भर्खरै :

आज नवदुर्गा देवगणको देवाली पूजा (स्वं छा)

ऐतिहासिक भक्तपुर नगरको मल्लकालीन प्रसिद्ध नवदुर्गा भवानीको यस वर्षको देवाली पूजा (स्वं छा) अर्थात् देवगणको कुल देवता पूजा मानव समाजको रीतितिथि, परिकारको भोजन, आवश्यक पोषण, सरसफाइ तथा प्रकृतिसँग सामना गर्ने आधार शक्ति प्राप्त हुने सन्देशको रूपमा गर्ने परम्परा छ ।
यस वर्षको देवाली पूजा जेठ १५ गते चतुर्दशी आइतबारको दिन श्री नवदुर्गा मन्दिर गछेँस्थित बिहानदेखि विभिन्न फूलको तोलन (स्वं खचा) बनाएर रङ्गिचङ्गी फूलको माला र देवाली पूजाका भोज सामग्रीहरू तयार गरी सम्पन्न गरिन्छ ।
देवगणहरूको विभिन्न परिकारहरूको भोजनपश्चात् देवालीको दिन घरमा सफा गरी मूल पूजा तयार गरी प्रत्येक एक देवगणले बलिको रूपमा भाले चढाइ नित्य कर्मको साधना गर्दै पूजा शुभारम्भ हुने गर्छ ।
बिहानदेखि देवताका मुकुन्डोहरू चोकमा विराजमान गरिन्छ । भैरव, महाकाली, बाराही, कुमारी, धोम्हा पोमी, दातिम्हा पोमी, झिम्हा पोमी गणेश, ब्रह्मायणी, महेश्वरी, भद्रकाली उपस्थित हुने सो पूजामा मन्दिरको पुजारी (नकीं) बाट मूलपूजा चढाई भेडा बलि दिइने चलन छ । भैरव, काली, बाराही तीन जना देवगणले सेतो जामा (घाजी नं) लगाएर मन्दिरको चोकमा देवताहरूलाई फूलको मालाले झिलीमिली गर्दै क्रमशः पूजा गरिन्छ । किंवदन्तिअनुसार कुनै समयमा वर्षा नहुँदा नवदुर्गाको देवाली पूजाको दिनदेखि मनसुन वर्षा हुने जनविश्वास रहेको छ ।
देवाली पूजा गर्ने परम्परा प्राचीनकालदेखि नवदुर्गा देवगणबाट सुरू भएको देखिन्छ । सोही दिन देवगणका सम्पूर्ण परिवार हर्ष उल्लासका साथ प्रसादग्रहण गरिन्छ । पूजामा अण्डा, बारा, चतामारी, जाँड, रक्सी, समयबजी, मासुको परिकार, गोजा, अछेता, फूलको माला, फलफुल, सतुङको डल्लो सम्पूर्ण परिकार चढाउनुपर्छ । यस वर्षको नवदुर्गा देवगणको जात्रा अन्तिम चरणमा आठ दिनपश्चात् दरबार क्षेत्र इछु टोलमा माछा मार्ने गरिन्छ । त्यसको चार दिनपछि तलेजु मूलचोकमा सिं जा नकेगु (अन्तिम भोज) कालरात्रीको दिन नाच सम्पन्न गरिन्छ । सोही लगत्तै भलभल अस्तिको दिनमा भक्तपुर नगर परिक्रमा गरी वडा नम्बर ९ स्थित ब्रह्मायणी पीठमा न्याखिं बाजाको साथमा मुकुन्दो जलाउने (जले विज्याकेगु) गरी यस वर्षको नवदुर्गाको जात्रा सम्पन्न गरिन्छ । आशा छ, सबैले भक्तपुर नगरपालिकाको सांस्कृतिक धरोहरलाई जोगाई राख्नेछन् ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *