भर्खरै :

सिद्धान्त र विचारको लडाइँ गर्ने कि सत्ताको !

नेपालको राजनीतिले सही दिशा दिन नसकेको यथार्थ हो । सही दिशा दिन नसक्नुमा सत्तासीन राजनीतिक दलहरू नै मुख्य दोषी हुन् । सत्ताको नेतृत्व गर्ने दलहरूले राजनीतिलाई सेवाको रूपमा लिएनन् । राजनीति कमाउनको लागि हो, सेवा सुविधा पाउन हो भनी ती दलका नेताहरूले जनतालाई भ¥याङ बनाए । जनतालाई भ¥याङ बनाएर सत्तामा पुगे, राज्यको सम्पत्तिमाथि दाइँ गरे । यसैलाई उनीहरूले राजनीति ठाने या आफ्नो जिम्मेवारी ठाने । यसकारण, ती दलका नेताहरू जहाँ गए पनि जहाँ पुगे पनि पैसाको कुरा गर्छन्, जसरी भए पनि पैसा कमाउने कुरा उठाउँछन् । पैसाको निम्ति पैसाको भरमा राजनीति चलिरहेसम्म देशले सत्मार्ग पाउँदैन र देश जहिल्यै परनिर्भर नै भइरहनेछ ।
राजनीतिक र मौलिक हक अधिकारको निम्ति जनता लड्ने, जनताले ज्यानको बाजी राखेर रगतको खोलो बगाउने अनि दलका नेताहरू सत्तामा पुगेपछि जनताकै जीवनमा खेलबाड गर्ने ! आफू पक्षधर पार्टी र तिनका नेता, कार्यकर्ताले जस्तोसुकै गल्ती, अपराध या कमजोरी गरे पनि अझ भ्रष्टाचार र अनियमितता गरे पनि छोप्ने, गुपचुप राखेर आपराधिक क्रियाकलापमा जोडबल गर्ने दलका नेताहरूको राजनीति कसरी सही हुन्छ ? राजनीतिक दलका नेताहरूको गालीगलौज, हिलो छ्यापाछ्याप र आरोप–प्रत्यारोपलाई नै सैद्धान्तिक र वैचारिक बहस ठान्ने नेताहरू आफ्नै दलको सिद्धान्त र विचारको पनि प्रचार गर्दैनन् ।
देशमा पटक–पटक सङ्घर्ष र आन्दोलन भए । जनताले ज्यानको बाजी राखे । व्यवस्था परिवर्तन भयो । सरकारहरू बदलिए । तर, संस्कार बदलिएन । सामन्तवादको अवशेष अझै बाँकी छ । समाजवादउन्मुख व्यवस्था व्यवहारमा आएन । कम्युनिस्ट आन्दोलन अघि बढाउने, समाजवादको निम्ति लड्ने भन्ने ‘कम्युनिस्ट’ नेताहरू पनि पुँजीवादी दलसँगै गठजोड गर्न पुगे, उनीहरूसँग घाँटी जोडेर कम्युनिस्ट सिद्धान्त र विचारमाथि नै डसे । पुँजीवादी दलसँग गठजोड गरेर कम्युनिस्टको सिद्धान्त र विचार कसरी जनतामाझ पुग्छ ? त्यो सिद्धान्त र विचार जनताले कसरी बुझ्छन् र उनीहरू सचेत र सङ्गठित हुन्छन् ?
कम्युनिस्ट भनिने ठूला दलहरूले सिद्धान्त र विचारको लडाइँ नै गरेनन् । उनीहरूको राजनीति सत्ताको वरिपरि केन्द्रित छ । कम्युनिस्टहरूलाई चिन्ता सिद्धान्त र विचारको हुनुपर्ने हो । सिद्धान्त र विचार मान्दैन भने दल जति ठूलो भए पनि के अर्थ ? सिद्धान्त र विचार नमिलिकन एकता भए पनि देशमा परिवर्तन हुनेछैन, वर्गसङ्घर्ष हुनेछैन । कति कम्युनिस्ट नेताहरू कम्युनिस्ट पार्टीहरू अलग अलग भएकोमा चिन्ता व्यक्त गर्छन् र एक भए हुन्छ भन्ने धारणा राख्छन् । कम्युनिस्ट एकता भएर जनताले के परिणाम पाए ? एमालेकै नेताहरूले एमालेका अध्यक्ष केपी ओलीलाई प्रतिगमनकारी, कम्युनिस्टका कलङ्क र कम्युनिस्टविरोधी भनी विरोध गरे । कम्युनिस्टको बेइज्जत कम्युनिस्टहरूले गरिरहेका छन् । कम्युनिस्टदेखि कम्युनिस्टहरू नै सावधान हुनुपर्ने स्थिति छ । नत्र, कम्युनिस्ट पार्टीलाई संशोधनवादको बाटोमा नलैजाला भन्न सकिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *