भर्खरै :

स्थानीय सरकार सञ्चालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम

हेटौँडा, ३० जेठ । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना र प्रदेश सरकारको सहकार्यमा बाग्मती प्रदेशअन्तर्गतका स्थानीय तहका नवनिर्वाचित प्रमुख, अध्यक्ष र उपप्रमुख, उपाध्यक्षहरूका लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन सोमबार हेटौँडामा सम्पन्न भयो ।
कार्यक्रममा मुख्यमन्त्री पाण्डेले नेपालको संविधानले स्थानीय तहलाई कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकारसहित अधिकार सम्पन्न बनाएको बताउँदै अधिकारसम्पन्न स्थानीय तहको विकासको गति पनि तीव्र हुने बताउनुभयो ।
सङ्घ, प्रदेश र स्थानीय सरकार जनमुखी हुनुपर्ने र स्थानीय सरकार सबै जनताप्रति समान व्यवहार गर्नुपर्ने बताउँदै मुख्यमन्त्री पाण्डेले सबै स्थानीय तहले फोहरलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
बाग्मती प्रदेशअन्तर्गतका १३ वटा अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध गराउने योजना रहेको उल्लेख गर्दै उहाँले यस प्रदेशले कृषि औजार कारखाना र रसायनिक मल कारखाना खोल्न आवश्यक तयारी गरिरहेको बताउनुभयो ।
कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री शालिकराम जमकट्टेलले स्थानीय तहहरूले आफ्नो ठाउँको फोहर व्यवस्थापन आफ्नै पालिकामा गर्नुपर्ने बताउनुभयो । उहाँले काठमाडौँको फोहर धादिङमा कुनै पनि हालतमा राख्न नदिने उल्लेख गर्दै त्यहाँका जनताले फोहर फिर्ता पठाउनेसमेत बताउनुभयो ।
काठमाडाँैका मेयर उपमेयर उपस्थित उक्त कार्यक्रममा मन्त्री जमरकट्टेलले पटक–पटक फोहर फाल्न नदिने बताउनुभएको थियो ।
बजेट निर्माण गर्दा विकासमा पछाडि परेका वडा र समुदायलाई प्राथमिकतामा राखी आफ्नो कार्ययोजना बनाउनुपर्छ उहाँले भन्नुभयो ।
त्यस्तै प्रदेश स्वास्थ्य मन्त्री नीमा लामाले स्थानीय सरकार तीन तहको सरकारमध्ये नजिकको सरकार भएको बताउँदै स्थानीय तहहरूले नमुना कार्यहरू सञ्चालन गरी आफ्नो स्थानीय तहलाई सबल बनाउन जोड दिनुपर्ने बताउनुभयो ।
राष्ट्रिय सभाका सदस्य डा. खीमलाल देवकोटाले स्थानीय तहहरूले सन्तुलित र समृद्ध अर्थतन्त्र निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव मुकुन्द निरौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारी, प्रदेश सचिव स्किम श्रेष्ठ र यामलाल भुसालले पनि स्थानीय सरकार सञ्चालनका विशेषताहरूबारे आआफ्नो धारणा व्यक्त गर्नुभयो ।
उद्घाटन कार्यक्रमपश्चात् भएको समूहगत अभिमुखीकरण कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले बजेट निर्माणको क्रममा विभिन्न समितिहरू गठन गरी आफ्ना कार्ययोजना अगाडि सारेको बताउँदै भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सरसफाइलाई प्राथमिकतामा राखी काम गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुर नपाले वार्षिक बजेटलाई यथार्थपरक र जनचाहनाअनुरुप बनाउन बजेट निर्माणको लागि नगरवासीहरूबाट आवश्यक राय सुझाव सङ्कलन गर्दै आइरहेको बताउँदै नगरपालिकाको गतिविधिमा जनताको प्रत्यक्ष संलग्नता र साथ रहेकै कारण भक्तपुरले आफ्नो पहिचान कायम गर्न सफल भएको बताउनुभयो ।
उहाँले उपभोक्ता समितिबाट सम्पदालगायतका विभिन्न विकास निर्माणको काम गरिरहेको बताउँदै संरचनाप्रतिको स्थानीय जनताको अपनत्व, रोजगारी र निर्माणमा गुणस्तरीय भएको हुँदा निरन्तर उपभोक्तालाई नै नगरपालिकाले जोड दिइआएको बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रमको पहिलो बैठकमा स्थानीय तहको काम, कर्तव्य र अधिकार तथा सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध विषयमा कृष्णहरि बास्कोटा, स्थानीय तहको राजस्व अधिकार तथा अन्तर सरकारी वित्तीय हस्तान्तरण विषयमा यमलाल भुसाल, स्थानीय तहमा सार्वजनिक खरिद व्यवस्था विषयमा सुरेश प्रधान र बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी मापदण्ड विषयमा पद्मकान्त मैनालीले प्रशिक्षण दिनुभयो ।
अभिमुखीकरण कार्यक्रममा बाग्मती प्रदेशअन्तर्गत १३ वटाका ११९ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *