नेपालीहरू भारतविरोधी होइनन् – २
- कार्तिक १२, २०८३
देश र जनताको सेवा गर्न गठबन्धनको सरकार नबनेको हुँदा यो सरकार असफल हुनु स्वाभाविक हो । सत्तारुढ दलहरूको गठजोड सत्ता, शक्ति र भागबन्डाको निम्ति हो । दलको सिद्धान्त र विचार छोडेर असैद्धान्तिक गठबन्धन न्याय, समानता, स्वतन्त्रता र देश र जनताको सेवाको निम्ति होइन । गठबन्धन सत्ता र पद लक्षित छ । आ–आफ्नो दलको सिद्धान्त र विचारलाई देखाउने दाँत बनाएर राजनीति गरिरहँदा पनि जनता किन शिक्षा लिँदैनन् ? पुँजीपति वर्गको सेवा गर्ने, भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको पक्षपोषण गर्ने दलका उम्मेदवारलाई नै जनता किन मतदान गर्छन् र जिताउँछन् ? सिद्धान्त र विचारमा आकाश पाताल फरक हुँदाहुँदै ती दलहरूसित गठबन्धन गर्नु ठीक छैन भनेर ती दलका नेता तथा कार्यकर्ता किन बोल्दैनन् ? यसको एउटैमात्र कारण हो, निर्वाचनमा जसरी भए पनि जित्नु ।
सत्तासीन दल र ठूला दलका नेताहरूले सद्दे राजनीति गरेका छैनन् । सिद्धान्त, दर्शन र विचारको अवमूल्यन गरेर गठबन्धन गर्न पल्केका दलका नेताहरूले परिवर्तनको निम्ति राजनीति गरेका होइनन् । ठूलो दलको सरकार ढालेर सत्तामा बसेर रमाइरहेका दलका ती नेताहरू किन राजनीतिलाई कमाइ खाने माध्यम बनाउँदै छन् ? आ–आफ्नो दलगत स्वार्थ पूरा गर्न ज्यानतोड गर्ने तिनै नेताहरूले देशको राजनीतिक संस्कार बिगार्दै छन्, भत्काउँदै छन् । यसको कारणले पनि देशमा अराजकता बढेको हो, उच्छृङ्खल गतिविधि बढेको हो, एक अर्काबिच शङ्का उपशङ्का बढेको हो । के देशको राजनीतिलाई यसरी नै अघि बढाइरहने हो ? यही हो, नेपालको राजनीतिक संस्कार र विधि !
देशको नेतृत्व गर्ने दलका नेताहरूले त सत्मार्ग देखाउनुपर्ने हो, असल विचार लिनुपर्ने हो, देशको विकासमा हातमा हात मिलाउनुपर्ने हो । मिलेर जसरी भए पनि जित्नै पर्ने हो भने किन सत्ता गठबन्धन ¤ किन स्थानीय तहमा गठबन्धन ! सिद्धान्त र विचारको ख्याल नगर्ने दलहरूले पार्टी एकता नै गरे पनि भयो नि । नेताहरूको दम्भ, अहङ्कार र महत्वाकाङ्क्षाले के देश चल्छ ? यसरी ठूला, शक्तिशाली र बलियोको हुङ्कारले देशले राम्रो प्रतिफल पाइरहेको छैन । विदेशीलाई खुसी पार्न नेपालको ऐन कानुन नभन्ने, नमान्ने, सिद्धान्त र विचार बन्धक राख्ने ती दलका नेताहरू आफूलाई सही ठान्छन्, देश र जनताप्रति जिम्मेवार ठान्छन् । यसरी सरकार चलाएर देश कसरी बन्छ ? आखिर सरकार किन अरू देशको परेड खेल्ने भूमि बनाउँदै छ ? आखिर नेपाल कसलाई दिने पूर्वाधार तयार गर्दै छ । एक–एक पाइला गरेर अरू देशलाई चलखेल गर्ने जिम्मा दिएर सरकारले के गर्न खोजिरहेको हो ! आम जनताको चिन्ताको विषय छ ।
Leave a Reply