भर्खरै :

“जनप्रतिनिधि र कर्मचारीहरूले एम्बुलेन्स र दमकलसरह निरन्तर देश र जनताको सेवामा समर्पित भएर काम गर्नुपर्छ”

भक्तपुर, १७ जेठ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा नेपाल नगरपालिका एशोसिसन भक्तपुर नगरपालिका समितिको आयोजनामा स्थानीय तह सदस्य निर्वाचन २०७९ मा भक्तपुर नगरपालिकामा निर्वाचित हुनुभएका जनप्रतिनिधिहरूलाई बधाई, शुभकामना र कर्मचारीहरूलाई मार्गनिर्देशन कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि सांसद सुवालले निर्वाचन साधनमात्र हो, जनप्रतिनिधिको साध्य भनेको उद्देश्य जनताको निःस्वार्थ सेवा हो भन्दै नेपाल मजदुर किसान पार्टीले निर्वाचन अगाडि प्रस्तुत गरेको घोषणापत्रलाई कार्यान्वयन गर्न जनप्रतिनिधि र कर्मचारीहरू प्रतिबद्ध भई लाग्नुपर्ने तथा नयाँ जनप्रतिनिधिहरू अझ बढी सजग भई कार्यक्षेत्रमा खटिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सरकारले प्रस्तुत गरेको बजेट उत्पादनमुखी नभएको बताउँदै बजेटमा महानगर र उपमहानगरपालिकाहरूमा तीन महिनाभित्र ग्यास सिलिन्डरलाई विस्थापित गरी विद्युत् प्रयोग गर्ने उल्लेख भएको तर नगरपालिकाहरूको हकमा स्पष्ट उल्लेख नभए तापनि भक्तपुर नगरपालिकाले विद्युत्को प्रयोग गर्नु उपयुक्त हुने विचार व्यक्त गर्नुभयो ।
स्वदेशी उत्पादनको कमीले गर्दा देशको अर्थतन्त्र कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै सांसद सुवालले विदेशी मुद्रा सञ्चिति पर्याप्त नहुँदा देश परनिर्भरतातर्पm धकेलिँदै गएको बताउनुभयो ।
सरकारले लागू गरेको हप्तामा दुई दिने बिदा अव्यावहारिक भएको उहाँले बताउनुभयो ।
जनप्रतिनिधि र कर्मचारीहरूले एम्बुलेन्स र दमकलसरह निरन्तर देश र जनताको सेवामा समर्पित भएर कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भनपाका प्रमुख सुनिल प्रजापतिले समाजवादी देशहरूमा जनताको सेवालाई प्रमुख प्राथमिकतामा राखी विज्ञापन गरिरहेको तथा पुँजीवादी देशहरूमा समेत सङ्घीय र प्रदेश सांसदहरू कुनै न कुनै पेशामा संलग्न रही देशको अर्थतन्त्रलाई योगदान गरिरहने उल्लेख गर्नुभयो ।
उहाँले जनप्रतिनिधि र कर्मचारीहरूले एकतावद्ध भई निःस्वार्थरूपमा देश र जनताको सेवामा समर्पित भई लाग्नुपर्ने बताउनुभयो ।
सरकारको बजेट वक्तव्यमा उत्पादनमूलक क्षेत्रमा बजेट विनियाजन नभएको उल्लेख गर्दै कर्मचारीहरूको तलब वृद्धि गर्नुभन्दा बढ्दो महँगीलाई नियन्त्रण गरी व्यापक जनतालाई राहत दिनुपर्नेमा जोड दिनुभयो ।
नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका देशकै उत्कृष्ट स्थानीय तहको रूपमा विकास भइरहेको अवस्थामा नगरलाई सर्वोकृष्ट बनाउन जनप्रतिनिधिहरूलाई कर्मचारीहरूको साथ र सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले समाजवादी विचारलाई आत्मसात गर्दै भक्तपुर नगरपालिकालाई ज्ञान विज्ञानको केन्द्र बनाउने लक्ष्यका साथ अगाडि बढिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा भनपाका उपप्रमुख रजनी जोशीले जनप्रतिनिधि र कर्मचारीहरू एक सिक्काका दुई पाटासरह बनी सहकार्य गर्नुपर्नेमा जोड दिँदै कर्मचारीहरूको मर्यादित र सभ्य भई जनतालाई निःस्वार्थ सेवा दिई आगामी कार्यकालमा भक्तपुर नपालाई देशकै सर्वोकृष्ट नगर बनाउन सफल हुने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले नेमकिपाले जनप्रतिनिधिहरूले जनताबीच गरेको प्रतिबद्धता र जनताको भावनाअनुरुप कार्य गर्न कर्मचारीहरूको साथ र सहयोग अपरिहार्य भएको बताउँदै भक्तपुरलाई सभ्य, सुसंस्कृत र उदाहरणीय बनाउन कर्मचारीहरू अझ बढी उत्तरदायी र कर्तव्यनिष्ठ भई जनताको सेवा गर्न अग्रसर रहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले कर्मचारी सङ्गठनको आवश्यकताबारे चर्चा गर्दै जनप्रतिनिधि र कर्मचारीहरूले सदैव क्रियाशील भई सकारात्मक रुपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सभापति एवं नेपाल नगरपालिका कर्मचारी एशोसियसन भनपा एकाइ समितिका अध्यक्ष गौतमप्रसाद लासिवाले जनप्रतिनिधि र कर्मचारीहरूको सहकार्य र समन्वय अपरिहार्य रहेको चर्चा गर्दै निर्वाचनमा व्यक्त गरेका प्रतिबद्धताहरूलाई अक्षरशः पालना गर्नका लागि कर्मचारीहरू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
उहाँले कोभिडको विषम परिस्थितिमा भक्तपुर नगरपालिकाले गरेको कार्यलाई प्रदेश सरकारले विपद् व्यवस्थापनको कार्यका लागि पदकद्वारा विभुषित गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
एशोसियसनका अध्यक्ष लासिवाद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई खादा र फूलको गुच्छाले स्वागत गर्नुभएको उक्त कार्यक्रममा सहसचिव विकास प्रजापति र सदस्य दिलकृष्ण माकले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *