भर्खरै :

बलात्कारका घटना बढ्नुमा उमेर होइन दोषी मन जिम्मेवार

प्रतिनिधि सभाको बैठकमा सांसद पुष्प भूसाल गौतमले २० वर्ष विवाहको उमेर राखेको कारण नेपालमा बलात्कार र यौनजन्य आपराधिक क्रियाकलाप बढेको कारण त्यसलाई संशोधन गरी १८ वर्ष गर्नुपर्ने बताउनुभयो । महिलामाथि हुने सबै प्रकारका हिंसा र बलात्कारका घटना महिला वा बालिकाकै कारणले भएको हो भन्नु मूर्खता हो । अहिलेसम्म भएका बलात्कारका घटनाहरूमा सबै उमेर समूहका महिला र बालिकाहरू बलात्कृत भइरहेका छन् । आमाको कोखबाट जन्मेदेखि नै छोरीहरूको सुरक्षा छैन । ३ महिनाको बालिकादेखि ८० वर्षका महिलाहरूमाथि बलात्कार गरी हत्या गरेका समाचारहरू प्रकाशन भइरहेका छन् । दुई महिनाअगाडि मोरङमा १८ महिनाको बालिकालाई आफ्ना दाइहरूले बलात्कार गरी हत्या गरे । के त्यो १८ महिनाको बालिका बलात्कृत हुनुमा ढिला विवाहको कारण थियो ?
निहारिका राजपुत १७ वर्षको उमेरमा बलात्कृत भएकी थिइन् । त्यसैगरी, निर्मला पन्त र भाागिरथीको पनि सानै उमेरमा बलात्कारपछि हत्या भयो । बलात्कारको घटना हरेक हप्ता वा महिना दिनमा घटेको पाइन्छ । पीडित बालिका र महिलाले न्याय पाइरहेका छैनन् । बलात्कारको घटना घट्नुमा महिला तथा बालिकामा यौन इच्छा बढी हुनु मुख्य कारण होइन । समाजमा रहेका केही पुरुषहरूको नियत नै खराब भएकोले यस्तो घटना बारम्बार घटेका हुन् । आर्थिकरूपमा कमजोर र कामदार वर्गका महिला तथा बालिका बलात्कारको सिकार भइरहेका छन् । तराई र पहाडमा बोक्सी आरोपमा निर्घात कुटपिटमा शोषित वर्गका बालिका वा महिला परेका छन् । न्यायको पहुँचबाट टाढा, बोल्न नसकिने पिछडिएको वर्गलाई यस्तो आरोप लगाउने गरेको पाइन्छ ।
१८ वर्षमा विवाह गर्नुपर्छ भन्नु जेलमा भएका अपराधीलाई रिहा गर्ने जालसाजी हो । संसद्जस्तो गरिमामाय ठाउँमा सांसदले भत्ता पचाउने बहस गर्ने होइन । बरु, बलात्कारविरुद्ध कडा कानुन बनाउने र जनताको चेतना बढाउने कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ । कम उमेरमा विवाह गर्नाले समस्याको समाधान हुने होइन बरु थप जटिल समस्याहरू उत्पन्न हुनेछन् ।
सानै उमेरमा विवाह गर्दा महिलाहरू शिक्षाको अवसरबाट वञ्चित हुनेछन् । महिलाहरू सक्षम र सबल बन्न सक्दैनन् । त्यसले गर्दा झन् बलात्कारको घटनाले विकराल रूप लिने देखिन्छ । सानै उमेरमा विवाह गर्नाले स्वास्थ्यमा असर पर्छ र शारीरिकरूपमा कमजोर हुन्छ । यसले गर्दा महिलामाथि हुने यौन हिंसा अझ बढ्दै जाने देखिन्छ । महिला र बालिकाहरूका अनुसार महिलामा बढी यौन इच्छा (उत्तेजना) हुने होइन । आफूलाई साथ, सहयोग र माया पाउनको निम्ति इच्छाविपरीत पनि यौन सम्बन्ध राख्ने गरेको पाइन्छ ।
कम उमेरमा विवाह गर्नाले आङ खस्ने समस्या देखिएको छ । सानै उमेरमा विवाह गरेका महिलाहरूमा विभिन्न शारीरिक समस्यापश्चात् श्रीमान्, श्रीमतीबिचको सम्बन्ध बिग्रेको पाइन्छ । यस्तो अवस्थामा खराब नियति भएका पुरुषहरूले बालिका र महिलालाई गिद्धे नजर लगाएको कारणले बालिका वा महिला बलात्कृत हुनु परेका छन् । सामाजिक सञ्जाल फेसबुक, टिकटकजस्ता भारतीय सिनेमा, पश्चिम झिलीमिलीले गर्दा पनि बलात्कारको घटनामा टेवा पुगेको छ ।
बलात्कारका घटनाहरू न्यूनीकरण गर्नका लागि सबैभन्दा पहिला संविधानमा बलात्कारीलाई मृत्युदण्डको सजायको बन्दोबस्त गर्नुपर्दछ । ऐन कानुनलाई सहीरूपमा उपयोग गर्नु आवश्यक छ । बालबालिकाको लागि उचित शिक्षा र महिलाको निम्ति शिक्षा, स्वास्थ्य तथा रोजगारीको लागि राज्यले विशेष नीति अवलम्बन गर्नुपर्छ । हरेक नागरिकलाई असल र उत्तरदायी व्यक्ति बन्नको लागि सानै उमेरदेखि यौन शिक्षाबारे जानकारी दिने पाठ्यक्रमको निर्माण तथा कार्यान्वयन गर्नु अति आवश्यक छ । देशको नीति नियम कानुनको बारेमा विद्यालय तहदेखि नै बताउँदै व्यवहारिक शिक्षा प्रदान गर्नु शिक्षकहरूको दायित्व हो । यो आजको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *