भर्खरै :

दलको सिद्धान्त, विचार र अडान खोइ ?

ठूलो दल नै सच्चाइको मापदण्ड होइन भन्ने कुरा हरेक पटक भएको निर्वाचनले छर्लङ्ग पारेको छ । यसको दृष्टान्त गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन पनि हो । सत्तासीन र ठूला दलका नेताहरू धेरै अभिमानी भए, अवसरवादी भए, अरूलाई गन्दै नगन्ने सामन्ती शैलीको भए । देशमा गणतन्त्र स्थापना भए पनि नेताहरूमा सामन्तीपारा हटेको छैन । अहिले एमाले, एकीकृत समाजवादी र जसपाभित्र नेताहरूबीच देखिएको अन्तरकलह या कचिङ्गल दलको सैद्धान्तिक विवाद होइन, जुँगाको लडाइँ हो । यो सामन्ती चरित्रको दृष्टान्त हो । गणतन्त्रको यो क्षणसम्म पनि प्रजातन्त्रवादी र कम्युनिस्ट भनिने नेताहरूमा कसरी बाँकी रह्यो सामन्ती चरित्र ¤
सत्तासीन र ठूला दलका ती नेताहरू आफ्नै दललाई मात्र सही ठान्छन्, आफूले गरिरहेको सबै काम र बोलेका कुरामात्र ठीक ठान्छन् । तिनीहरू कहिले पनि भोलिको सोच्दैनन् या दुरदर्शी छैनन् । अहिले, आजै तातो कुरा फलाकेर जनताको मत तान्न खोज्छन्, भ्रमको जाल फाल्छन् । एमाले र माओवादी नेताहरूले स्थानीय तहको निर्वाचनमा त्यस्तै सतही कुरा प्रवाह गरे । अभिव्यक्ति सुन्दा ती नेताहरू देश र जनताप्रति समर्पित भएनन्, जिम्मेवार बनेनन् । ती नेताहरू दूरदर्शी देखिएनन् । कुन नेताले कहाँ के बोल्न मिल्छ र मिल्दैन, सोच्दै सोच्दैनन् । स्थानीय तहको निर्वाचनमा मनपरी बोलेका ती नेताहरूको अनुहार अहिले कालोनीलो देखिएको छ या चमकदार अनुहार देखिँदैन । यो प्रायश्चितको सङ्केत हो । आश्चर्यको कुरा त आफ्ना नेताहरूलाई मनपरी नबोल्न सल्लाह सुझाव दिनु त कता हो कता उल्टो प्रशंसा गरिएको हुन्छ । स्थानीय तहको निर्वाचनमा हिजो ती नेताहरूले के बोले ? आज परिणाम के भयो ? के आत्मसमीक्षा गर्नु आवश्यक छैन ?
विगतमा व्यक्त उनीहरूको विचार फेरि हामीले सुन्यौँ भने सत्तासीन र ठूला दलका नेताहरू सफल नभएको प्रस्ट हुन्छ । तिनीहरूमा कुनै नैतिक मूल्य र मान्यता देखिँदैन, कुनै जिम्मेवारबोध देखिँदैन । देश र जनताप्रति समर्पित र जिम्मेवारीबोध नभएका नेताहरूले देशलाई कसरी समृद्ध बनाउँछन्, जनतालाई कसरी सुखी बनाउँछन् ? यो आम जनताले मनन गर्नुपर्ने विषय हो । कुनै दल निर्वाचनमा हा¥यो या पहिलेको भन्दा कम सीट जित्यो भनेर के पार्टी एकताको कुरा गर्न सुहाउँछ ? पार्टी एकता भनेको बढी सीट जित्न र सरकारमा जान हो ? सरकारको नेतृत्व गर्न हो ? के दलको सिद्धान्त र विचार देखाउने दाँत हो ? के यो जनता झुक्याउने पासा हो ? के सरकारमा नगइकन या सरकारको नेतृत्व नगरिकन पार्टी चल्दैन ? के पद, पैसा र शक्तिको राजनीतिले सही दिशा निर्देश गर्छ ?
नेपाल मजदुर किसान पार्टी स्थापनाकालदेखि अहिलेसम्म कुनै पनि सरकारमा सामेल भएन । सरकारमा गएर सेवा सुविधा पाउनको निम्ति राजनीति गरेन । सरकारमा नगए पनि, सत्तासीन र ठूला दलका नेताहरूले अनेक जालझेल र षड्यन्त्र गरे पनि, दमन गरे पनि, दबाब दिए पनि लोभलालच देखाएर कार्यकर्ता ताने पनि, बिगारे पनि विचलित नभइकन विचार र सिद्धान्तमा अडिग भइरह्यो, दलको उद्देश्य पूरा गर्न निरन्तर लागिरह्यो । यो नेमकिपाको शुद्ध राजनीति हो । यो नेमकिपाको देश र जनताप्रति प्रतिबद्ध भएर गरिरहेको राजनीति हो । नेमकिपाको जस्तो यस्तो अडान अरू कुनै सत्तासीन र ठूला दलका नेताहरूमा देखिएन । सरकारमा नगइकन, सिद्धान्त र विचारमा अडिग रहेर कुनै लोभलालच नदेखाई अन्य दलले राजनीति गरेको भए यिनीहरूको स्थिति के भयो होला ? अनुमान गर्न गा¥हो छैन । यसैले, नेमकिपा नेपालको कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनमा प्रकाशस्तम्भ भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *