भर्खरै :

साम्राज्यवादविरोधी योद्धा चे ग्वेभाराको स्मरण

काठमाडौँ, ४ असार । अन्तर्राष्ट्रवादी नेता चे ग्वेभाराको ९४ औँ जन्मदिवसको अवसरमा नेपाल क्रान्तिकारी युवा सङ्घ, चन्द्रागिरी नगरपालिका वडा नं १२ को आयोजनामा एक कार्यक्रमको आयोजना भएको छ ।
शनिबार आयोजित कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले अमेरिकी साम्राज्यवादले नेपालमाथि गिद्धेदृष्टि लगाएको बेला साम्राज्यवादविरोधी योद्धा चे ग्वेभाराको स्मरण गर्नु सान्दर्भिक भएको बताउनुभयो ।
उहाँले चे ग्वेभाराले एसिया, अफ्रिका र ल्याटिन अमेरिकाबाटै अमेरिकी साम्राज्यवादलाई धपाउन चाहन्थे भन्दै चेको क्रान्तिकारी भावनाबाट आजका युवा पुस्ताले सिक्नुपर्ने भनाइ राख्नुभयो ।
चेले क्युवाको क्रान्तिपछि अमेरिकी साम्राज्यवादविरुद्ध एसिया, अफ्रिका र ल्याटिन अमेरिकालाई एकताबद्ध गराउने पहल गरेको उल्लेख गर्दै केन्द्रीय सदस्य गोसाईले चेले अमेरिकाविरुद्ध दुई–तीन–चार भियतनाम जन्माउनुपर्ने विचार राखेको बताउनुभयो ।
उहाँले चेको व्यक्तित्वको चर्चा गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेको, अत्यन्तै वर्ग–सचेत, मानवीय संवेदनशीलताले भरपूर, उच्च नैतिक सांस्कृतिक स्तर भएको, बेठीक र अन्याय भनेको कहीँ पनि देख्न नसक्ने, विद्रोही विश्व नागरिक, अन्तराष्ट्रवादी, आलोचनात्मक दृष्टिकोण राख्ने कोही व्यक्ति छन् भने उनी नै चे हुन् भन्नुभयो ।
उहाँले भन्नुभयो, चे जे भन्थे, त्यही गर्थे र जे गर्थे, त्यही भन्थे । उनको भनाइ र गराइमा अन्तरविरोध थिएन । चेले मन्त्री हुँदा पनि मजदुरभन्दा एक पैसा बेसी तलब लिएनन् । कुनै विशेष
सुविधा लिएनन् । कारखानामा श्रम गर्न जान्थे । उहाँले चे क्रान्तिको निम्ति अधिर भएर लागे तर छापामार कारबाहीबाट देशलाई क्रान्तितर्फ डो¥याउन खालि क्रान्तिकारी नियत र राम्रो आत्मगत तयारीमात्र भएर पुग्दैन, समय र परिवेश पनि अनुकूल हुनुपर्छ, वस्तुगत पक्ष पनि तयार हुनुपर्छ भन्ने कुरामा चे गम्भीर हुननसक्दा क्रान्ति नै दुर्घटनामा परेको तर्क गर्नुभयो ।
कार्यक्रममा नेमकिपा चन्द्रगिरी नगर समितिका अध्यक्ष गुणदास महर्जनले निजी स्वार्थ तथा व्यक्तिगत लाभलाई प्राथमिकता नदिएको भन्दै पारिवारिक सुखसुविधालाई महत्व नदिएको कुरा सिक्नयोग्य छ भन्नुभयो ।
नेक्रायुसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष मिनबहादुर बाटाले संरा अमेरिकाले एमसीसी र राज्य साझेदारी कार्यक्रम (एसपीपी) को नाममा नेपाललाई अमेरिकी सैन्य रणनीतिमा नेपाललाई साझेदार बनाउनु गलत भएको भन्दै चे ग्वेभाराबाट क्रान्तिकारी सिद्धान्त र व्यवहार सिक्नुपर्ने विचार राख्नुभयो ।
आयोजक समितिका अध्यक्ष रोशन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा, चनपा वडा नं १२ का अध्यक्ष किरण सिंह, नेक्राविसङ्घका इशान श्रेष्ठ, रोजित महर्जनलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *