भर्खरै :

गुणस्तरीय औषधि आपूर्ति नहुनुमा सरकारी अधिकारीहरू दोषी

काठमाडौँ, ९ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) की जीवनसङ्गिनी शोभा प्रधानको क्यान्सर रोगको उपचारकै क्रममा असार ८ गते बुधबार अपरान्ह ३ः४५ बजे असामयिक निधनबारे पार्टीका सांसद पे्रम सुवालले असार ९ गतेको प्रतिनिधिसभा बैठकको विशेष समयमा श्रद्धाञ्जली मन्तव्य राख्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिका कोषाध्यक्ष र नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य शोभा प्रधानको स्तन क्यान्सरको अपरेसन २३ वर्ष अगाडि भएको थियो भने पाठेघर क्यान्सरको अपरेसन चार वर्षअघि भएको थियो ।”
“विसं २०१७ पुस १४ गते बुधबारको दिन रामेछाप जिल्लाको ठोसेमा जन्मनुभएकी कामरेड शोभाको वि.सं २०४० मा नेमकिपाका अध्यक्ष रोहितसँग विवाह भयो । त्यसयता अध्यक्ष बिजुक्छेँको भूमिगत राजनीतिक जीवनमा समेत कामरेड शोभाले पार्टीका गतिविधिहरूमा सक्रिय भूमिका निर्वाह गर्नुुभयो । नेपाल मजदुर किसान पार्टीविरुद्ध विसं २०४५ भदौ ९ को राज्यस्तरको पञ्चायती दमनमा समेत उहाँ धैर्य तथा साहसपूर्वक सक्रिय रहनुभयो,” सांसद सुवालले उल्लेख गर्नुभयो ।
सांसद सुवालले क्यान्सर, किड्नी, मुटुलगायतका बिरामीहरूको असामयिक र अल्पायुमै निधन हुनुमा सरकारले ती रोगका बिरामीको उपचारको लागि आवश्यक विदेशी कम्पनीको गुणस्तरीय औषधि स्वास्थ्य मन्त्रालय र यस मातहतको औषधि व्यवस्था विभागले सहज आयात नगर्नु कारक रहेको उल्लेख गर्नुभयो ।
रोगीलाई आवश्यक नेपालमा उपलब्ध नभएको विदेशी कम्पनीका गुणस्तरीय औषधि आयात सजिलो गराउन जनप्रतिनिधिको नाताले आफू पनि स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागमा ताकेता गर्न गएका स्मरण गर्दै उहाँले त्यहाँ भेट भएका बिरामीका अभिभावकहरूले स्वास्थ्यमन्त्री र स्वास्थ्य विभागका महानिर्देशकका आफ्नै मानिसलाई मात्र विदेशी गुणस्तरीय औषधि उपलब्ध हुने अन्य बिरामीको लागि पटकपटक निवेदन गर्दा पनि औषधि उपलब्ध नभएको गुनासो गर्न गएको चर्चा गर्नुभयो । सांसद सुवालले बिरामीको यो पीडालाई आफूहरूले सडक र संसद्मा पटक–पटक उठाएको तर सुनुवाइ नभएको उल्लेख गर्दै बिरामीका अभिभावकहरूको औषधि व्यवस्था विभागमा परेको निवेदन ढुसी परेको अवस्थामा हुनुपर्ने कारण पनि बिरामीहरूको असमायिक निधन भएको उल्लेख गर्नुभयो । यस्ता जघन्य अपराध गरेका सरकारी अधिकारीहरूलाई निलम्बन गरी हदैसम्मको कारबाही गराउन सरकारलाई सभामुखबाट सरकारलाई निर्देशन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सांसद सुवालले स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागको बेवास्ताको कारण औषधि उपचार नपाएका र निधन भएका रोगीका परिवारहरूलाई दोषी अधिकारीहरूबाट क्षतिपूर्ति भराउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *