भर्खरै :

नेक्राकिसङ्घ कैलालीद्वारा धन्यवादज्ञापन कार्यक्रम

कैलाली, ५ असार । नेपाल क्रान्तिकारी किसान सङ्घ लम्कीचुहा नगरपालिका वडा नं. २ एकाइ समितिको आयोजनामा आइतबार मतदाताहरूलाई धन्यवाद कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा कैलाली सातौँ जिल्ला सम्मेलन तयारी समितिका संयोजक रमेशकुमार रावलले मतदाताहरूलाई धन्यवाद व्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।
नेमकिपाले निर्वाचन जनतालाई राजनीतिकरूपमा सचेत पार्ने अभियानको रूपमा लिई वर्ग सङ्घर्ष गर्ने थलोको रूपमा उपयोग गर्दै आएको उहाँले बताउनुभयो ।
संयोजक रावलले भन्नुभयो, “नेमकिपाले निर्वाचन जित्नकै लागि जनतालाई झूटा आश्वासनहरू दिँदैन । निर्वाचन घोषणापत्रमार्फत जनतालाई सचेत पार्ने काम पार्टीले गर्दै आएको छ ।”
एमसीसी सम्झौता देशघाती भएकोले नेमकिपाले विरोध गरिरहेको र गर्दै जाने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “एमसीसी सम्झौता संरा अमेरिकी साम्राज्यवादको सैनिक गठबन्धन नेटोसँग सम्बन्धित छ । विश्वमा युद्ध भड्काई हतियार व्यापार गर्ने संरा अमेरिकाको स्वार्थ हो ।”
पार्टी प्रकाशनहरू नियमितरूपमा अध्ययन गरी अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले बिनाअध्ययन सैद्धान्तिक ज्ञानमा निख्खार नआउने बताउनुभयो ।
नेमकिपा कैलालीका ज्योति बडुवालले अहिलेको शासन व्यवस्था पुँजीवादी भएको चर्चा गर्दै कामदार जनताको हितको लागि समाजवादी व्यवस्था स्थापना गर्नु अनिवार्य भएको बताउनुभयो ।
कलमबहादुर बडुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा लक्ष्मी पुन र जानकी सिजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *