भर्खरै :

कम्युनिस्टहरू वर्गसङ्घर्षलाई विश्वास गर्छन्

देशमा आमूल परिवर्तन कम्युनिस्ट पार्टीले मात्र गर्छ । तर, त्यो परिवर्तन शान्तिपूर्ण तरिकाले सम्भव छैन । पुँजीवादी व्यवस्थामा हुने निर्वाचनले आमूल परिवर्तन गर्नसक्दैन । पुँजीवादी व्यवस्थामा सरकारको नेतृत्व फेरबदल भइरहन्छ । सरकारको नेतृत्व फेर्नु नै आमूल परिवर्तन होइन । आमूल परिवर्तन वर्गसङ्घर्षले मात्र सम्भव हुन्छ । सरकारको हेरफेरले आमूल परिवर्तन सम्भव छैन भन्ने कुरा बहुदलीय व्यवस्था स्थापना भएपछि गठित सरकारको गतिविधिबाट थाहा हुन्छ । ठूला दलका सबैले पालैपालो सरकारको नेतृत्व गरिसकेका छन् । तर, यहाँ कुनै मौलिक परिवर्तन भएन । कम्युनिस्ट भनिने दलले पालैपालो सरकारको नेतृत्व गरे पनि परिवर्तन भएन ।
आफूलाई कम्युनिस्ट भनिने दलको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद रहेको छ । माक्र्सवाद लेनिनवादको सिद्धान्त र विचार मान्ने दलहरूले तद्नु्सार राजनीति गरेका छैनन् । बरू माक्र्सवादी र लेनिनवादी सिद्धान्तविपरीत पुँजीवादी राजनीति गरिरहेका छन् । तिनै दलका नेताहरूले कहिले राजावादी, कहिले सङ्कीर्णवादी त कहिले प्रजातन्त्रवादी दलहरूसँग मिलेर राजनीति गरिरहेका छन् । कम्युनिस्टहरू वर्गसङ्घर्षलाई विश्वास गर्छन् । वर्गसङ्घर्षविना आमूल परिवर्तन सम्भव छैन भन्ने मान्यता कम्युनिस्टहरूको हो । तर एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी भनिने दलहरूले वर्गसङ्घर्ष या कम्युनिस्टको सिद्धान्त र विचारअनुसार राजनीति गरिरहेका छैनन् । ती दलका नेताहरूको कार्यशैली हेर्दा उनीहरूले कम्युनिस्ट विचार छोडेका छन् । विस्तारवादी भारत र साम्राज्यवादी देशको उठबसमा चल्ने, उनीहरूको अगाडि झुक्ने दलका कुनै पनि दल र दलका नेताहरू सच्चा कम्युनिस्ट हुनेछैनन् । यसबारे आम जनता सचेत हुनुपर्छ ।
नेपाल मजदुर किसान पार्टीको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारा हो । जनताको प्रजातन्त्र र समाजवाद हुँदै साम्यवादमा पुग्ने नेमकिपाको लक्ष्य हो । सङ्घर्षका विभिन्न रूप र माध्यमबाट जनताको प्रजातन्त्र स्थापना गर्नु पार्टीको तत्कालको उद्देश्य हो भने जनताको सांस्कृतिक, राजनीतिक, सैद्धान्तिक र वैचारिक स्तर उठाई समाजवाद स्थापना गर्नु दीर्घकालीन उद्देश्य हो । जनताको प्रजातन्त्र हुँदै समाजवाद स्थापना गर्न नेमकिपाले समाजवादी प्रचार अभियान चलाइरहेको छ । पार्टीले नेता, सदस्य, समर्थक, शुभेच्छुक तथा सर्वसाधारण जनतालाई सिद्धान्तनिष्ठ र कर्तव्यपरायण नागरिक बनाउन राजनीतिक कक्षा सञ्चालन गरिरहेको छ । निःस्वार्थरूपले जनताको सेवा गर्ने एक असल देशभक्त, अनुशासित र क्रान्तिकारी नागरिक तयार गर्ने काममा पार्टी लागिरहेको छ । देशका मजदुर, किसान, महिला, युवा, विद्यार्थी, शिक्षक, प्राध्यापक, कर्मचारी, बुद्धिजीवी, उद्योगी, व्यापारी, पत्रकार, पेशाकर्मी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, अवकाश प्राप्त कर्मचारी तथा श्रमजीवी वर्गको हक–हितको निम्ति नेमकिपा सङ्घर्षरत छ । तिनीहरूलाई आन्दोलन, सङ्घर्ष, गोष्ठी, भेला, अन्तरक्रिया र प्रशिक्षणमार्फत नेमकिपाले राजनीतिक प्रशिक्षण चालु राखेको छ ।
हरेक दलले आफ्नो सिद्धान्त र विचार जनतासमक्ष पु¥याउनुपर्छ, जनतासमक्ष बताउनुपर्छ । नेमकिपाले त्यो जिम्मेवारी पूरा गरिरहेको छ । तर, अरू दलले सिद्धान्त र विचारलाई पोको पारेर थन्क्याएको छ । आफूलाई कम्युनिस्ट भनिने दलका नेताहरूले पुँजीवाद, विस्तारवाद, साम्राज्यवाद, अन्ध–राष्ट्रवाद, संशोधनवाद, अराजकतावाद, फासीवाद र वामपन्थी तथा दक्षिणपन्थी अवसरवादको विरोध गरेका छैनन्, आत्मसमर्पण रसङ्कीर्णतावादको विरोध गरेका छैनन् । उनीहरूले पुँजीवादको विरोध गरी समाजवादी प्रचार अभियान पनि गरेका छैनन् । कम्युनिस्ट पार्टीले गर्नुपर्ने काम, कर्तव्य पूरा नगरी, कम्युनिस्टको सिद्धान्त र विचारअनुसार काम नगरी कम्युनिस्टको उद्देश्य कसरी पूरा हुन्छ ? परिवर्तनको निम्ति कुनै पूर्वाधार तयार नगरी जहिल्यै सत्तामुखी राजनीति गरेर, भागबन्डाको राजनीति गरेर जुनसुकै दलसँग गठजोड गरेर कहाँ हुन्छ ? निर्वाचन जितेर ठूलो दल हुँदैमा सरकारको नेतृत्व गर्दैमा कसरी आमूल परिवर्तन हुन्छ ? कसरी बहुमत जनताको हितमा ऐन कानुन बन्छ ? एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले पटक–पटक सरकारको नेतृत्व गरेर पनि केही मौलिक परिवर्तन गर्नसकेनन् । पुँजीवादी बन्दोबस्तको निर्वाचनले सरकार परिवर्तन गर्नसक्छ तर व्यवस्था बदल्न सक्दैन या मौलिक परिवर्तन गर्नसक्दैन । यो अहिलेसम्मको घटनाक्रमले देखाएको यथार्थ हो ।
हरेक कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूमा सर्वहारा अन्तर्राष्ट्रवादी भावना हुनुपर्छ । शोषित–पीडित जनताको न्यायपूर्ण सङ्घर्षमा साथ दिनुपर्छ । कुनै पनि विदेशी शक्ति राष्ट्रको आक्रमण, नाकाबन्दी, थिचोमिचो, दमन र अतिक्रमणको विरोध कम्युनिस्ट पार्टीले गर्नुपर्छ । विस्तारवाद र साम्राज्यवादको विरोध गर्नुपर्छ । विदेशी थिचोमिचो, हस्तक्षेप र शोषणको विरोधमा सङ्घर्ष गर्नुपर्छ । विभिन्न जनजाति, भाषाभाषी, दुर्गम र सीमान्तकृत शोषित–पीडित कामदार वर्गका जनतालाई सचेत र सङ्गठित गर्नुपर्छ । देशको सार्वभौमिकता, भूअखण्डता र स्वतन्त्रता जोगाउने सङ्घर्षमा भाग लिनुपर्छ । नेमकिपाले यी सबै सङ्घर्ष र आन्दोलनमा भाग लिइरहेको छ ।
नेमकिपाले माक्र्सवाद र लेनिनवादको नाउँमा त्यसको विरोध गर्ने र बङ्ग्याउने कार्यको आलोचना गरिरहेको छ । कम्युनिस्टको नाउँमा कम्युनिस्टकै सिद्धान्त र विचार बन्धक राखेर जुनसुकै दलसँग मिलेर सरकारमा जाने प्रवृत्तिको विरोध नेमकिपाले गरिरहेको छ । कम्युनिस्टले कम्युनिस्ट पार्टी फुटाउने, आफ्नै मित्रशक्ति हराउन वर्गशत्रुसँग मिल्ने दलको निन्दा पनि नेमकिपाले गरिरहेको छ । नेमकिपाले कहिले पनि जातीय र साम्प्रदायिक राजनीति गरेन । नेमकिपा पार्टी अनुशासनमा जोड दिन्छ । आ–आफ्नो पदअनुसारको आचरण गर्न र जिम्मेवारी नभुल्न नेमकिपा खबरदारी गर्छ । नेमकिपा, भ्रष्टाचार, कमिसन र कालाबजारीको विरोध गर्छ । हरेकले नेता तथा कार्यकर्ताले आ–आफ्नो क्षेत्रमा इमानदारीपूर्वक र निःस्वार्थपूर्वक काम गर्न नेमकिपा आग्रह गर्छ । यही कारण नेमकिपाले मजदुर आन्दोलन, किसान आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलन, जालीफटाहाविरोधी आन्दोलन गर्दै आएको इतिहास साक्षी छ ।
कुनै कार्यकर्ताले गल्ती गरेमा या कमजोरी देखिएमा आलोचना गरेर गल्ती सच्याउने या नदोहो¥याउने काममा नेमकिपा खबरदारी गर्छ । पार्टीको गोप्यता कायम राख्न प्रशिक्षण गरिएको हुन्छ । समाजमा व्याप्त रूढीवाद, अन्धविश्वास हटाउन प्रशिक्षित गरिएको हुन्छ । नेता तथा कार्यकर्ताहरूलाई जनतामाझ जान, दुःख सुख बुझ्न, शिष्ट व्यवहार गर्न र सादा जीवन उच्च विचार राख्न पार्टीले जोड दिइरहेको हुन्छ । पद र पैसाको निम्ति राजनीति गर्ने होइन भन्ने पाठ नेमकिपाले सिकाएको हुन्छ । नेमकिपा दलगत र व्यक्तिगत स्वार्थमा लाग्दैन । नेमकिपा सिद्धान्तहीन एकता गर्दैन । निर्वाचनमा जसरी भए पनि जित्ने राजनीति नेमकिपाले गरेको छैन । जित्नको निम्ति पैसा बाँड्ने, भोज खुवाउने, सामान बाँड्ने या अन्य लोभलालच देखाएर धम्की दिने काम नेमकिपाले गरेको छैन । तर, अन्य कम्युनिस्ट भनिने दलका नेताहरू जसरी भए पनि जित्न असैद्धान्तिक गठबन्धन गर्छन्, राजनीतिक मूल्य र मान्यता भुलेर जे पनि गर्छन् । यस्तो कामले देशमा परिवर्तन हुँदैन । अतः आमूल परिवर्तनको निम्ति पूर्वाधार तयार गर्दै जानुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *