भर्खरै :

सिद्धि स्मृति प्रतिष्ठानद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाईज्ञापन

भक्तपुर, ३ असार । सिद्धि स्मृति प्रतिष्ठान र भक्तपुर फूटबल क्लवको संयुक्त आयोजनामा भक्तपुर नगरपालिकामा नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सम्मान कार्यक्रम नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले सिद्धि स्मृति अस्पतालले सहज र सुलभरूपमा व्यापक जनताको हितमा स्वास्थ्य सेवा पु¥याइरहेको उल्लेख गर्दै सरकारले सेवामुखी प्रतिष्ठानहरूलाई आर्थिक र भौतिक रूपबाट मद्दत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अस्पताल मानव जीवनको जन्म र मृत्युसँग सम्बन्धित संवेदनशील ठाउँ भएता पनि अधिकांश अस्पतालहरू रिफर सेन्टर बनिदिँदा सर्वसाधारण जनताले अनाहकमा दुःख पाइरहेको उहाँले बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “राजनीतिक दलले देश र समाजमा व्याप्त विकृति र विसङ्गतिबारे व्यापक जनतालाई जानकारी गराउनुपर्छ । नेपालमा भारतले अप्रत्यक्षरूपमा शासन गरिरहेको तर्फ जनतालाई सचेत र सङ्गठित गर्नु जरूरी छ ।”
नेपालमा रासायनिक मल कारखाना खोल्न नदिनुमा छिमेकी देश भारतको ठूलो हात रहेको चर्चा गर्दै उहाँले नेपाल परनिर्भरताको स्थितिमा पुग्नुमा शासक दलहरू दोषी छन् भन्नुभयो ।
भनपाका प्रमुख सुनिल प्रजापतिले व्यापक जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालहरू सेवामुखी हुनुपर्ने आवश्यकता औँल्याउँदै १०० शय्यामा स्तरोन्नति भएको भनपाबाट सञ्चालित ख्वप अस्पतालले ‘जनताको अस्पताल’ को रूपमा जनतालाई सहज सेवा दिइरहेको जानकारी दिनुभयो ।
देश सङ्कटपूर्ण अवस्थामा हँुदा सामुदायिक अस्पतालहरूले दिने सेवाको महत्व धेरै हुने धारणा राख्दै प्रमुख प्रजापतिले सरकारको पूर्वाग्रही सोच र पक्षपातपूर्ण व्यवहारले गर्दा ख्वप विश्वविद्यालयलाई सम्बन्धन प्राप्त गर्न ढिलाइ भइरहेको बताउनुभयो ।
छिमेकी देश भारतले नेपाललाई अघोषितरूपमा नाकाबन्दी गरिरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले देशलाई आत्मनिर्भर बनाउन सबैले आ–आफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाकाबाट सञ्चालित ख्वप अस्पतालबाट छिट्टै प्रजनन र मातृत्वसम्बन्धी सेवा सुरू गर्ने बताउँदै सिद्धि स्मृति अस्पतालले प्रदान गर्दै आइरहेको सुरक्षित मातृत्वसम्बन्धी सेवा सराहनीय भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर नगरभित्र निर्माण हुने निजी तथा प्रशासनिक भवनहरू मौलिक स्वरूपमै निर्माण गर्नुपर्छ । यसले नगरको सुन्दरता निखार्न महत्वपूर्ण भूमिका खेल्छ ।
निर्वाचित वडाध्यक्षहरूको तर्फबाट वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुरका जनता स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिन भक्तपुरमा सञ्चालित अस्पतालहरूले इमानदारीपूर्वक सेवा गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवं सिद्धि स्मृति अस्पतालका संस्थापक अध्यक्ष श्यामसुन्दर धौभडेलले अस्पतालका गतिविधि र सेवाहरूबारे प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको थियो । भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, जनस्वास्थ्य अधिकृत कृष्ण मिजार र अस्पतालका अधिवक्ता हरिराम लवजूले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा अतिथि बिजुक्छेँले नवनिर्वाचित जनप्रतिनिधिलाई अस्पतालको तर्फबाट सम्मानपत्र प्रदान गर्नुभको थियो ।
त्यस्तै अतिथि बिजुक्छेँले फूटबलका राष्ट्रिय प्रशिक्षकद्वय मेघराज केसी र उज्ज्वल मानन्धरलाई पनि सम्मान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *