश्वर मचामसीले पनि बोल्नुभएको थियो ।
ताथलीमा धन्यवादज्ञापन कार्यक्रम
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा चाँगु नगरपालिका वडा नं ९ बाट नेमकिपाका उम्मेदवारहरूलाई मतदान गर्ने मतदातालाई धन्यवाद दिन शनिबार एक कार्यक्रमको आयोजना गरिएको छ ।
नेमकिपा, चानपा वडा नं ९ एकाइ समितिको आयोजनामा भएको कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले स्थानीय तहको निर्वाचन एमसीसी सम्झौता समर्थन गरेका देशघाती र एमसीसी सम्झौताविरोधी देशभक्तहरूबीच सम्पन्न भएको थियो भन्नुभयो ।
उहाँले नेमकिपाको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले पार्टीको घोषणापत्रअनुसार आर्थिक अनुशासन कायम गरी इमानदारीपूर्वक देश र जनताको सेवा गर्नुहुने आशा व्यक्त गर्नुभयो ।
स्थानीय तहको निर्वाचनमा नेमकिपाविरुद्ध एमसीसी समर्थकहरूको सिद्धान्तहीन र अनैतिक गठबन्धन गरिएको भन्दै उहाँले त्यस्तो गठबन्धनले नेपालमा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको प्रभाव बढ्ने र अन्ततः नेपालको सार्वभौमिकता नै गुम्ने स्थिति आउने छ भन्नुभयो ।
देशभक्त नेपाली जनताले सरकारमा गएका दलहरूकै कारण महँगी, भ्रष्टाचार बढेको र देशको अर्थतन्त्र नै सङ्कटमा पर्ने स्थिति आएको बुझ्नु जरुरी भएको उहाँको भनाइ थियो ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले स्थानीय तहको निर्वाचनमा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध गर्ने नेमकिपालाई पराजित गर्ने जालसाजी हुनु आश्चर्यको विषय नभएको भनाइ राख्नुभयो ।
उहाँले नेमकिपाले कुनै प्रतिक्रियावादी पार्टीको सहारामा निर्वाचन जित्ने आशा गर्र्दैन भन्दै यस पटकको निर्वाचनमा विभिन्न दलीय गठबन्धन गरेर प्रजातन्त्रको उपहास गरिएको तर्क गर्नुभयो ।
नेमकिपा, भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोँजूले नेमकिपाले कुनै पनि प्रतिक्रियावादी पार्टीसँग असैद्धान्तिक गठबन्धन नगरेको भन्दै निर्वाचनलाई जनताको राजनीतिक तथा वर्गीय चेतना उठाउने आन्दोलनको रूपमा लिइएको भनाइ राख्नुभयो ।
नेमकिपा, चानपा वडा नं ९ का अध्यक्ष नारायणभक्त न्हेम्हाफुकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपाको तर्फबाट चानपाको मेयर पदका उम्मेदवार केशवप्रसाद तिमिल्सिना, वडाध्यक्षमा निर्वाचित गणेश त्यात, शिक्षक रवीन्द्र न्हेम्हाफुकीलगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा कलाकार तथा गायकहरूले गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *