कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –२
- श्रावण २, २०८३
ओलेक्सान्द्र कोभल युक्रेनी किताब संस्थानकी निर्देशक हुन् । यो संस्थान युक्रेनी संस्कृति मन्त्रालयको एउटा शाखा हो । कोभलले युक्रेनका सार्वजनिक पुस्तकालयहरूबाट १० करोडभन्दा बढी कथित ‘प्रोपोगान्डा’ पुस्तकहरू फिर्ता गर्ने तयारी भइरहेको दाबी गरिन् । यी पुस्तकहरूमा विश्व प्रसिद्ध लेखक र कविहरू, दोस्तोएभ्स्की र पुश्किनहरू पनि पर्छन् । यी पुस्तकलाई कागज पुनः प्रशोधन गर्ने केन्द्रहरूमा पठाउने सम्भावना रहेको सूचना तथा संस्कृति नीतिसम्बन्धी मन्त्री ओलेक्सान्द्र टिकाचेन्कोले बताए ।
पुस्तक फिर्ता ल्याउने पहिलो चरण सकिएको छ । यो वर्षको अन्त्यसम्म सबै चरण सक्ने कोभलले आशा लिइन् । इन्ट्राफ्याक्स युक्रेनसँगको अन्तर्वार्तामा उनले यी कुरा खुलाएकी हुन् । उनले ती पुस्तकहरूलाई युक्रेन सोभियत सङ्घको भाग हुँदा प्रकाशित गरिएको ‘वैचारिकरूपमा हानिकारक साहित्य’ भनिन् । ती साहित्यलाई उनले कथित ‘युक्रेनविरोधी विषयवस्तु’ भरिएको रूसी साहित्य भन्न भ्याइन् । पुस्तक फिर्ताको दोस्रो चरणमा सोभियत सङ्घको पतनयता रूसमा प्रकाशित भएका सम्पूर्ण पुस्तकहरू फिर्ता गर्ने तयारी छ । कोभलले प्रस्ट्याइन्, “ती पुस्तकहरू एकदम फरक विषयका हुनेछन् । यसमा बालपुस्तकहरू, रूमानी उपन्यासहरू र जासुसी कथाहरू हुनेछन् ।”
यस्तो ‘हानिकारक’ साहित्य फालेपछि युक्रेनका सार्वजनिक र स्कूले पुस्तकालयहरूमा झन्डै १० करोड पुस्तकहरू बाँकी रहनेछन् । त्यहाँका पुस्तकहरू आधा घट्ने कोभलको अनुमान छ । तर, रूसी पुस्तकका सबै प्रतिहरू हटाउनुपर्छ भन्ने छैन – कोभलले भनिन् । उनले थपिन्– केही प्रति विश्वविद्यालय र विज्ञान पुस्तकालयहरूमा राख्नुपर्छ । त्यहाँ ‘खराबी र तानाशाहीका जराहरूबारे अध्ययन गर्ने विज्ञहरूका निम्ति’ सोभियत युगका परीकथाहरू र रूमानी उपन्यासहरू संरक्षण गरिनेछ ।
रूसी पुस्तकहरू हटाउने अभियानलाई ठूलो परिदृश्यमा हेर्न जरूरी छ । युक्रेनलाई ‘साम्यवादी विगतबाट च्युत’ गर्ने सन्दर्भमा हेर्नुपर्छ । सन् २०१५ यता सबै कम्युनिस्ट पार्टीहरू र चिह्नहरू प्रतिबन्धित छन् । युद्धलाई थप राजनीतिक दमनका लागि मात्र प्रयोग गरिएको छ । जेलेन्स्की सरकारले थप ११ वटा पार्टीमाथि प्रतिबन्ध लगाएको छ र सम्पूर्ण टीभी स्टेसनहरूलाई सरकारी नियन्त्रणमा लिएको छ ।
युक्रेन सरकारले रूसी पुस्तकहरूमाथि प्रतिबन्ध लगाएको यो पहिलो घटना होइन । सन् २०१५ मा रूसमा प्रकाशित ३८ वटा पुस्तकमाथि उसले प्रतिबन्ध लगाएको थियो । त्यसयता यो सूचीमा पुस्तकहरू थपिँदै छन् । ती पुस्तकमा समकालीन रूसी जासुसी उपन्यास लेखक बोरिस आकुनिनका दुई पुस्तक र लोकप्रिय रूसी अभिनेता र सङ्गीतकार भ्लादिमिर भ्यसोत्स्कीको आत्मसंस्मरण पनि परेका छन् ।
सन् २०१८ मा बेलायती इतिहासकार एन्टोनी बीभोरको पुस्तक ‘स्तालिनग्राद’ को रूसी संस्करणमाथि प्रतिबन्ध लगाइयो । बेलायती दूतावासको दबाबपछि त्यो प्रतिबन्धपछि फुकुवा गरिएको थियो । प्रतिबन्धको कारण के थियो ? पुस्तकको एउटा अनुच्छेदमा युक्रेनी राष्ट्रवादीहरूको सङ्गठनले गरेको ९० यहुदी बालबालिकाको हत्याबारे वर्णन गरिएको थियो । त्यस सङ्गठनका नेता नाजीहरूसँग साठगाँठ गर्ने स्तेपान बान्देरा थिए ।
यी तिनै बान्देरा हुन् जसलाई सन् २०२१ मा युक्रेनको राष्ट्रिय स्मारक संस्थानले मरणोपरान्त सम्मानित गरेको थियो । बान्देरालाई महत्वपूर्ण ऐतिहासिक व्यक्तित्वको रूपमा ‘भर्चुअल समाधि’ मा मिसाइएको थियो । उनको समाधिसँगै यहुदीहरूलाई सिध्याउने एसएस बटालियनका दुई कमान्डरहरूको चिहान छ ! तीमध्ये एक स्मोभ्स्की कोन्स्तान्तिन एभ्दियोभिच नाजी सेनाका ११८ औँ बटालियनका सहकमान्डर थिए । अर्का ओमेलियानोभिचा पाभ्लेन्को नाजी सेनाको १०९ औँ बटालियनका कमान्डर थिए । तर, स्तेपान बान्देराको स्मरण भर्चुअल दुनियाँमा मात्र छैन । पछिल्ला वर्षहरूमा नरसंहार मच्चाउनेहरूको सम्मानमा युक्रेनमा मूर्तिहरू बनाइँदै छ । लेनिन र पुश्किनका मूर्तिहरू ढलाइँदै छ । चेर्निहिभमा सोभियत लडाकु र फासीवादविरोधी सहिद जोया कस्मोदिमेन्स्कायाको स्मारक ध्वस्त पारियो ।
मे २१ का दिन रूसी सेनाले युक्रेनी इतिहासका पुस्तकहरू जलाएको भनेर सोसल मिडियामा फर्जी तस्बीर साझा गरियो । युक्रेनका लागि बेलायती राजदूत र स्वीडेनका पूर्वप्रधानमन्त्री कार्ल बाइल्डले त्यस तस्बिरको व्यापक प्रचार गरे । (कार्ल बाइल्ड लुन्डिन समूहका निर्देशकहरूको बोर्ड सदस्यको हैसियतले सुडानमा युद्ध अपराध गरेको कसुर लागेका व्यक्ति हुन् । युद्ध अपराध मच्चाउन गोप्य चलखेल गर्ने व्यक्तिहरूको नाममा उनको नाम पनि थियो ।)
फ्रान्स–२४ नामक तथ्य जाँचकी समूहले पछि त्यो तस्बीरलाई सन् २०१० मा क्रिमियामा आन्दोलन हुँदा जम्मा भएका ‘दर्शकहरू’ ठहर गरेको थियो । रूसी सेना पुस्तकहरू जलाउने कार्यमा संलग्न थिए वा थिएनन् भन्ने विषयमा फ्रान्स–२४ को लेख भन्छ, “युक्रेनी अधिकारीहरूले रूसी सेनाले कब्जा गरिएको भूभागमा पुस्तकहरू नष्ट गरेको दाबी गरेका छन् ।… तर हाम्रा संवाददाताहरूले यस्तो घटना झल्काउने कुनै पनि फोटो फेला पारेनन् ।”
सरकारले युद्धको बेला वाक् स्वतन्त्रताको कुरा उप्काउने घटना बिरलै हुन्छ । तर, यो हमला युक्रेनमा रूसी भाषाको प्रतिष्ठामाथि भएका धेरै हमलामध्येको केवल एउटा हमला हो । युद्धभन्दा धेरै पहिलेदेखि यसखाले हमला भएका थिए । युक्रेनका एकतिहाइ जनताले रूसी भाषालाई आफ्नो भाषा मान्छन् । तैपनि, सन् २०१७ मा युक्रेनलाई शिक्षणका सबै तहमा प्रयोग गर्नैपर्ने कानुन ल्याइयो । त्यस कानुनले रूसी र अन्य अल्पसङ्ख्यक भाषाहरूलाई खालि निमावि तहसम्म प्रयोग गर्नुपर्ने मान्यता दियो । सन् २०१९ को निर्वाचन जित्नुअघि जेलेन्स्कीले यो कानुन हटाउने वाचा गरेका थिए । तर, सत्तामा पुग्नेबित्तिकै उनले धोका दिए । यो सन् २०१४ को मैदान विद्रोहपछिका युक्रेनी सरकारहरूले देखाएको बडा राष्ट्र अहङ्कारको निरन्तरतामात्र थियो । यो रवैयाले रूसी भाषीहरूको प्रजातान्त्रिक अधिकारहरू कुण्ठित गर्दै आएको छ । यसले नाजी र तिनका सहयोगीहरूको महिमा मण्डन गर्दै आएको छ । साथमा यसले वर्षौँसम्म फासीवादी गिरोहहरूलाई देशभरि रजाइँ गर्ने छुट दिँदै आएको छ ।
यो सरकारले ‘प्रजातन्त्र’ को लागि लडिरहेको हल्ला पिटिन्छ । यो लडाइँका लागि उसले पश्चिमा मुलुकका सरकारहरूबाट खर्बौँ पाउन्ड रकम लिइरहेको छ । युक्रेनी सरकारबाट भइरहेका यी हमलाहरूविरूद्ध संसारभरि छरिएका सम्पूर्ण कामदार वर्गको पक्षमा माक्र्सवादीहरू एकजुट हुनुपर्छ । गोहीँको आँसु चुहाइरहेका नाटोका साम्राज्यवादीहरूविरूद्ध उभिनुपर्छ । युद्धले सधैँ भय जन्माउँछ । पुँजीवादले सधैँ युद्ध ल्याउँछ । अब एउटै बाटो छ । संसारभरिका श्रमजीवीहरूले सत्ता आफ्नो हातमा लिनुपर्छ । समाजवादी क्रान्तितर्फ लाग्नुपर्छ !
Leave a Reply