भर्खरै :

भक्तपुर साकोसमा चालक तालिम सम्पन्न

भक्तपुर, १९ असार । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. को युवा उपसमितिको आयोजनामा चारपाङ्ग्रे १५ दिने सवारी चालक तालिमको प्रमाणपत्र वितरण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष बलराम प्रजापतिले भक्तपुर साकोस जिल्लाकै उत्कृष्ट सहकारीको रूपमा अघि बढिरहेको जानकारी गराउँदै यसको कारण आर्थिकमात्र नभई सामाजिक कार्य पनि हो भन्नुभयो । आगामी दिनहरूमा पनि सदस्यहरूको मागलाई ध्यानमा राखी युवाहरूलाई लक्षित गरी कम शुल्कमा नयाँ नयाँ सीपमूलक तथा रोजगारीमूलक तालिमहरू सञ्चालन गर्दै जाने उहाँले बताउनुभयो । उहाँले सवारी चालकहरूले आफ्नो सुरक्षाको लागि आफै सचेत रही ट्राफिक नियमको पालना गरी सवारी साधनको प्रयोग गर्न आग्रह गर्नुभयो ।
उक्त कार्यक्रममा पूर्वट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेँथुले नेपालमा सबैभन्दा बढी अकालमा मृत्यु सवारी साधन दुर्घटनाबाट भएको जानकारी गराउँदै क्षतिबाट जोगिन हतारमा हैन सुरक्षित र संयमित भई सवारी चलाउनुपर्ने बताउनुभयो ।
एन्टिक ड्राइभिङ्ग स्कूल प्रा.लि. का प्रशिक्षक लालकाजी श्रेष्ठले ट्रेनिङ्ग सेन्टर खोल्नुको उद्देश्य स्थानीय व्यक्तिहरूले भक्तपुरमै सहजरूपमा राम्रो र कम शुल्कमा युवाहरूको सीप विकासका लागि र भक्तपुरको आम्दानी बाहिर नजाओस् भन्ने हेतुले सञ्चालन गरेको बताउनुभयो । आगामी दिनहरूमा पनि भक्तपुर बचत तथा ऋण सहकारी संस्थासँग समन्वय गरी काम गर्न चाहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा अतिथिहरूलाई संस्थाका अध्यक्ष बलराम प्रजापतिले मायाको चिनो वितरण गर्नुभयो । सञ्चालक सदस्य एवं युवा उपसमितिका संयोजक विष्णुकुमार प्रजापति, कृष्णश्वरी दुवाल, सत्यनारायण सिजख्व र युवा उपसमितिका सदस्य विकास प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *