भर्खरै :

सत्तासीन दलका नेताहरू गतिला नहुँदा देशमा समस्या

स्थानीय तहको निर्वाचनको बेला नाता हेरी पद दिने, जनताको सेवा गर्ने कार्यकर्तालाई भन्दा चन्दादाता या चन्दा बढी दिने र सिद्धान्त र विचारको कुनै मतलब नभएका आपराधिक व्यक्तिहरूलाई उम्मेदवार बनाएको कुराले व्यापक चर्चा पाएको थियो । आफ्नै दलका नेता तथा कार्यकताहरूको यस्ता टिप्पणीले राजनीतिक दलहरू सिद्धान्त र विचारको आधारमा नचलेको स्पष्ट हुन्छ । तर, देशका सबै राजनीतिक दलहरूलाई एउटै दृष्टिले हेर्नु ठीक हुँदैन । त्यस्ता दलका नेता, मन्त्रीहरूलाई आलोचना गरेर खबरदारी गर्ने सिद्धान्त र विचारको राजनीति गर्ने दलका नेता तथा कार्यकर्ताहरू पनि छन् । उनीहरूले आफ्नो जिम्मेवारी पूरा गरेका छन् । नाता हेरेर, चन्दादाता सम्झेर र आपराधिक व्यक्तिहरूलाई उम्मेदवारी दिलाउने दलका नेताहरूको स्वार्थ देश र जनताको सेवा गर्ने होइन भन्ने थाहा हुन्छ ।
मागेर देश बनाउने ‘खाते’ नेता र मन्त्रीहरूको चर्तिकलादेखि देशभक्त नागरिकहरू वाक्क दिक्क छन् । विदेशीको अगाडि उठबस गर्नेहरू, सिद्धान्त र विचार भुली परराष्ट्र नीति उल्लङ्घन गर्ने सत्तासीन दलका नेताहरू विदेशीसामु किन झुकिरहेका छन् भन्ने प्रश्न पनि उठिरहेको छ । सत्तासीन दलका नेताहरू गतिला नभएकै कारण देशमा सङ्कट आउने गरेको राजनीतिक विश्लेषकहरूको टिप्पणी गलत होइन । भागबन्डा नमिलेको आधारमा पार्टी फुटाउनसमेत पछि नपर्ने दलका नेताहरूको राजनीतिक उचाइ घटिरहेको प्रसङ्ग पनि यतिबेला राजनीतिक वृत्तमा चर्चाको विषय बनिरहेको छ ।
नेपाल–भारत सीमा खुला भएको यो देशमा विदेशी नागरिकहरूलाई सजिलैसँग वंशजको आधारमा नेपाली नागरिकता दिँदा भोलि त्यही नेपाली बनेका नागरिकले सरकारलाई तर्साउने र थर्काउनेमात्र होइन देशकै अस्तित्वमा समेत समस्या खडा गर्ने सम्भावनातर्फ देशका सबै दलहरू सचेत हुनुपर्छ । ठेलागाडादेखि स–साना व्यवसायीहरूसँग कर उठाउने सत्तासीन दलका नेता र मन्त्रीहरू ठूल्ठूला उद्योगी, व्यावसायीसँग कर उठाउन किन डराउँछन् भन्ने प्रश्न पनि बेलाबखत उठिरहेकै हो । सत्तासीन दलका नेता र मन्त्रीहरू साँच्चै जनताको सेवक बनेर देश निर्माणमा जुटे देशको मुहार फेर्न समय नलाग्ने राजनीतिक विश्लेषक र अर्थविद्हरूको भनाइ समय सान्दर्भिक नै लाग्छ । के नेकाको नेतृत्वमा बनेको गठबन्धन सरकार यस दिशातर्फ अघि बढ्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *