भर्खरै :

रुसबाट छुट्टिएका पश्चिमी राज्यहरू

(सन् १९१७ को अक्टोबरमा लेनिन र रुसी जनवादी मजदुर पार्टी (बोल्सेभिक) को नेतृत्वमा समाजवादी क्रान्ति भयो । क्रान्तिपछिको मजदुर वर्गको सरकारले जारकालीन रुसको अधीन रहेका देशहरूलाई आत्मनिर्णयको अधिकारसहित स्वाधीनता प्रदान ग¥यो । ती स्वाधीन गणतन्त्रहरूमा पनि मजदुर वर्गले सोभियत सत्ता कायम गरेको हुनाले ती देशहरूले रुसको नेतृत्वमा सोभियत समाजवादी गणतन्त्र सङ्घ कायम गरे । संशोधनवादी नेतृत्वको विश्वासघातका कारण सोभियत सङ्घमा समाजवादको अस्थायी हार र पुँजीवादको पुनःस्थापनापछि सोभियत सङ्घमा रहेका गणतन्त्रहरूमध्ये रुसको पश्चिमतिर रहेका इस्टोनिया, लाटभिया, लिथुआनिया, मोल्डोभा युरोपेली सङ्घको सदस्यता प्राप्त गर्दै पछि उत्तर एटलान्टिक सन्धि सङ्गठन –नाटोमा पनि सामेल भए । त्यसअघि नै पूर्वी युरोपका पूर्व समाजवादी देशहरू पोल्यान्ड, चेकस्लोभाकिया, रोमानिया र पूर्व युगोस्लाभियाका विखण्डित देशहरू रुसविरुद्ध लक्षित नाटो र पश्चिमा खेमामा सामेल भइसकेका थिए । युक्रेनलाई नाटो र पश्चिमा खेमामा सामेल हुन नदिन रुसले युक्रेनमाथि गरेको सैनिक कारबाहीपछि पश्चिमा शक्तिराष्ट्रहरूले ती पूर्व सोभियत गणतन्त्रहरूलाई रुसविरुद्ध उचाल्न लागेका छन् र त्यस क्षेत्रमा तनाव सिर्जना गरिरहेका छन् –सं.)
१) इस्टोनिया
सन् १९९१ मा सोभियत सङ्घबाट छुट्टिएका प्रान्त वा राज्यमध्ये इस्टोनिया सबभन्दा उत्तरमा पर्ने बाल्टिक सागरको पूर्वी किनाराको गणतन्त्र हो । दक्षिणतिरबाट उत्तरमा ओरालो लागेको भूमिका नदीहरू उत्तरकै बाल्टिक सागरमा खस्छन् । यसको उत्तरमा फिनल्यान्ड छ भने पूर्वमा रुसी महासङ्घ र दक्षिणमा लाटभिया छ, पश्चिममा बाल्टिक सागर र सो सागरको पश्चिममा स्वीडेन र नर्वे छन् । यसको उत्तरमा धालुवा (भिरालो) भूमि र दक्षिणमा चट्टानी उँचो भूभाग छ ।
सोभियत सङ्घको १९७० को दशकमा यसको क्षेत्रफल ४५ हजार वर्ग किलोमिटर थियो र जनसङ्ख्या १२ लाख थियो । यसको राजधानी तालिन हो । नेपाली एटलासको तथ्याङ्कअनुसार १७ हजार ४२३ वर्ग माइल र जनसङ्ख्या १४ लाख छ । भाषा इस्टोनियाली र रुसी एवम् सरकार गणतान्त्रिक हो । साक्षरतादर ९९ प्रतिशत छ ।
यहाँ धेरै स–साना नदीहरू छन् र सबभन्दा ठूलो तालको नाम पैपुस (चुब्स्कोय) हो ।
यहाँको हावापानी चिसो छ । घाँसे चौर धेरै भएको हुँदा पशुपालनमा अगाडि छ । दूध दिने असल जातका पशु एवम् सुँगुर पालनमा यो क्षेत्र पहिले धेरै अगाडि थियो । सोभियत सङ्घको सप्तवर्षीय योजनाअनुसार इस्टोनियामा प्रतिव्यक्ति दूधको खपत अमेरिकाको भन्दा तीन गुणा बढी थियो । मासु पनि यहाँ अमेरिकाको भन्दा बढी खपत हुन्थ्यो ।
इस्टोनिया मेसिन निर्माण उद्योग, कपडा र काठ उद्योगमा अगाडि छ । स्लेट (पत्रेदार चट्टान) को ठूलो खानी यहाँ छ । स्लेट ढुङ्गालाई बिजुली घरको भट्टीमा बालेर ग्यास, घरेलु ऊर्जा, औषधी, अनेक निर्माण कार्यमा लगाइन्थ्यो । यहाँ हावाबाट बिजुली निकालिन्थ्यो† रासायनिक उद्योग, राजधानी तालिन र लेनिनग्राद (पिटर्सवर्ग) सम्म पाइपबाट ग्यास पु¥याइन्थ्यो ।
समाजवादी क्रान्तिलगत्तै सप्तवर्षीय योजना लागु भएपछि स्लेट ढुङ्गाको उत्पादन, रासायनिक उद्योग, मेसिन निर्माण तथा कपडा उद्योगमा जारकालीन रुसको तुलनामा साढे तीन गुणा बढी उत्पादन थियो ।
यहाँको ईल माछा संसार प्रसिद्ध छ र त्यसलाई धुवाँमा सुकाएर निर्यात गरिन्थ्यो ।
इस्टोनियाको तारतू विश्वविद्यालय उत्तरी युरोपमा नाम चलेको शिक्षाको केन्द्र हो ।
२) लाटभिया
लातभिया गणतन्त्र सोभियत सङ्घकै एउटा प्रान्त थियो र सन् १९९०–१९९१ मा अलग राज्य घोषणा गरियो । यो गणतन्त्र बाल्टिक सागरको पूर्वमा अवस्थित छ । यसको राजधानी रीगा (Riga) हो । यसको उत्तरमा इस्टोनिया, पूर्वमा रुस, दक्षिणमा लिथुआनिया र पश्चिममा बाल्टिक सागर पर्दछ ।
यसको क्षेत्रफल ६४ हजार वर्ग किलोमिटर छ भने यसको जनसङ्ख्या सन् १९६०–१९७० को दशकमा २१ लाख थियो । अहिले झन्डै २४ लाख छ ।
यसको उत्तरमा एक पहाडी प्रदेश छ भने पश्चिममा बाल्टिक सागरको किनारा छ । लाटभियाको बीचबाट पश्चिमी नदी बग्छ । यो नदी लाटभियाको दक्षिणपूर्वबाट उत्तर पश्चिमतिर बहन्छ । यो पूरै जङ्गल, झाडी र राम्रा–राम्रा ताल–तलैयाले भरिपूर्ण देश हो । ३०० किलोमिटरभित्र लातभियाको हरेक क्षेत्रले समुद्र छोएको हुन्छ ।
यसको राजधानी रीगा युरोपको सबभन्दा पुरानो नगरमध्ये एक मानिन्छ । सन् १९५१ मा त्यस नगरको ७५० औँ वार्षिकी मनाइएको थियो । अहिले यस सहरको निर्माण ८२१ वर्ष भएको मानिन्छ । यहाँका प्राचीन घर, साँघुरा गल्ली र जीवनशैली नै यसको सुन्दरता मानिन्छ ।
सोभियतकालमा यहाँ राम्रो कपडा, वायरलेस सेट र विद्युतीय रेलका डिब्बाहरू बन्थे । दोस्रो विश्वयुद्धपछि यसको पुनः निर्माण गरिएको थियो । दोस्रो विश्वयुद्धमा हिटलर र मातहतको जर्मनीले यहाँका कल–कारखानाहरूलाई ध्वस्त पारेको थियो ।
धातु र मेसिन निर्माण उद्योगले लाटभियाको आधा अर्थतन्त्रलाई सघाएको थियो । बिजुलीका सामान, रेडियो उद्योग, यन्त्र निर्माणजस्ता क्षेत्रमा यो अगाडि थियो ।
पशुपालन, सुँगुरपालन र कुखुरापालन लातभियाको कृषि सहायक क्षेत्र थियो ।
सोभियतकालमै रीगामा मात्रै विज्ञान एकेडेमीबाहेक त्यहाँ ७ वटा उच्च शिक्षाका विश्वविद्यालयहरू थिए । यसैबाट त्यहाँको सांस्कृतिक स्तर थाहा हुन्थ्यो ।
३) लिथुआनिया
पूर्व सोभियत सङ्घको पश्चिमको एक प्रान्तीय राज्य लिथुआनियाको क्षेत्रफल ६५ हजार २०० वर्ग किलोमिटर र जनसङ्ख्या करिब ३५ लाख छ । लिथुआनियाको उत्तरमा लाटभिया, पूर्वमा बेलारुस, दक्षिण पश्चिममा पोल्यान्ड र पश्चिममा बाल्टिक सागर पर्दछ । राजधानी भिल्निअस (VILNIUS) हो ।
सन् १९७० तिरको जनसङ्ख्या २७ लाख थियो भने अहिले ३५ लाख पुगेको अनुमान गरिएको छ । समतल र घाँसे मैदान छ । जाडो छ तर पश्चिम बाल्टिक सागरबाट आउने हावाले वर्षा ल्याउँछ । गहुँ, जौ र अन्य खाद्यवस्तुको राम्रो उत्पादन हुन्छ । घाँसे मैदानको कारण पशुपालन हुन्छ । छाला तथा कपडा उद्योग यहाँको महत्वपूर्ण उत्पादन हो । दोस्रो विश्वयुद्धपछि लिथुआनियाले धातु निर्माण र मेसिन निर्माणको पुनःस्थापनाले अनेक मेसिनरी सामानको उत्पादन ग¥यो र त्यहाँको नेमन नदीको एउटा जलविद्युत् केन्द्रमार्फत उद्योग विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ ।
पशुपालनतर्फ यहाँ धेरैजसो गाई र सुँगुरपालन गरिन्छ । राजधानी भिल्निअस लिथुआनियाको पुरानो सांस्कृतिक केन्द्र हो । यहाँको विश्वविद्यालय युरोपको पुरानो विश्वविद्यालयमध्ये एक हो । दुईवटा विश्वविद्यालय र विज्ञान एकेडेमी एवम् अन्य उच्च शिक्षालयहरूले गर्दा त्यसको सांस्कृतिक प्रगति भएको थियो । यहाँका लिथुआनियाली भाषा र साहित्यले धेरै पुस्तक लेखनमा धेरै काम गर्दै गयो ।
सन् २००५ मा नाटोले लिथुआनिया, इस्टोनिया र लाटभियालाई सदस्यता दिएकोमा रुसी महासङ्घका राष्ट्रपति भ्लादिमिर पुटिनले असन्तुष्टि देखाएका थिए ।
४) बेलारुस
२ लाख ८ हजार वर्ग किलोमिटर क्षेत्रफल रहेको बेलारुस पूर्व सोभियत सङ्घको प्रान्तीय राज्य थियो । यसको उत्तरमा लिथुआनिया, लाटभिया र रुसी महासङ्घ छ भने पूर्वमा पनि रुसी महासङ्घ नै पर्दछ । दक्षिणमा युक्रेन र पश्चिममा पूर्व समाजवादी देश पोल्यान्ड पर्दछ । जनसङ्ख्या १ करोड नाघेको अनुमान छ । आर्थिक क्षेत्रको रूपमा यसलाई सोभियत सङ्घको एक महत्वपूर्ण प्रान्त मानिन्थ्यो ।
बेलारुस एक विकसित स्लाब राज्य मानिन्छ र यसको क्षेत्रफल बेलायतभन्दा अलि सानो मानिन्छ । यहाँको भू–बनोट त्यति समतल छैन, जङ्गल र झारपात, कोदो, गहुँ, जौ र फापर यहाँको मुख्य उत्पादन हो । पञ्चवर्षीय योजनाले यहाँ भेनिस्ता, सलाई, कागज, छालाको जुत्ता, बालुवाको काँच उद्योग बन्यो र मेसिन–निर्माण, लुगा–फाटोको उत्पादन गरियो । त्यसबेला बेलारुसले फ्रान्स र जापानको भन्दा बढी धातु उत्पादन गर्ने उद्योगको विकास गरेको थियो । प्रतिव्यक्ति जुत्ताको उत्पादनमा पश्चिम जर्मनी, डेनमार्क, नर्वे, फिनल्यान्ड, फ्रान्स र स्वीडेनलाई उछिनेको थियो । बेलारुसले गरेको उत्पादन त्यसबेला ३० भन्दा बढी देशमा निर्यात गरिन्थ्यो ।
दोस्रो विश्वयुद्धको क्रममा जर्मनीले बेलारुसको राजधानीलाई ध्वस्त बनाएको थियो । राजधानी मिन्स्कले युद्धपछि द्रुतत्तर विकास ग¥यो । विश्वविद्यालय, रेल, कपडा उद्योग, मेसिन उद्योग, मजदुर निवास आदिको निर्माणले बेलारुस अगाडि बढ्न सुरु ग¥यो ।
सातौँ पञ्चवर्षीय योजनापछि सोभियत सङ्घको निम्ति बेलारुसले २० प्रतिशत रासायनिक मल, ९ प्रतिशत धातु कारखाना, २८ प्रतिशत ट्रयाक्टर आदिको उत्पादन वृद्धि ग¥यो ।
बेलारुसमा १९२० को दशकमा विज्ञान एकेडेमीको स्थापनापछि अर्थशास्त्र, इतिहास, दर्शनशास्त्र, साहित्य, रासायनिक र औषधी विज्ञानमा प्रगति ग¥यो । क्रान्तिपूर्व बेलारुसका ८० प्रतिशत जनता निरक्षर थिए र एउटा पनि उच्च शिक्षालय थिएन । क्रान्तिपछि बेलारुसले शिक्षा र संस्कृतिमा विकास ग¥यो । एक तथ्याङ्कअनुसार १० हजार व्यक्तिमध्ये विद्यालय र उच्च शिक्षालय जाने विद्यार्थीको सङ्ख्यामा बेलायत, फ्रान्स, इटाली र स्वीडेनभन्दा बढी थियो । यसरी बेलारुसले सोभियतकालमा संस्कृति र औद्योगिक निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।
५) मोल्डाभिया
सोभियत सङ्घको सबभन्दा पश्चिमको सानो प्रान्त र आजको स्वतन्त्र भनिने राज्य मोल्डाभियाको क्षेत्रफल ३३ हजार ७०० वर्ग किलोमिटरमा फैलिएको छ भने जनसङ्ख्या ४२ लाख बताइन्छ । तुलनात्मकरूपले यसको जनसङ्ख्याको घनत्व बढी बताइन्छ । सन् १९९१ मा सोभियत सङ्घबाट छुट्टिएर यो एक स्वतन्त्र राज्य घोषणा भएको थियो ।
मोल्डाभियाको उत्तर, दक्षिण र पूर्वमा युक्रेन छ भने पश्चिममा पूर्व–समाजवादी देश रोमानिया छ ।
मोल्डाभियाको पूर्वमा ठाउँठाउँमा द्निस्पर नदीका हाँगाहरू छन् भने पश्चिम सीमामा प्रुत नदी छ, यो रोमानियाको नदीमा खस्छ ।
मोल्डाभियाको भूमि उब्जाउ छ भने मकै र गहुँ यहाँको मुख्य खाद्य कृषि उत्पादन हो । स्याउ, नास्पाति, आलुबखडा, ओखर आदिको उत्पादन राम्रो हुन्छ ।
गर्मीमा धेरै गर्मी र जाडोमा कम चिसो हुन्छ यहाँ । फलफुलमा यहाँ अङ्गुर बढी पाइन्छ । सोभियतकालमा १ लाख ८० हजार हेक्टर भूमि अङ्गुरको बगैँचा थियो ।
यसको दक्षिणी भाग भिरालो छ र घाँस तथा स–साना बुट्यान एवम् घना जङ्गल छ । केही क्षेत्र धापिलो थियो तर सोभियतकालमा त्यसलाई राम्रो बगैँचाको रूपमा फेरियो ।
सोभियतकालको पञ्चवर्षीय योजनाले मोल्डाभियामा कृषि–उद्योगको विकास ग¥यो । चिनी, फलफुल र रक्सीको उत्पादनमा ठूलो विकास गरिएको थियो । ५–६ वटा चिनी कारखाना थिए ।
मोल्डाभिया मेसिनका पार्टपुर्जा बनाउने, मोटर बनाउने र रुख रोप्ने मेसिन उत्पादनमा अगाडि थियो ।
मोल्डाभियाको राजधानी चिसिनोभ हो । क्रान्तिभन्दा पहिले मोल्डाभिया एक निरक्षर प्रान्त थियो । क्रान्तिपछि ठाउँठाउँमा विद्यालय र उच्च शिक्षाका धेरै संस्था एवम् विज्ञान एकेडेमीका शाखाहरू थिए । क्रान्ति अगाडिको १५० वर्षमा भन्दा सोभियतकालको एक वर्षमा बढी पुस्तक यहाँ छापिएको बताइन्छ । निरक्षरता सोभियतकालमै उन्मूलन गरिएको थियो ।
युक्रेन समस्याको पृष्ठभूमि
युक्रेन सोभियत सङ्घको एक प्रान्त थियो । कृषि, खनिज र उद्योग एवम् शिक्षा, संस्कृति विज्ञान र प्रविधिमा पनि प्रगति गर्दै गएको प्रान्त थियो ।
दोस्रो विश्वयुद्धमा ‘प्रजातन्त्र र समाजवाद’ विरोधी कट्टर जातिवादी जर्मनीका नाजीवादी हिटलरको आक्रमणले युक्रेनलाई धुजा–धुजा पारेको थियो ।
तर, त्यस लडाइँमा सोभियत सङ्घले संसारलाई फासीवाद र नाजीवादको आक्रमण एवम् अत्याचारबाट मुक्त गर्न २ करोड ५० लाखले बलिदान गरेका थिए भने फासीवादी र नाजीवादी सेनाको ८० प्रतिशत सैन्य शक्तिलाई सोभियत लाल सेनाले पराजित गरेको थियो ।
तर, संरा अमेरिका र युरोपेली साम्राज्यवादीहरूले नाजीवादी र फासीवादीहरू बाटै सोभियत सङ्घलाई पराजित गराउने र दुवै शत्रु एउटै युद्धमा समाप्त पार्ने उद्देश्य थियो ।
तर, पश्चिमेली साम्राज्यवादीहरूको मनसाय पूरा भएन र फासीवादी एवम् नाजीवादी सैन्य नेता तथा गुप्तचरहरूलाई भविष्यमा सोभियत सङ्घ वा साम्यवादको विरोधमा प्रयोग गर्न गुप्तरूपले अमेरिका र ल्याटिन अमेरिकी देशहरूमा लगेका थिए  । सोभियत सङ्घको पतनमा तिनीहरूको ठूलो भूमिका हुनुपर्दछ ।
दोस्रो विश्वयुद्धमा युक्रेनमा नाजीवादी सेनासँग युद्ध गरी सोभियत लाल सेनाले ठूलो बलिदान व्यहोर्नुपरेको थियो । तर, आज पनि त्यहाँ ‘नव–नाजीहरू’ को प्रभाव बलियो रहेको बताइन्छ । तिनीहरू प्रजातन्त्र र समाजवादविरोधी अन्धराष्ट्रवादी र सङ्कीर्ण राष्ट्रवादका पक्षपाती थिए । तिनीहरू हत्या–हिंसा र आतङ्कमा विश्वास गर्थे र गर्छन् ।
युक्रेनको छोटो परिचय
युक्रेनको क्षेत्रफल ६ लाख ३ हजारभन्दा बढी वर्ग किलोमिटर छ भने जनसङ्ख्या ४ करोड ८० लाख बताइन्छ । त्यसमध्ये डोनेत्स्क
(डोनबास) जनगणतन्त्र (DPR) र लुहान्स्क (LPR) जनगणतन्त्र रुसी भाषाभाषी बहुल स्वायत्त गणतन्त्रहरू हुन् । यसको राजधानी किभ हो । सोभियतकालमा यो विज्ञान, प्रविधि, अर्थतन्त्र, कृषि तथा उद्योगमा अगाडि बढाइएको प्रान्तीय राज्य थियो । तर, दोस्रो विश्वयुद्धमा यो ‘राष्ट्रवादी समाजवादी’ अर्थात् ‘नाजीवादी’ हिटलरका अति राष्ट्रवादीहरूको गढ थियो । आज पनि युक्रेन प्रजातन्त्र र समाजवादविरोधी नव–नाजीवादीहरूको बढ्दो गढ हो । पश्चिमी देश संरा अमेरिका र नाटो देशहरू यहाँ सक्रिय छन् ।
क्षेत्रफलको हिसाबले रुसी महासङ्घपछि यो दोस्रो ठूलो राज्य हो जुन फ्रान्सभन्दा ठूलो छ ।
यहाँको बहुसङ्ख्यक जाति स्लाब भएपनि रुसीहरूसँग उनीहरूको बलियो सांस्कृतिक सम्बन्ध थियो । गहुँको उब्जनी र सखरखण्ड यहाँको महत्वपूर्ण कृषि उत्पादन हो भने सूर्यमुखी फूलको तेल नेपालमा समेत ठूलो मात्रामा आयात गरिन्छ ।
कोइला, फलाम, म्याग्निज आदि खनिज धनले यो राज्य सम्पन्न छ । रुसी अक्टोबर क्रान्तिपछि विदेशीको नियन्त्रणमा रहेका खानीहरू राष्ट्रियकरण गरिए । दोस्रो विश्वयुद्धभन्दा पहिले सोभियत सङ्घको कोइलाको कुल उत्पादनको आधा उत्पादन युक्रेनमा हुन्थ्यो । तीन भागमध्ये दुई भाग फलाम र मेसिनहरूमा ६ भागको एक भाग, चिनीको चार भागमध्ये दुई भाग यहीँबाट उत्पादन हुन्थ्यो ।
बहुसङ्ख्यक रुसी भाषा बोल्ने जनसङ्ख्या भएको युक्रेनको पूर्वी भागको डोनबास स्वायत्त जनगणतन्त्र ठूलो औद्योगिक केन्द्र थियो । त्यसको तुलना जर्मनीसँग गरिन्थ्यो । कोइला, रासायनिक उद्योग, धातुका ठूल्ठूला कारखाना, मेसिन निर्माणमा यो क्षेत्र अगाडि छ ।
ट्रयाक्टर, टर्बाइन, जेनेरेटर, डिजेल इन्जिन र साइकलमा खार्कोभ प्रसिद्ध छ । लुहान्स्क पनि युक्रेनको पूर्वमा पर्दछ ।
डोनेत्स्क र लुहान्स्क स्वायत्त गणतन्त्रमा रुसी भाषा बोल्नेहरूको अत्यधिक बहुमत छ । सोभियत सङ्घबाट अलग भएपछि पश्चिमी देशहरू वा नाटोले युक्रेनको पश्चिमी भागमा अमेरिकी अङ्ग्रेजी भाषा र बेलायती अङ्ग्रेजी भाषाको व्यापक प्रचार गरे र युक्रेनमा रुसी भाषा र संस्कृतिलाई पूरै समाप्त पार्ने षड्यन्त्र गरेको बताइन्छ ।
सोभियत सङघमा १०–१२ वर्ष अध्ययन गर्ने नेपाली विद्यार्थीको भनाइमा सन् १९९०–१९९२ तिर रुसबाट पश्चिमी देशमा जाने वासिङ मेसिन र फ्रिजजस्ता सामानहरू रुबलको तुलनामा डलरको मूल्य बढी भएको हुँदा त्यस्ता अरबौँका सामानहरू रेलमा भरेर दिनरात लैजान्थे । लडाइँ भएको भए त्यति सामान लुट्न सकिन्नथ्यो । सोभियत सङ्घ अथाह प्राकृतिक स्रोत र साधन भएको देश भएको हुँदा वर्षौँसम्म पश्चिमी देशहरूको त्यस्तो व्यापारिक लूट चालु थियो ।
युक्रेनको उद्योग जलविद्युत्मा आधारित थियो । कृषि उत्पादनमा यो अमेरिकाभन्दा अगाडि थियो ।
राजधानी किभ सोभियत सङ्घको सबभन्दा पुरानो, सुन्दर र सुसंस्कृत सहरमध्ये एक थियो । एक हजार वर्ष पहिले यो नगर रुसको राजधानी थियो र त्यसबेला किभ रुसको एक शक्तिशाली स्लाब राज्य थियो ।
युक्रेनको उत्तर र पूर्वमा बेलारुस र रुस छ भने दक्षिणमा काला सागर, पश्चिममा मोल्डोभा, पूर्व–समाजवादी देशहरू रोमानिया, हङ्गेरी छन् र पोल्यान्ड र पुरानो चेकोस्लाभियाको पूर्वी भाग स्लोभाकिया छ ।
रुसी अक्टोबर क्रान्तिभन्दा पहिले युक्रेनमा कुनै वैज्ञानिक अनुसन्धान संस्था थिएन । दोस्रो विश्वयुद्धको बेला तीन वटा वैज्ञानिक संस्था थिए भने दोस्रो विश्वयुद्धपछि किभ, ओदेसा, दनेपरोपेत्रोब्स्क, स्तालिनो, खार्कोभ आदि सहरमा पनि थप वैज्ञानिक संस्थाहरू स्थापना भए । सन् १९१४ मा उच्च शिक्षाको संस्थाहरू २७ थिए भने १९५७ सम्ममा त्यो सङ्ख्या १३८ पुगेको थियो ।
दोस्रो विश्वयुद्धमा जर्मनीको आक्रमणबाट सबैजसो विद्यालय ध्वस्त भएका थिए । १९६० सम्ममा खार्कोभका सवभिन्न प्रतिष्ठानमा मात्रै ७७ हजार विद्यार्थी पढ्थे । नेपालका धेरै विद्यार्थी खार्कोभबाट दीक्षित भएका थिए ।
सन् १९६५ मा युक्रेनको कच्चा फलामको प्रतिव्यक्ति उत्पादन १९५७ को संरा अमेरिकाको उत्पादनको तुलनामा झन्डै ७० प्रतिशत थियो, दक्षिण जर्मनीको तुलनामा ६० प्रतिशत, बेलायत र फ्रान्सको तुलनामा १५० प्रतिशत बढी थियो ।
इस्पातको उत्पादनमा सन् १९६५ को युक्रेनको प्रतिव्यक्ति उत्पादन १९५७ को उत्पादनभन्दा २० प्रतिशत बढी थियो, पश्चिम जर्मनीभन्दा ४० प्रतिशत, बेलायतभन्दा ६० प्रतिशत र फ्रान्सभन्दा १२० प्रतिशत बढी थियो । युक्रेनको प्रतिव्यक्ति विद्युत् उत्पादन पश्चिम जर्मनी र फ्रान्सको भन्दा बढी थियो ।
नाटोको छलछाम र रुसको पाइला
१) सन् १९९० फेब्रुअरी ९ मा सोभियत नेता मिखाइल गोर्भाचोभसँगको भेटमा अमेरिकी विदेशमन्त्री जेम्स ए बेकरले विभाजित जर्मन एकीकरणपछि नाटो पूर्वमा विस्तार नगर्ने प्रतिबद्धता जनाएका थिए ।
२) सन् १९९० को १७ मईको दिन नाटो महासचिवले सो प्रतिबद्धता दोहो¥याएका थिए । लामो छलफलपछि सेप्टेम्बरमा गएर पश्चिमी शक्ति र रुसबीच नाटोलाई पूर्वी युरोपको कम्युनिस्ट मुलुकतर्फ विस्तार नगर्ने सहमति भएको थियो ।
३) सन् २००० मा सोभियत सङ्घको पतनपछि रुसी राष्ट्रपति बोरिस एल्सिनलाई पश्चिमको प्रभावमा परेको बताइएको थियो । उनैले पुटिनलाई आफ्नो उत्तराधिकारी बनाए ।
४) सन् २०१४ मा रुसप्रति झुकाव राख्ने राष्ट्रपति भिक्टर यानुकोभिचविरुद्ध कट्टर राष्ट्रवादी र नव–नाजीवादीहरूबाट विरोध गर्न सुरु गराइयो । २०१४ फेब्रुअरी २२ मा संसद्ले उनलाई महाअभियोग लगाउने थाहा पाएपछि उनी रुस भागे र युक्रेनमा रुसविरोधी भावना भड्काइयो । पश्चिमी राज्यहरूको आक्रामक गतिविधि बढ्दै गएपछि रुसले सेना पठाई आफ्नो पुरानो भूमि दक्षिणको रणनीतिक प्रायःद्वीप क्रिमिया कब्जा ग¥यो ।
५) १६ मार्च २०१४ मा रुसले क्रिमियामा जनमत सङ्ग्रह गरायो । ९६.७ प्रतिशतले क्रिमिया रुससँग मिल्ने पक्षमा मतदान गरे ।
६) रुसले युक्रेनको पूर्वी भागको रुसी भाषी डोनबास क्षेत्रको डोनेन्स्क र लुहान्स्कलाई स्वायत्त क्षेत्र घोषणा ग¥यो । ६ वर्षसम्म डोनेत्स्क र लुहान्स्क जनगणतन्त्रले उक्राइनासँग सशस्त्र सङ्घर्ष ग¥यो । यस घटनामा पश्चिमी देशहरू मौन बसे । संसारमा सा¥है कम प्रचार भयो । त्यो एक जालसाजी थियो । फेब्रुअरी २०२२ मा रुसले डोनेत्स्क र लुहान्स्क जनगणतन्त्रलाई छुट्टै राज्यको रूपमा मान्यता दियो । त्यसको भोलिपल्ट रुसको संसद् ड्युमाले समर्थन ग¥यो । त्यसपछि संरा अमेरिकाले रुस (पुटिन) लाई अधिनायकवादी, अहङ्कारी र विस्तारवादी भन्यो । अमेरिकी राष्ट्रपति बाइडेनले युद्ध अपराधीजस्तो फतुर लगाए । संरा अमेरिका र नाटोले युक्रेनको काँधमा बन्दुक बिसाएर रुसमाथि आक्रमण गरेको विश्लेषकहरूको ठम्याइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *