भर्खरै :

बनेपाका नगर प्रमुख शाक्यलाई विभिन्न दलको सुझाव

बनेपा, १९ जेठ । बनेपा नगरपालिकाले स्थानीय तह निर्वाचन २०७९ मा बनेपा नगरपालिकामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्रबाट प्रमुख र उपप्रमुख उम्मेदवारहरूसँग सबैको प्रतिबद्धतालाई समेटेर जान छलफल अघि बढाएको छ ।
राजनीतिक दल र स्वतन्त्रबाट प्रमुख, उपप्रमुख उम्मेदवारले चुनावमा आफूले व्यक्त गरेका प्रतिबद्धताहरूलाई बनेपा नगरपालिकाको समग्र हितमा समाहित गरेर अगाडि बढाउन नव–निर्वाचित प्रमुख शान्तिरत्न शाक्यलाई सुझाव दिनुभएको छ ।
स्थानीय तह निर्वाचन २०७९ मा बनेपा नगरपालिकाका लागि नेपाल मजदुर किसान पार्टीको प्रतिबद्धतापत्र नेमकिपाका उपप्रमुख उम्मेदवार कान्ति अवाले वाचन गरेर नगर प्रमुख शाक्यलाई हस्तान्तरण गर्नुभएको थियो ।
नेमकिपा बनेपाको प्रतिबद्धतापत्रमा बनेपा नगरलाई व्यापारिक, सांस्कृतिक, पर्यटकीय र कृषि क्षेत्रको रूपमा विकास गर्ने, रासायनिक मल, उन्नत बिउबिजन समयमा उपलब्ध गर्न पहल गर्ने, सिंचाइ र राजकुलोको उचित व्यवस्थापन गर्ने, फोहरमैला व्यवस्थापनमा भइरहेको चुनौतीलाई नीतिगत योजना बनाएर दिगो व्यवस्थापन गर्ने, रोजगारी बढाउन घरेलु तथा कुटिर उद्योगलाई प्रोत्साहित गर्ने, प्रगतिशील कर प्रणाली लागु गर्ने, ज्येष्ठ नागरिकको लागि आदर निकेतनको बन्दोबस्त गर्ने, वडाहरूमा शिशु स्याहार केन्द्र स्थापना गर्ने, घरदैलो नर्सिङ सेवाको व्यवस्था गर्नेलगायतका २१ वटा बुँदा उल्लेख गरिएको छ ।
छलफलमा सहभागी राजनीतिक दल र स्वतन्त्र प्रमुख, उपप्रमुखको सुझावलाई प्राथमिकतामा राखेर बनेपा नगरको विकास निर्माणलाई सबैको साझा कार्यक्रमको रूपमा अघि बढाउने विचार नव–निर्वाचित प्रमुख शान्तिरत्न शाक्य र उपप्रमुख विमला सापकोटा दाहालले व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *