भर्खरै :

प्रम देउवालाई सांसद सुवालको प्रश्न “रोपाइँ सुरु भयो मल किन छैन ?”

काठमाडौँ, १४ जेठ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रश्न गर्नुभयो, “रोपाई सुरू भइसके पनि किसानहरूलाई मल उपलब्ध नभएको बारे गठबन्धन सरकारका नेताहरूलाई कसरी थाहा भएन ?”
सांसद सुवालले प्रम देउवालाई अर्को प्रश्न गर्नुभयो, “नेपाल सरकारको आ.व. २०७९÷८० को नीति तथा कार्यक्रममा रसायनिक मल कारखाना खोल्ने किन उल्लेख भएन ?”
“देशव्यापी विरोध भएको एमसीसी सम्झौता अमेरिकी साम्राज्यवादको हिन्द–प्रशान्त क्षेत्रमा सैन्य मोर्चा तथा लगानी भएको र अनुदान नभएको यथार्थबारे प्रम देउवा र गठबन्धन सरकारका दलहरूलाई कसरी थाहा भएन ?” सांसद सुवालले प्रम देउवासँग थप प्रश्न गर्नुभयो ।
भक्तपुर नगरपालिकाले १०–१५ लाख रूपियाँमा एमबीबीएस कक्षा सञ्चालन गर्ने ख्वप विश्वविद्यालयको विधेयक संसद्बाट पारित नगरिएकोमा प्रम देउवासँग जिज्ञासा राख्दै सांसद सुवालले युक्रेन सङ्कटको दोषी नाटो सैन्य सङ्गठन नै भएको बारे गठबन्धन सरकारका दलहरूलाई थाहा नभएकोमा पनि जिज्ञासा राख्नुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते संसद्मा वाचन गर्नुभएको नीति तथा कार्यक्रममा सांसदहरूले राख्नुभएको संशोधन र प्रश्नमा प्रम देउवाले जवाफ दिनुभएपछि सांसदहरूले प्रम देउवासँग थप माग गर्नुभएको थियो ।
भारतीय प्रधानमन्त्री लुम्बिनीमा ध्यान गर्न आउनुभएको हो कि, अरुण –४ कब्जा गर्न आएको हो, असमान सन्धि–सम्झौतालगायत देशघाती एमसीसी सम्झौता खारेज गर्नुपर्ने र मल कारखाना खोल्नुपर्ने सांसद सुुवालको संशोधन र जिज्ञासाबारे प्रम देउवाले जवाफ नदिएको हुँदा सांसद सुवालले नीति तथा कार्यक्रममाथिको आफ्नो संशोधन फिर्ता गर्नुभएन । सांसद सुवालले नीति तथा कार्यक्रममा जेठ ११ गते संशोधन दर्ता गराई १२ गतेको प्रतिनिधिसभा बैठकमा पेश गर्नुभएको थियो ।
नीति तथा कार्यक्रम बैठक निर्णयार्थ प्रस्तुत हुँदा सांसद सुवालले विपक्षमा मत दिनुभयो ।
संङ्घीय संसद्को जेठ १५ गते अपराह्न ४ बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आ.व. २०७९÷८० को बजेट पेश गर्न कार्य सूची राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *