भर्खरै :

कोलम्बियाको राष्ट्रपतिमा गुस्ताभो पेट्रो विजयी

बोगाटा, ६ असार (सिन्ह्वा÷टेलिसुर) । वामपन्थी नेता गुस्ताभो पेट्रो आइतबार कोलम्बियाको राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । त्यहाँको राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणमा दक्षिणपन्थी उम्मेदवार रोडोल्फो हर्नान्डेज पराजित हुनुभएको छ । कोलम्बियाको राष्ट्रिय निर्वाचन परिषद्का अनुसार वामपन्थी ऐतिहासिक सम्झौताका उम्मेदवार पेट्रोले ११,२८०,६९४ मत (५०.४४ प्रतिशत) प्राप्त गर्नुभएको छ भने हर्नान्डेजले १०,५७९,८०३ मत (४७.३१ प्रतिशत) प्राप्त गर्नुभएको छ । नवनिर्वाचित राष्ट्रपतिले ट्वीटरमा भन्नुभएको छ, “यो ‘उत्सव’ को दिन हो । पहिलो लोकप्रिय विजयको उत्सव मनाऔँ ।” पेट्रोले लेख्नुभएको छ, “यो विजय भगवानको लागि हो, जनता र यसको इतिहासको लागि हो । आज सडक र चोकको दिन हो ।”
६२ वर्षीय पेट्रो राजधानी बोगाटाका पूर्वमेयर र त्यस क्षेत्रबाट निर्वाचित सिनेटर हुनुहुन्थ्यो । उहाँले अगस्ट ७ गते राष्ट्रपतिको पदभार ग्रहण गर्नुहुनेछ । निर्वाचन अधिकारीहरूले यसअघि मतदानको दिनमा मतदान प्रक्रिया सामान्यरूपमा अघि बढेको बताएका थिए तर पछि एक सैनिक र एक चुनावी साक्षीको मृत्यु भएको खबर आएको थियो । रक्षामन्त्री डिएगो मोलानोले कोलम्बियाको क्रान्तिकारी सशस्त्र बलको आक्रमणमा एक सैनिकको मृत्यु भएको बताउनुभएको छ ।
यसैबीच कोलम्बियामा वामपन्थी उम्मेदवारको विजयले ल्याटिन अमेरिकाभर खुसीको लहर उठेको छ । प्रतिक्रियावादी र नवउदारवादीहरूको ल्याटिन अमेरिकी गढको रूपमा रहको कोलम्बिया अब बदलिने आशा त्यहाँ गरिएको छ ।
यसैबीच गुस्ताभो पेट्रो कोलम्बियाको राष्ट्रपति निर्वाचित हुनुभएकोमा क्युवाली राष्ट्रपति मिग्लेल
डियाज कानेलले बधाई तथा शुभकामना व्यक्त गर्दै त्यसलाई कोलम्बियाली जनताको ऐतिहासिक विजय भएको बताउनुभएको छ । उहाँले दुई देशका जनताको हितका लागि द्विदेशीय सम्बन्ध प्रगाढ हुने आशा व्यक्त गर्नुभएको छ ।
भेनेजुयाली राष्ट्रपति निकोलस माडुरोले गुस्ताभो पेट्रो कोलम्बियाको राष्ट्रपति निर्वाचित हुनुभएकोमा भ्रातृत्वपूर्ण बधाईज्ञापन गर्दै भ्रातृ मुलुकमा नयाँ समयको क्षितिज देखा परेको उल्लेख गर्नुभएको छ । वर्तमान कोलम्बियाली राष्ट्रपति इभान डयुकको अभिव्यक्ति र क्रियाकलापका कारण दुई देशबीचको सम्बन्ध इतिहासमै सबैभन्दा नाजुक स्थितिमा पुगेको छ ।
त्यस्तै मेक्सिकोको राष्ट्रपति आन्डङेज म्यानुअल लोपेज ओब्राडर, चिलीका राष्ट्रपति ग्याब्रियल बोरिक, होन्डुरसकी राष्ट्रपति जियामारा काष्ट्रो, अर्जेन्टिनी राष्ट्रपति अल्बर्टो फर्नान्डेज, बोलिभियाली राष्ट्रपति लुइस आर्से र इक्वेडरका राष्ट्रपति गुइलेर्मो लास्सोले पनि राष्ट्रपतिमा निर्वाचित पेट्रो तथा उपराष्ट्रपति निर्वाचित फ्रान्सिया मार्खेजलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *