भर्खरै :

गठबन्धनको नापो पनि सीट सङ्ख्या !

अहिले देशमा वाम गठबन्धन र वाम मोर्चाको चर्चा भइरहेको छ । वाम गठबन्धन र वाम मोर्चाको चर्चा नेपालमा कम्युनिस्ट पार्टी बलियो बनाउन र कम्युनिस्ट आन्दोलन अघि बढाउन भइरहेको होइन । बढीभन्दा बढी सीट जित्न र ठूलो दल बनाउन भइरहेको कसरत हो यो । सत्ता गठबन्धन र वाम गठबन्धनको चर्चामा सिद्धान्त र विचारको प्रसङ्गै छैन । वाम मोर्चा र वाम गठबन्धनको कुरा सत्तारूढ दल र ठूला दलहरूको आफ्नो स्वार्थको गोटी बनेको छ । कुनै न कुनै दलसँग एकता गर्ने, गठबन्धन गर्ने र आफूलाई मन नपरेको दललाई हराउने कसरत अहिलेमात्र भएको होइन ।
माओवादी र एमालेबीच एकता भएकै हो, बढी सीट जितेर दल ठूलो पनि भएको हो । दल ठूलो पनि भयो तर पछि फुट्यो । सारमा बढी सीट जितेर रजाइँ गर्नु नै ती दलको उद्देश्य रह्यो । स्थानीय तहको निर्वाचनमा गठबन्धन हुनु पनि बढी मत पाउन या दल ठूलो बनाउन हो । सत्तारूढ दलहरूले गठबन्धनलाई निरन्तरता दिने बताइरहेका छन् । गठबन्धन गरेर बढीभन्दा बढी सीट जित्ने र त्यसपछि आ–आफ्नो बाटोमा लागेको या पार्टी टुक्रेको हामीले देखेकै हौँ । अहिले हुन लागिरहेको प्रदेश र सङ्घीय निर्वाचनमा ती दलहरूले गठबन्धन गर्नेछन्, गर्ने कुरा गरिरहेका छन् । गठबन्धनको आधारमा बढी सीट जितेपछि तिनीहरू आफ्नो उद्देश्य पूरा भएको ठान्छन्, ठूलोको अभिमानी गर्छन् र दल फेरि आ–आफ्नो बाटोमै लाग्छन् ।
दलका नेताहरू कुन दलसँग मिल्न हुने र नहुने मतलब नै राख्दैनन् । जहाँ जोसुकैसँग मिलेर निर्वाचन लड्ने दलका नेताहरूलाई दलको सिद्धान्त र विचारको कुनै मतलबै छैन । कुन दलसँग गठबन्धन या मोर्चा गर्ने भन्ने कुरा सीटको आधारमा गरिएको हुन्छ । सीट बढी दिने दलसँग गठबन्धन गरिएको हुन्छ । मानौँ सीट सङ्ख्या नै गठबन्धनको नापो हो । कुनै दलले थोरै सीट दिएमा अर्को दलसँग गठबन्धन गर्न तम्सिएको हुन्छ । एउटा जिल्लामा एउटा दलसँग मिलेर चुनाव लडेको हुन्छ भने अर्को जिल्लामा त्यही मिलेको दलविरूद्ध विरोध गरिरहेको हुन्छ । यसरी देशमा भइरहेको वाम गठबन्धन, वाम मोर्चा र कम्युनिस्ट भनिने दलका एकता सबै सिद्धान्त र विचारको आधारमा होइन सीटको बाँडफाँडमा भइरहेको हो । यही कारण एकता र मोर्चा भएपनि पछि तिनै दल भताभुङ्ग भएको हो ।
वाम गठबन्धन या वाम मोर्चा सिद्धान्त र विचारको आधारमा भएको भए दीगो हुन्थ्यो, जनतालाई सुसूचित पार्ने अवसर मिल्थ्यो । हाल सरकारमा रहेका दलहरूको गठबन्धन त एमाले ढालेर सरकारको नेतृत्व गर्नको निम्ति भएको थियो । नयाँ सरकारले गर्नसक्ने केही होइन । माओवादी र एकीकृत समाजवादीहरू किन नेकाको पछि लागेर जनतालाई भ्रम छर्दै छन् ? यो कसरी सद्दे राजनीति हुन्छ ? हरेक राजनीतिक दलहरू वर्ग शत्रु र वर्ग मित्र चिनेर एकता या मोर्चा गरिएको हुन्छ । तर, यहाँ यस्तो भइरहेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *