कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, २१ जेठ । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगरपालिका वडा नं. ६ समन्वय समिति तथा निर्वाचन परिचालन समितिको आयोजनामा मतदाताहरूलाई धन्यावादज्ञापन कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले स्थानीय तहको निर्वाचनमा भक्तपुर नगरका जनताले देशघाती एमसीसी सम्झौताका पक्षधर पार्टीहरूलाई परास्त गर्न देशभक्त पार्टी नेमकिपालाई अत्यधिक मतले विजयी गराएको बताउनुभयो ।
एमसीसी सम्झौताका प्रावधानहरू नेपालको सार्वभौमिकताको विरुद्धमात्र नभई एसियामा अशान्ति फैलाउने योजना रहेको उहाँले स्पष्ट पार्नुभयो ।
कुनै पनि देशको विकास त्यही देशका राजनीतिक दल र जनताको निर्णयमा भरपर्ने बताउँदै सचिव सुवालले शासक दलहरूमा विदेशी एकाधिकार पुँजीको सेवा गर्ने दलाल प्रवृत्ति रहेसम्म देश आत्मनिर्भर नहुने धारणा राख्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “सरकारको नीति तथा कार्यक्रममा कुनै नौलो कुरा छैन । देशलाई आत्मनिर्भर बनाउने बजेटको दाबी हावादारी गफमात्र हो ।”

उहाँले भारतलाई सस्तोमा बिजुली बेच्नुभन्दा नेपाली उद्योग र नेपालीको भान्छामा उपयोग गर्न दिने नीति सरकारले ल्याउनुपर्नेतर्फ जोड दिनुभयो । नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले निःस्वार्थरूपमा जनताको सेवा गर्ने नेमकिपाको उद्देश्यअनुसार नै काम गरिरहेको बताउनुभयो ।
भक्तपुरलाई कलात्मक, सम्पदा र पर्यटनको केन्द्र तथा शिक्षा र स्वास्थ्यको गन्तव्य बनाउने उद्देश्यअनुरूप कार्य गरिरहेको जानकारी गराउँदै प्रमुख प्रजापतिले नगर र नगरवासीलाई स्वस्थ राख्न भनपाले २५ शय्याको अस्पताल सञ्चालनमा ल्याइसकेको र त्यसलाई छिट्टै १०० शय्याको अस्पतालमा विकास गर्न लागिपरेको जानकारी दिनुभयो ।
नगरवासीहरूको खानेपानीको समस्या समाधान गर्न सम्बन्धित निकायहरूसित भनपा निरन्तर सम्पर्क र समन्वयमा रहेको र आफ्नै पहलमा पनि केही साना आयोजना सञ्चालन गरेको उहाँले बताउनुभयो ।
भनपाले सञ्चालन गरिरहेका कलेजहरूमा प्रतिवर्ष ३ करोड बराबरको छात्रवृत्ति जेहेनदार विद्यार्थीहरूलाई प्रदान गरिरहेको उहाँले प्रस्ट पार्नुभयो ।
भनपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिका मूर्त र अमुर्त कला तथा सम्पदाको केन्द्र र जीवित सङ्ग्रहालय रहेको चर्चा गर्दै पुर्खाले सिर्जेर गएका कला, संस्कृति र सीपलाई जोगाईराख्न भनपाले काम गरिरहेको छ भन्नुभयो ।
उहाँले भक्तपुरको पहिचान भनेकै यहाँको कला–संस्कृति र मौलिक जीवनशैली भएको बताउँदै नेमकिपाले त्यसलाई बचाउन खोज्दा भक्तपुरलाई चिडियाखाना बनाउन खोज्यो भनी आरोप लगाउने विपक्षीहरू अज्ञानी र मूर्ख रहेको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ६ का वडाध्यक्ष डा. हरिराम सुवालले नेमकिपाको निर्वाचन घोषणापत्र, नीति र निर्देशनअनुसार निःस्वार्थरूपमा काम गरेको हुनाले नै पाँच वर्षपछि जनताले अझै अत्यधिक मतका साथ आफूहरूलाई विजयी गराएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि जनताको राय–सल्लाहबमोजिम जनताको अधिकतम सेवा नै निर्वाचित जनप्रतिनिधिहरूको लक्ष्य हुने बताउनुभयो ।
गणेशराम थुसाको सभापतित्वमा सम्पन्न कार्यक्रममा समितिका जगनाथ सुजखू र रमेश सितिखूले पनि बोल्नुभएको थियो ।
Leave a Reply