भर्खरै :

ख्वप कलेजमा तीनदिने कार्यशाला गोष्ठी

भक्तपुर, ५ असार । ख्वप कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा असार ३ देखि ५ गतेसम्म भएको ‘अ वर्क सप अन केस स्टडी मेथड टिचिङ’ को कार्यशाला गोष्ठी आइतबार सम्पन्न भएको छ ।
कार्यक्रमको समापन कार्यक्रममा भक्तपुर नरपालिकाका उपप्रमुख एवं कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले अनुसन्धानसँग सम्बन्धित कार्यशाला गोष्ठीहरू शैक्षिक क्यालेन्डर बनाएर नियमितरूपमा सञ्चालन गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।
“भनपा ख्वप विश्वविद्यालय सञ्चालनको तयारीमा रहेको हुँदा विश्वविद्यालय सञ्चालन गर्ने योग्य दक्ष जनशक्तिको रूपमा हामी लाग्नुपर्ने बेला आएको छ”, उहाँले भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीको निर्वाचन घोषणापत्रअनुसार भनपाका जनप्रतिनिधिहरूले इमानदारीपूर्वक सेवा गरिरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “भनपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणमा विशेष जोड दिई कार्य गरिरहेको छ । भक्तपुर नगरवासीको साथ र सहयोगले नै भनपा उत्कृष्ट नगरको रूपमा परिचित छ ।”
“२१ औँ शताब्दीको योग्य नागरिक तयार गर्नु अहिलेको आवश्यकता हो । हामीले स्वस्फूर्तरूपमा अनुसन्धानतर्फ लाग्ने विद्यार्थी तयार गर्नेतर्फ ध्यान दिनु आवश्यक छ”, उहाँले भन्नुभयो ।
तालिमबाट सिकेको ज्ञानलाई देश र जनताका हितमा उपयोग गर्नुपर्ने आवश्यकता उपप्रमुख जोशीले औँल्याउनुभयो ।
ख्वप कलेजका प्राचार्य रूपक जोशीले केश स्टडीको महत्वबारे दर्शाउँदै अध्यापनलाई अझ स्तरीय बनाउन ख्वप कलेजले विभिन्न कार्यशाला गोष्ठीहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा कलेजका उपप्राचार्य डा. राजेशकुमार श्रेष्ठ र बीए तथा एमए अङ्ग्रेजी इन्चार्ज कमिनिका न्याइच्याईले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा अतिथि जोशीले तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *