भर्खरै :

प्रधानको सम्झनामा श्रद्धाञ्जली सभा

भक्तपुर, १९ असार । नेपाल मजदुर किसान पार्टी, भनपा ९ सूर्यमढी एकाइ समितिको आयोजनामा आइतबार शोभा प्रधानको सम्झनामा श्रद्धाञ्जली सभा भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भनपा वडा नं. ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले क्यान्सरबारे सचेतना जगाउन शोभा प्रधानको योगदान रहेको चर्चा गर्नुभयो ।
प्रधानकै नेतृत्वमा नेपाल क्रान्तिकारी महिला सङ्घले गरेको क्यान्सरसम्बन्धी स्वास्थ्य शिविरले आफू मरेर पनि धेरै महिलाको ज्यान जोगाएको बताउनुभयो ।
स्तन क्यान्सर भएकालाई पाठेघरको पनि क्यान्सर हुनसक्ने धेरै सम्भावना भएकाले सदैव सचेत भइरहनुपर्ने धारणा वडा अध्यक्ष ज्याख्वले व्यक्त गर्नुभयो ।
दुःखलाई शक्तिको रूपमा ऊर्जा प्रदान गर्न यस्तो कार्यक्रम भइरहेको बताउँदै उहाँले नेमकिपाको नेतृत्ववर्ग जनताबाट कहिल्यै टाढा नरहेको स्पष्ट पार्नुभयो ।
नेमकिपा, भक्तपुर नगर समितिका प्रतिनिधि सुशिला कर्माचार्यले शोभा प्रधानले देखाएको बाटोलाई अङ्गीकार गर्नु नै सच्चा श्रद्धाञ्जली भएको चर्चा गर्दै उहाँको जीवनका कठिनतम अवस्थामा पनि सरल, सहज र धैर्यतापूर्वक कार्य सम्पन्न गरिरहेको स्पष्ट पार्नुभयो ।
उहाँले हरेक मान्छेलाई इमानदारीता देखाएकै कारण शोभा प्रधानप्रतिको श्रद्धाभाव बढेको बताउनुभयो ।
वागीश्वरी मा.वि.का प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले शोभा प्रधानको जन्मथलो रामेछाप भए पनि कर्मथलो भक्तपुर बनाई शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो योगदान गरेको चर्चा गर्नुभयो ।
उहाँले कुनै पनि समयमा भक्तपुर काण्ड दोहरिन सक्ने कुरालाई ध्यानमा राखी नेक्रामहिला सङ्घले निरन्तर भक्तपुर काण्डको स्मरण गरिरहेको बताउनुभयो ।
आयोजक समितिका कोषाध्यक्ष रामेश्वरी कोजूले शोभा प्रधानको जीवनीबारे प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा दिलभक्त कोजू, काशिलाल प्रजापति, लक्ष्मीप्रसाद कुसीलगायतले बोल्नुभएको थियो ।
शोभा प्रधानको सम्मानमा दुवाकोटमा श्रद्धाञ्जली
नेपाल क्रान्तिकारी महिला सङ्घ चाँगुनारायण नगर समिति वडा नं २, दुवाकोटले नेपाल क्रान्तिकारी महिला सङ्घको केन्द्रीय कोषाध्यक्ष शोभा प्रधानप्रति श्रद्धाञ्जली व्यक्त गर्न शनिबार एक कार्यक्रम आयोजना ग¥यो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भजिसका उपाध्यक्ष न्हुछेभक्त फोजूले शोभा प्रधान महिलाहरूलाई राजनीतिकरूपले सचेत र सङ्गठित बनाई पञ्चायती राज्यस्तरबाट रचिएको २०४५ सालको भक्तपुर काण्डको पर्दाफास गर्न सफल हुनुभएको चर्चा गर्दै भक्तपुर काण्डकै कारण पञ्चायती व्यवस्था समाप्त भएको उल्लेख गर्नुभयो ।
“शोभा प्रधान नेपाल क्रान्तिकारी शिक्षक सङ्घमा आवद्ध भई शिक्षकहरूको हकहितको निम्ति सदैव लाग्नुका साथै पार्टीको सिद्धान्त र विचार जनतामाझ पु¥याउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन्थ्यो ।” उपाध्यक्ष फोजूले चर्चा गर्नुभयो ।
उपाध्यक्ष फोजूले शोभा प्रधान असल शिक्षिका, असल कार्यकर्ता, सङ्कटको घडीमा पनि अविचलित कार्यकर्ता रहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ भजिसका अध्यक्ष मिनबहादुर बाटाले नेपाल मजदुर किसान पार्टीकै सङ्घर्षको कारण भक्तपुरका किसानहरूले मोहियानी हक पाएको चर्चा गर्दै पार्टीको सिद्धान्त र विचारलाई अगाडि बढाउन शोभा प्रधानले खेल्नुभएको भूमिका सराहनीय र अनुकरणीय रहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ चाँगुनारायण नपा वडा नं २ का अध्यक्ष कमला पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गणेशराम सुवाल, गोविन्दराम सुवाल र मीना श्रेष्ठले पनि शोभा प्रधानप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *