भर्खरै :

ख्वप विश्वविद्यालयको माग भनपाले निरन्तर गरिरहने

भक्तपुर, २८ जेठ । वागीश्वरी कलेज र वागीश्वरी मा.वि.को संयुक्त आयोजनामा स्थानीय तहको निर्वाचन २०७९ मा भक्तपुर नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई एवं शुभकामना कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष नगर प्रमुख सुनिल प्रजापति, कलेज सभाका सदस्यहरू उपमेयर रजनी जोशी, वडाध्यक्षहरू योगेन्द्रमान बिजुक्छेँ (वडा नं. ५), कृष्णप्रसाद कोजू (वडा नं. ८), लक्ष्मीप्रसाद ह्यौँमिखा (वडा नं. १०), वडा सदस्य जितेन्द्र मुनंकर्मी (वडा नं. १०) का साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्व (वडा नं. ९), विद्यालय व्यवस्थापन समितिका सदस्यहरू छोरीमैया सुजखु र इन्द्रबहादुर प्याठसहित वडा सदस्यहरू ज्ञानबहादुर मानन्धर (वडा नं. ९), रामसुन्दर बासी (वडा नं. ८), सुमित्रा बोहजू (वडा नं. ८) र कृष्णलाल किसी (वडा नं. ८) लाई आमन्त्रण गरिएको थियो ।
निर्वाचन घोषणापत्रअनुसार आफूहरूले इमानदारीपूर्वक काम गर्ने वचनबद्धता प्रकट गर्दै नगर प्रमुख प्रजापतिले ख्वप विश्वविद्यालयको मागलाई निरन्तरता दिँदै जाने बताउनुभयो । ख्वप विश्वविद्यालयबारे उहाँले अगाडि भन्नुभयो, “अब त ख्वप विश्वविद्यालयको माग हामीले मात्र नभई अन्य पार्टीका सदस्यहरूले पनि गर्न थालेका छन् । विश्वविद्यालय नदिए पनि नयाँ नयाँ विषयका कलेजहरू खोल्ने अभियान रोक्ने छैन ।”
सामुदायिक शैक्षिक संस्थालाई प्राथमिकता दिनुपर्ने सरकारले मा.वि. तह कक्षा ११ र १२ मा पर्याप्त दरबन्दी नदिएको चर्चा गर्दै उहाँले १५ सत्न्दा बढी विद्यार्थीहरू भएको विद्यालयलाई सरकारले केवल ३ जना दरबन्दी दिनु कति न्यायोचित छ भनी प्रश्न गर्नुभयो ।
विद्यार्थीलाई विद्यालय तहदेखि नै आत्मनिर्भरताको पाठ सिकाउनुपर्नेमा जोड दिँदै उहाँले देश विकास नहुनुको मूल कारण नै परनिर्भर भएर हो भन्नुभयो ।
देशभक्ति र राष्ट्रियता नाराभन्दा पनि देशको सेवा गर्ने भावना र व्यवहार हो भन्दै उहाँले जो जुन धरातलमा रहेको छ उसले उही धरातलको सेवामा समर्पित हुनुपर्छ भन्नुभयो ।
उपमेयर रजनी जोशीले भक्तपुरको शैक्षिक प्रगतिमा वागीश्वरीले पु¥याएको योगदानको प्रशंसा गर्दै आफूसँगै नजिकका विद्यालयहरूलाई पनि सहयोग गर्ने उदाहरण अन्यत्र पाइँदैन भन्नुभयो ।
अबका दिनमा यहाँका शिक्षक र विद्यार्थीहरूलाई अनुसन्धानमा लगाउनुपर्ने सुझाव दिँदै उहाँले विद्यार्थीलाई सैद्धान्तिक, व्यवहारिक र वैज्ञानिक संस्कारले युक्त गर्नुपर्नेमा विशेष जोड दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नयाँ पुस्तामा विदेश पलायन हुने भुत चढिरहेको छ, त्यसलाई हामी सबैले रोक्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले विगतदेखि वर्तमानसम्मको भक्तपुर नगरको निर्वाचन परिणामले यहाँको मतदाताको परिपक्वता देखाएको धारणा राख्दै थोरैमात्र मत बदर भएको सङ्ख्याले पनि राजनीतिक परिपक्वता देखाएको पुष्टि हुन्छ भन्नुभयो ।
कार्यक्रममा वडाध्यक्षहरू योगेन्द्रमान बिजुक्छेँ, कृष्णप्रसाद कोजू र लक्ष्मीप्रसाद ह्यौँमिखाले पनि बोल्नुभएको थियो । मा.वि.का प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको उक्त कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठले जनप्रतिनिधिहरूलाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा नेक्राशिसङ्घ वागीश्वरी माविका अध्यक्ष विश्वेश्वर मानन्धरले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *