भर्खरै :

नेतृ शोभा प्रधानको अन्त्येष्टि : श्रद्धाञ्जलीमा हजारौँ सहभागी

भक्तपुर, १० असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) की जीवन सङ्गिनी शोभा प्रधानको शुक्रबार अन्त्येष्टि गरियो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ र नेपाल क्रान्तिकारी शिक्षक सङ्घको आयोजनामा दूधपाटीमा भएको एक कार्यक्रममा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
नेमकिपाका सचिव प्रेम सुवाल र केन्द्रीय सदस्य सुनिल प्रजापतिले संयुक्तरूपमा पार्टीको झन्डा ओढाउनुभएको थियो ।
त्यस्तै पार्टीका केन्द्रीय सदस्यहरू, विभिन्न जिल्ला पार्टी समितिका अध्यक्षहरू, जनवर्गीय सङ्गठनका अध्यक्ष तथा सदस्यहरू, विशेष व्यक्तित्वहरूले पनि श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

कार्यक्रममा डा. सितुलाल श्रेष्ठ, डा.रमिला श्रेष्ठ, साल्ट ट्रेडिङ कम्पनीका महाप्रबन्धक उर्मिला श्रेष्ठलगायतव्यक्तिहरूले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । त्यस्तै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, पूर्वसभामुख दमननाथ ढुङ्गाना, वामपन्थी नेता कमल कोइराला, डा. शम्भु पहाडी, ऋषिकेशनारायण श्रेष्ठ, प्रेमसिँह बस्न्यात, डा. सानुमाया श्रेष्ठ, पत्रकार युवराज घिमिरेलगायत विशिष्ट व्यक्तित्वहरूले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
कार्यक्रममा नेक्राशिसङ्घको तर्फबाट शिक्षक चक्रबहादुर चाकतुले शोभा प्रधानको जीवनी वाचन गर्नुभएको थियो ।
श्रद्धाञ्जली अर्पण कार्यक्रममा पार्टी र जनवर्गीय सङ्गठनका नेता, कार्यकर्ता, जिल्ला–जिल्लाका पार्टी अध्यक्ष तथा कार्यकर्ताहरू, किसान, मजदुर, महिला, शिक्षक, युवा, विद्यार्थी, कर्मचारी, व्यापारी, उद्योगी, व्यवसायी, विशिष्ट व्यक्तित्वहरू, चिकित्सक, नर्स, साहित्यकार, कानुनविद्, विभिन्न पेशामा आबद्ध व्यक्ति तथा सर्वसाधारणको सहभागिता उल्लेख्य थियो ।
कार्यक्रममा पार्टी र जनवर्गीय सङ्गठनका नेता तथा कार्यकर्ताहरूले पार्टीका झन्डा बोकेका थिए । त्यस्तै पार्टी र जनवर्गीय सङ्गठनका कार्यकर्ताहरूले दिवङ्गत शोभा प्रधानको तस्बिर बोकेका थिए ।
श्रद्धाञ्जली अर्पणलगत्तै ¥याली भएको थियो । ¥याली दूधपाटी, नासमना, टौमढी, सुकुलढोका, दत्तात्रय, सूर्यमढी, च्याह्मासिङ्ग हुँदै हनुमानघाट पुगेको थियो ।
हनुमानघाटमा विशेषगरी घरपरिवारका सदस्यहरू, नातेदार, छरछिमेक तथा विशेष व्यक्तिहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
त्यसलगत्तै मसानघाटमा दिवङ्गत शोभा प्रधानको दाहसंस्कार गरिएको थियो ।
यसअघि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित), परिवारका अन्य सदस्यहरूले संस्कारअनुसार जल अर्पण गर्नुभएको थियो भने शोभा प्रधानका कान्छा पुत्र सुवान बिजुक्छेँले दागबत्ती दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *