भर्खरै :

भक्तपुर नगरकार्यपालिका सदस्य निर्विरोध

भक्तपुर, १७ जेठ । भक्तपुर नगरपालिकाको नगर कार्यपालिकाको पाँच महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । भक्तपुर नगरपालिकामा निर्वाचित महिला वडा सदस्यहरूमध्येबाट कार्यपालिकामा निर्वाचित हुने पाँच महिला सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।
नगरपालिकाको नगरकार्यपालिका सदस्यमा वडा नं ३ की सुनिता अवाल (प्रजापति), वडा नं ५ की कृष्णप्यारी भुजु, वडा नं ६ की रोशनमैँया सुवाल, वडा नं ७ की रञ्जना त्वाती र वडा नं ९ की छोरीमँैया सुजखु (प्रजापति) निर्विरोध निर्वाचित हुनुभएको हो । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले क्लिन स्विप गरेको थियो । यसैबीच नवनिर्वाचित नगर कार्यपालिका सदस्यहरूले आजै शपथग्रहण गरेका छन् ।
सो अवसरमा नगर प्रमुख सुनिल प्रजापतिले नवनिर्वाचित कार्यपालिका सदस्यहरूलाई बधाई तथा शुभकामना दिँदै कार्यपालिकाले पूर्णता पाएसँगै छिट्टै कार्यविभाजन गरी हरेक क्षेत्रमा विशेष ढङ्गले काम गर्ने बताउनुभयो ।
नगरपालिकाले भक्तपुर नगर र नगरवासीहरूको सन्तुलित विकास र आर्थिक जीवनस्तर उकास्ने ढङ्गले काम गर्दै आइरहेको बताउँदै उहाँले जनतासँग एकाकर भई काम गर्न सके जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न सफल हुनेमा विश्वास व्यक्त गर्नुभयो । उपप्रमुख रजनी जोशीले निर्वाचनको समयमा जनतामाझ गरेको प्रतिबद्धता एकएक गरी पूरा गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दै आगामी कार्यकाल अझ सफल र उपलब्धिमूलक हुने ढङ्गले काम अगाडि बढाउने बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं ७ का वडाध्यक्ष उकेश कवां र वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *