भर्खरै :

अब पार्टीहरू सचिनुपर्ने बेला आएको छ

स्थानीय तहको निर्वाचनको परिणाम सबै घोषणा भइसकेको छ । जनप्रतिनिधिहरूले पद बहालीसँगै कामको थालनी पनि गरिसकेका छन् । कतिले जनताले भोग्न परेका समस्याको समाधानको निम्ति राम्रो कामको थालनी गरेर आफ्नो क्षमता पनि देखाइसकेका छन् ।
निर्वाचन आयोगका अनुसार यस पटकको स्थानीय निर्वाचनमा ३८५ स्थानमा स्वतन्त्र उम्मेदवारहरू जितेका छन् । जसमध्ये १३ पालिका प्रमुख र १३६ वडाप्रमुख छन् भने १३२ वडा सदस्य जितेका छन् । महानगर र उपमहानगरको प्रमुखमा पनि स्वतन्त्र उम्मेदवार जित्नु दलहरूको निम्ति चुनौती भएको राजनीतिक विश्लेषकहरूले भन्ने गरेका छन् ।
निर्वाचनको परिणामअनुसार यस पटकको निर्वाचनमा गठबन्धनका पाँच दलहरूमध्ये काङ्ग्रेस, एमाले र माओवादीकै बढी प्रतिस्पर्धा भएको देखियो । प्रतिस्पर्धामा ती ठूला दलहरूले आफ्नो राजनीतिक कार्यकर्तामात्र होइन जो उठाए पनि जितिने भन्दै निर्माण व्यवसायी, उद्योगपति, चन्दादाता, भ्रष्टाचारी, कमिसनखोर, आर्थिक र आपराधिक मुद्दा खेपिएकाहरूलाई समेत उम्मेदवार बनाएका थिए । तर, धेरै ठाउँमा त्यस्ता उम्मेदवारहरूलाई पाखा लगाउँदै समाजमा परिचय बनाएका समाजसेवी र समाजमा भिजेका राजनीतिक कार्यकर्तालाई नै रोजेको पाइयो ।
निर्वाचनमा हारजित स्वाभाविक छ । तर, गणतान्त्रिक संविधान बनेपछिको पहिलो निर्वाचन २०७४ सालको स्थानीय निर्वाचनमा पहिलो दल बनेको एमाले यस पटकको निर्वाचनमा दोस्रो शक्तिमा झर्नुप¥यो । आफ्नो पकड क्षेत्रको रूपमा रहेको कतिपय ठाउँहरू पनि एमालेले गुमाउनुपरेको छ । कम्युनिस्ट भनाउँदा ठूला पार्टीले कम्युनिस्ट सिद्धान्त र व्यवहारअनुसार काम गरेका भए अनि समाजवादी विचार र दर्शन जनतासामु पु¥याउन सकेका भए यस स्थितिमा पुग्नुपर्ने थिएन । त्यस्तै माओवादीको पनि स्थिति त्यही छ । जनयुद्ध गरेर आएको माओवादी २०६४ सालको आम निर्वाचनमा पहिलो शक्ति बनेको थियो । जुन विचार र भावनाले जनयुद्ध गरेको थियो त्यसअनुरूप काम नहुँदा जनताले तेस्रो शक्तिमा रहन बाध्य पारे । उनीहरूले मात्र होइन यस स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसले पनि आफ्नो पकड क्षेत्र गुमाउनुपरेको छ । एक दलको पकड क्षेत्र अर्को दलले कब्जा जमाउन पुगेको छ भने कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवार जितेर सबै राजनीतिक दलहरूलाई चुनौती दिएका छन् ।
यसपटकको स्थानीय निर्वाचनमा ठूला दलका कतिपय शीर्षस्थ नेताहरूलाई जनताले चुनौती दिएका छन् । पार्टीका शीर्षस्थ नेताहरू बसोबास रहेको ठाउँमा पनि तिनका उम्मेदवारहरूले लज्जास्पद हार व्येहोर्नुपरेको छ । जनताको चाहना र भावनालाई यी ठूला दलहरूले हालसम्म लत्याउँदै आएका छन् । विभिन्न आम निर्वाचनमा आवश्यक सजाय दिइरहँदा पनि जनताको शक्तिलाई अभैm चुनौतीको रूपमा लिएन भने अथवा सचिनुपर्ने सचिएन भने त्यसको परिणाम राम्रो नहुने विश्लेषकहरूले भन्न थालेका छन् । राजनीतिक पार्टीका कतिपय नेताहरूले समेत भन्न थालेका छन्, “अब पार्टीहरू सच्चिनुपर्ने बेला आएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *