जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
२०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भयो । धादिङस्थित बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्ष पदमा मैले पनि नेपाल मजदुर किसान पार्टीको तर्फबाट उम्मेदवारी मनोनयन दर्ता गराएको थिएँ । जिल्लामा यो नै स्थानीय तहको निर्वाचनमा पार्टीको चुनाव चिह्न मादल लिएर प्रचारप्रसार भएको पहिलो पटक हुनसक्छ । निर्वाचनमा मादल चिह्न पनि छभन्दा सानो पार्टी, भक्तपुरभन्दा बाहिर निस्कन नसकेको, निर्वाचनमा मात्र आउनेजस्ता कुराहरू विपक्षी दलका कार्यकर्ता र समर्थकहरूबाट आउनु स्वाभाविक थियो । निर्वाचनमा उम्मेदवारी दिँदै गर्दा एक दुई भोट भएनि खोस्न आयो, नेमकिपा पनि आयो भनेर एकछत्र राज गर्दै आएका दलहरू तर्सेको र सतर्क भएको भने बुझ्न सकिन्थ्यो ।
लामो समयपछि निर्वाचनमा भाग लिन पाएका र गाउँका नयाँ पुस्तामा निर्वाचनको अर्थ र महत्वको बुझाइ फरक पर्न पुगेको गाउँका सचेत मानिसहरूबाट बुझ्न पाइयो । निर्वाचन भनेको स्वच्छ र भयरहित वातावरणमा आफूले इच्छाएको राजनीतिक दल र उम्मेदवारलाई मत दिने हो भन्ने कुरा निकै परको कुरा भइसकेको छ । निर्वाचनको बेला सामान्य मानिसहरूमा भोजभतेर खान नपाई भोट हाल्न नै नजानेजस्ता खराब बानी व्यवहारहरूको हाबी भएको पाइयो । पार्टीको सिद्धान्त र विचारभन्दा पनि तत्काल भोज खान पाए, केही पैसा हातमा परेमात्र भोट हाल्न जाने जनतामा चुनावप्रति गलत बुझाइ र संस्कारको छाप बसाइएको छ । गाउँमा विशेषतः माओवादी, एमालेको गलत आचरणले गर्दा निर्वाचन निर्वाचनजस्तो नभएको हो । २०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनमा डर त्रासको वातावरण सिर्जना गरेर एकै व्यक्तिले ४०÷५० पटकसम्म भोट हालेको आम जनताको भोगाइ थियो । त्यस्तै प्रवृत्ति यो पटकको निर्वाचनमा पनि दोहोरिएको हो । ६४ सालमा माओवादीको दम्भ र घमण्डले निर्वाचन आचारसंहिताप्रति नै प्रश्न उठाएको थियो । माओवादीको यस्तो गलत प्रवृत्ति अहिलेसम्म दोहोरिरहेको छ । शासक दलहरू आफ्नो पकड र शक्ति भएको क्षेत्रहरूमा मतदान केन्द्रलाई प्रभावमा पार्न गलत काम कुराहरू गर्न प्रतिस्पर्धामा नै उत्रन्छन् । निर्वाचन आचारसंहितामा एकै घरको परिवारमा मतपत्रमा छाप हान्न शारीरिकरूपमा कमजोर व्यक्तिले इच्छाएको कुनै एक व्यक्तिले दुई पटकसम्म मत हाल्न पाउने भनिए तापनि यो निर्वाचनमा २०÷२५ पटकसम्म मत हालेर खुलमखुला बोल्दै हिँडेको जनताले चाल पाए ।
माओवादी हाबी भएको यस पालिकामा वडा प्रमुख, पालिकाको अध्यक्ष बनेका नेताहरू स्वयं नै पार्टीको सिद्धान्त र नीतिप्रति स्पष्ट नभएको उनीहरूकै बोली व्यवहारले प्रस्ट हुन्थ्यो । जनतामाझ तिनका उम्मेदवार, कार्यकर्ता र समर्थकलगायतले माओवादीको राष्ट्रिय राजनीतिभन्दा पनि व्यक्तिलाई अघि सारेर मत मागिएको देख्न र बुझ्न सकिन्थ्यो । गाउँपालिकामा गठबन्धन भनिए तापनि वडामा भने उनीहरूले छुट्टाछुट्टै निर्वाचनमा भाग लिएका थिए । वडास्तरमा गठबन्धनको भागबन्डा मिल्न सकेको थिएन ।
वडा नम्बर ७ को मतदान केन्द्र चरौँदी बजारस्थित बुद्धि विकास पूर्व प्राथमिक विद्यालयमा रहेको थियो । मतदान केन्द्र नजिकै एउटा खाजा पसलमा मतदाताहरूलाई खानपिनको बन्दोबस्त भएको देखिन्थ्यो । भोट हालेकाले खाजा खाने र भोट हाल्न कुर्दै गर्दा पनि बीचबीचमा खाजाको बन्दोबस्त माओवादी र काङ्ग्रेस पार्टीले गरेका रहेछन् । मतदाताहरू पनि नेताहरूलाई भेटेर खाजा खानु पर्यो भनी घुर्की लगाउने, पैसा माग्नेजस्ता गलत दृश्यहरू देखिन्थे । भोट हाली गाउँ फर्कने मतदातालाई चरौदी बजारबाट ५÷७ मिनेटको हिँडाइपछि उनीहरूले धुषाटार गाउँमा मासु–भातको बन्दोबस्त गरेका थिए । मोटर बाटो पुगेका सबै ठाउँहरूमा माओवादीले नै ल्याउने र पु¥याउने गाडीको व्यवस्था गरेको देख्दा निर्वाचन सम्पन्न गर्ने ठेक्का नै माओवादीले लिएको जो कसैलाई लाग्न सक्थ्यो । अरू बेला १५ मिनेटको बाटो हिँडेर बजार धाउने मानिसहरू निर्वाचनको समय मासु, भात र रक्सी खाएर गाडीमा नै आवतजावत गर्न पाउँदा माओवादीहरूले जिन्दगीभरको पिरब्यथा भुलाएको भान पारेका थिए । निर्वाचनताकाको सेवा, बन्दोबस्तको प्रलोभनले गर्दा सोझा जनताले महत्वपूर्ण मत गुमाउन परिरहेको छ । निर्वाचनमा भोट खसालेका मानिसहरू भोलिपल्टै कामको खोजीमा विदेशिन बाध्य छन् । निर्वाचनको नतिजा आउँदाको अन्तिम पटक विजय ¥याली र भोज हुन्छ । बाँकी अरू दिन त ती सोझा जनता महँगीले पिल्सनु पर्ने नै हो । बिरामी पर्दा औषधि उपचार गर्न पैसा नभएर छटपटाउनु पर्ने नै हो । सरकारी विद्यालयमा पनि अनेकन बहानामा शुल्क तिर्नु नै पर्छ । एउटा गीतको भावअनुसार भोट हाल्न प्रदेशबाट दाजु आउँदै छ रे भनेझैँ भ्रष्टाचार र दलाल पार्टीहरूलाई जिताउन तिनै टाठाबाठा टोपलिने केही मानिसहरू लागिपरेका देखिन्छन् । चुनावताका हुने भोजभतेर र पैसाको लोभलालचमा सोझा जनता फस्नु स्वाभाविक हुन्छ । तर, गाउँका केही टाठाबाठा भनाउँदाहरू प्रलोभनमा पर्नाले समाजलाई कङ्गाल बनाउन र भ्रष्ट दल र नेतालाई गलत काम गर्न प्रशय मिलेको छ । सानोतिनो लोभलालचमा परेर समाजलाई नै गलत बाटोमा पु¥याउन जनता स्वयंबाट भूल भएको कुरा निर्वाचनबाट हामी सिक्न र बुझ्न सक्दछौँ ।
Leave a Reply